चामत्कारिक क्षमता प्रदर्शन गर्दा ‘स्पाइडरमेन’ पक्राउ

चामत्कारिक क्षमता प्रदर्शन गर्दा ‘स्पाइडरमेन’ पक्राउ


गगनचुम्बी भवनहरू चढ्न पोख्त ‘फ्रान्सेली स्पाइडरमेन’ अलाइन रोबर्ट जर्मनीको फ्रेङ्कफर्ट शहरस्थित ‘स्काइपर’ टावर चढेपछि पक्राउ परेका छन् ।

५७ वर्षीय रोबर्टले पक्राउ पर्नुभन्दा पहिले आधा घण्टाको छोटो समयमा नै १५४ मिटर अग्लो ४२ तले भवनमा कुनै सरकारी स्वीकृति र सुरक्षा सामग्रीविना नै चढेका थिए । उनको साहसिक कार्यलाई सडकमा हिँडिरहेको यात्रुले चकित बन्दै अवलोकन गर्नुका साथै फोटोहरू लिएका थिए ।

सन् १९९४ देखि आफ्ना चमत्कारको प्रदर्शन गर्दै आएका रोबर्टले दुवैस्थित विश्वको सबैभन्दा अग्लो भवन बुर्ज खालिफा र पेरिसस्थित इफेल टावरलगायतका स्थानमा चढेर विश्वलाई चकित पारिसकेका एएफपीले जनाएको छ ।

गत अगस्टमा पनि उनले हङकङस्थित एक गगनचुम्बी भवनमा चढेर ‘शान्ति’को झण्डा फहराएका थिए ।

शनिबार पक्राउ पर्नुपूर्व गगनचुम्वी भवनहरूको यात्राको पछाडि आफ्नो कुनै गुह्य नरहेको र यो केवल आफ्नो क्षमताको प्रदर्शन मात्र रहेको स्पष्टिकरण उनले दिएका थिए ।