‘साग’ समितिका सचिवलाई खेलकुद मन्त्रीको निर्देशन





नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि गठित विभिन्न समितिका सचिव र युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) बीच बैठक आइतबार (१२ असोज) सम्पन्न भएको छ ।

बैठकमा मन्त्री विश्वकर्माले साग राष्ट्रिय प्रतिष्ठाको विषय भएकोले भब्यताका साथ सफल पार्न गम्भीर भएर सबैले आ–आफ्नो जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिँदै आर्थिक अनुशासनमा रहेर कार्य सम्पन्न गर्न निर्देशन दिए । मन्त्री विश्वकर्माले कागकाजका दौरान आवश्यक पर्ने जनशक्ति सचिवालयवाट पूर्ति हुने बताउँदै जिम्मेवारीलाई कुनै कसर बाँकी नराख्न समेत निर्देशन दिए ।

सो अवसरमा १३औं साग सचिवालय प्रमुख कमल खनालले कार्यविधि अनुसार सबैले आफ्नो दायित्व पूरा गर्ने विश्वास व्यक्त गरे । समारोह समितिका सचिव समेत रहेका राखेप अन्तर्गत प्रशासन विभाग प्रमुख कुलबहादुर थापाले समितिका सचिवहरुले गर्नु पर्ने कार्यका बारेमा जानकारी गराए ।

बैठकमा समितिअन्तर्गत राष्ट्रिय टिम तयारीका सचिव महेन्द्रकुमार राई, खेलस्थल व्यवस्थापनका सचिव लवभक्त श्रेष्ठ, प्राविधिकका सचिव अर्जुनबहादुर विक, सुरक्षाका सचिव फणिन्द्र पौडेल, आवास व्यवस्थापन का सचिव विनोद उप्रेती, यातायात व्यवस्थापनका सचिव सरोजकुमार पोखरेल, स्वास्थ्यका सचिव मधुसुदन, प्रचार प्रसार तथा प्रकाशनका सचिव दुर्गाप्रसाद दुलाल, अतिथि सत्कारकी सचिव अनन्तादेवी खनाल, खेल सामाग्री, उपकरण तथा पोशाक व्यवस्थापनका सचिव वज्रबहादुर केसी तथा एन्टी डोपिङका सचिव तिलक नेपाली उपस्थित थिए ।

बैठकमा सहभागी सबैले इमान्दारीताका साथ कार्य गर्ने प्रतिबद्धता ब्यक्त गरे । संयोजक र सचिवसहितको बैठक मन्त्री विश्वकर्माको उपस्थितिमा असोज १३ गते सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा बस्नेछ ।

प्रतिक्रिया