नेकपा कार्यकर्ताद्वारा मीनेन्द्रमाथि किन गरियो दुर्व्यवहार ?

नेकपा कार्यकर्ताद्वारा मीनेन्द्रमाथि किन गरियो दुर्व्यवहार ?


नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजाललाई तनहुँमा सत्तारुढ दल नेकपाका कार्यकर्ताहरुले दुर्व्यवहार गरेको घटनालाई कांग्रेसले गम्भीर रुपमा लिइएको जनाएको छ ।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै नेता रिजालमाथि नेकपाका कार्यकर्ताले गरेको व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।

तनहुँको रिसिङ गाउँपालिकाको भवन शिलान्यास कार्यक्रममा गएका नेता रिजाल, काङ्ग्रेस तनहुँका कार्यवाहक सभापति लगायतलाई नेकपाका कार्यकर्ताले खुकुरी, भाला, लाठी, ढुङ्गा र सिसीले आक्रमणको प्रयास गरेका थिए ।

बताइएअनुसार नेकपाका स्थानीय कार्यकर्ताहरुले तत्कालीन सर्वदलीय संयन्त्र र जिल्लास्तरको प्राविधिक समितिको सिफारिस र निर्णय विपरीत पोखरीभञ्ज्याङमा गाउँपालिकाको भवन बनाउन लागिएको भन्दै शिलान्यास कार्यक्रममा अवरोध गरेका थिए । मीनेन्द्रलाई रोक्न गाउँपालिका बन्दको कार्यक्रमसमेत आयोजना गरिएको थियो । उनीहरुले प्रमुख अतिथिका रुपमा तनहुँ पुग्दै गर्दा भिमाद–ऋषिङ सडकमा रुख ढालेर अवरोधसमेत गरेका थिए । बन्द र अवरोधका बाबजुद प्रहरीको कडा सुरक्षा र स्कर्टिङमा डा. रिजाल कार्यक्रमस्थल पुगेका थिए ।

कार्यक्रमस्थलमा जम्मा भएका नेकपाका कार्यकर्ताले गाउँपालिकाको केन्द्र बनाउने निर्णयमा आफूहरुको असहमति रहेको हुँदा शिलान्यास नगर्न अनुरोध गरेको नेकपा ऋषिङ गाउँ कमिटी अध्यक्ष गञ्जसिंह गुरुङको भनाई छ ।

नेकपाका कार्यकर्ताहरु नारा जुलुस र कोणसभाको आयोजना गरी हुलदंगा मच्चाएर अन्यत्रै गएपछि नेता रिजालले भवन शिलान्यास गरेका थिए ।

सो क्रममा झडप हुनसक्ने आशङ्काले ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो । शिलान्यास पछि काङ्ग्रेस नेता रिजालले लोकतन्त्रमा विरोध गर्न पाइने भए पनि कसैलाई अवरोध गर्न नपाइने प्रतिक्रिया दिएका छन् ।

जिल्लाको ऋषिङ गाउँपालिका–७ पोखरीभञ्ज्याङमा निर्माण गरिन लागिएको सो भवनको आइतबार पूर्वमन्त्री तथा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य रिजालले शिलान्यास गरेका छन् ।

वडास्तर, गाउँसभा र गाउँ कार्यपालिकाको शतप्रतिशत सहमतिको निर्णयमा पोखरीभञ्ज्याङमा गाउँपालिकाको भवन बनाउने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले दाबी गरे । गाउँपालिकाको केन्द्र बनाउने सवालमा कुनै पनि गाउँसभाको सदस्यको असहमति नभएको हुँदा पोखरीभञ्ज्याङमा नै भवन बनाउन लागिएकोउनको भनाई छ । तीन करोड ६१ लाखको लागतमा सो भवन निर्माण हुन लागेको हो ।