महरा प्रकरण : सभामुख पद रिक्त, घटनास्थलका प्रमाणहरु सुरक्षित राखिएको प्रहरीको प्रष्टोक्ति

महरा प्रकरण : सभामुख पद रिक्त, घटनास्थलका प्रमाणहरु सुरक्षित राखिएको प्रहरीको प्रष्टोक्ति


बलात्कार प्रकरणमा मुछिएर पदबाट राजीनामा दिएका सभामुख कृष्णबहादुर महराले राजीनामा पत्रमा छानबीन प्रक्रिया नसकिएसम्मका लागि भनी लेखेको भाषा संवैधानिक दृष्टिकोणबाट अनुपयुक्त रहेको टिप्पणी गरिएको छ । संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि राजीनामा दिएका महराले आजैका मितिदेखि छानबीन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिइएको उल्लेख गरेका छन् ।

नेपालको संविधानको धारा ९१ उपधारा (६) मा लिखित राजीनामा दिएमा सभामुख र उपसभामुखको पद रिक्त हुने व्यवस्था छ । सभामुखले लिखित राजीनामा दिएपछि पद रिक्त हुने संवैधानिक व्यवस्था रहेको हुँदा राजीनामामा उल्लेख भएका अरु कुराले खासै अर्थ नराख्ने नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ बताउँछन् ।

सभामुख महराले आफूमाथि लागेको आरोपबारे सत्य, तथ्य, निष्पक्ष र स्वतन्त्र छानबीनका लागि अनुसन्धान गर्न सहज होस् भनी नैतिकताका आधारमा राजीनामा दिएको उससभामुखलाई सम्बोधन गरेर लेख्नुभएको पत्रमा उल्लेख छ । नेम्वाङलाई उद्धृत गर्दै राससले जनाएअनुसार नेकपाका कुनै पनि तहमा रहेका व्यक्तिबाट हुने अपराध, विकृति र विसङ्गतिमा दल जोडिँदैन, स्वयम् व्यक्ति जिम्मेवार हुन्छ भन्नेमा पार्टीले प्रष्ट मान्यता राख्दछ ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सभामुख महरासँग लागेको आरोपका सम्बन्धमा जानकारी लिएपछि बसेको नेकपाको सचिवालय बैठकले उनलाई सभामुख र सांसद दुवैबाट राजीनामा दिन सुझाव दिएको थियो । घटनाका बारेमा आउन सक्ने विभिन्न खाले टीकाटिप्पणीले पार्टीलाई पुग्न सक्ने असरको आकलन र घटनाको गम्भीरतालाई बुझेर सभामुख महरालाई तत्कालै तत्काल राजीनामा दिन लगाउने निर्णय भएको थियो ।

महान्यायाधिवक्ता अग्निप्रसाद खरेल भन्छन्, ‘जो कसैबाट कानून उल्लङ्घन र अपराध हुन्छ भने उसले कानूनको भागीदार बन्नुपर्छ । कानून सबैका लागि बराबर हो ।’ घटनालाई ठीक ढङ्गबाट समयमै सम्बोधन हुन नसकेमा बढी उछालिन सक्ने आकलन सचिवालय बैठकले आकलन गरेको स्रोतको जिकिर छ ।

महराले पार्टीको निर्णयानुसार अपराह्न स्वकीय सचिव सागर केसीमार्फत उपसभामुखको सचिवालयमा राजीनामा पठाएका थिए । पीडित पक्षबाट घटनाका सम्बन्धमा सूचना दिइएपछि पुगेको घटनास्थल र प्रमाणको सुरक्षाको पाटोमा पनि आवश्यक ध्यान नपुऱ्याइएको भनी प्रहरीको कामको आलोचना भएको छ । तर, महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख शैलेश थापाले घटनाको सूचना प्राप्त हुनासाथ संवेदनशील घटनाका रुपमा लिएर पीडितसँग तत्कालै आवश्यक जानकारीका साथै घटनास्थलको भिडियो स्केच लिइएको र पीडितसँग कानूनी परामर्श भएको जानकारी दिएका छन् ।

घटनास्थलमा प्रयोग भएका भनिएका चश्मा, रक्सीको बोतल, जुत्तालगायत वस्तु सङ्कलन गरी सुरक्षित रुपमा राखिएको प्रहरीको भनाई छ ।