गएको तिजलाई फर्केर हेर्दा…

गएको तिजलाई फर्केर हेर्दा…


■ मधुसूदनप्रसाद घिमिरे

कला, संस्कृति, साहित्य देशको चिनारी हो । ढुङ्गा, माटो, नदी, जङ्गल, चरा, किरा, पशुपक्षी मात्र देशको चिनारी हो भनेर पुग्दैन । देश भनेर चिनिनका लागि देशका हरेक प्रकारका मूर्त–अमूर्त श्रव्यदृश्यदेखि सबै प्राणीहरूको जातजाति, भाषाभाषी, कला–संस्कृति, रीति–रिवाज, रहनसहन सबैलाई प्रस्ट्याउने चिनारी नै समग्र देशको चिनारी हो भन्न सकिन्छ ।

हाम्रो देशमा धेरै भाषा, धेरै जातजाति छन् । तिनका धेरै जात्रामात्रा, चाडपर्व, रहनसहनहरू सबै आ–आफ्नैपन झल्किने खालका छन् । कला–संस्कृति तिनीहरूको अभिन्न अङ्ग भइसकेको हुन्छ । ती सबैको आ–आफ्नै अस्तित्व रहँदै आएको पनि छ । ती चाडमध्ये एक हो– महिलाको महान् पर्व तिज । भाद्र शुल्क द्वितीयादेखि पञ्चमीसम्मको तिजमा भए खाने र हुनेखानेको होडबाजी चलेकै छ भने धार्मिक महत्व पनि यो चाडसँग गाँसिएको छ । टाटाटाढाबाट माइतीमा चेलीहरू आउँछन् । वर्ष दिनभरिका सुखदुःखका कुराहरू गीतमार्फत व्यक्त गर्छन् र नाचिन्छ पनि । चेलीबेटीले घर नै उज्यालो भएको खुसियाली बाँड्ने पर्व तिजका धेरै विशेषता छन् ।

विश्व ग्लोबलाइजेसनको हालको परिप्रेक्ष्यमा टेलिभिजनका विभिन्न च्यानलले महत्व दिई तिजको समयमा विभिन्न गीत र नाचको प्रत्यक्ष प्रसारण गरिरहेका हुन्छन् । आफ्नो समूहमा साथीसाथी मिलेर गाउने–नाच्ने परम्पराका शैलीहरू हिजोआज क्रमशः परिवर्तन हुँदै आएको छ । हिजोको दिनमा महिलाले नाचेको ठाउँमा पुरुषले सामेल हुन पाउँदैनथे । तर, आजको तिज महिला र पुरुष सबैको चाड हो भन्दै दर खाने र नाचगान गर्न सबैजना सामेल भइसकेका छन् । केटाहरूले गीत गाउँदै तिजको रौनकमा ‘हामी पनि नाच्नुपर्छ बीचबीचमा’ भन्ने गीत नै प्रसारण भइसकेको अवस्था छ ।

यस्तो गीत टीभी वा रेडियोबाट प्रसारण गर्र्दा घरपरिवार, छोरीबुहारी, बच्चाबच्ची सबै रमाएर टीभी हेर्ने गर्छन् । यो गीत–नाच टीभीमा प्रसारण गर्नुअघि कुनै निकायले हेर्ने–जाँच्ने परम्परा छैन, त्यो कुरा कुनै निकायले हेरेको पनि देखिँदैन ।

साहित्य विधाहरूमा सिनेमाका कलाकारितामा विभिन्न अवार्ड र पुरस्कारको व्यवस्था भएको छ । तर, हरेक वर्ष विभिन्न च्यानलबाट प्रसारण हुने तिजविशेषको गीतहरू, नाचहरूको जाँच हुने र निष्पक्ष मूल्याङ्कन हुने, सुरक्षित गर्ने परम्परा भएको भए नाच सिकेर जीविकोपार्जन गर्ने कलाहरूलाई पनि प्रोत्साहन हुने थियो । राम्रा चिज प्रसारण हुनुपर्छ भन्ने पनि हौसला मिल्ने थियो । त्यसो हुन सकेको देखिएन । एउटा सचेत नागरिकको हैसियतले समयले भ्याएसम्म विभिन्न च्यानलबाट प्रसारण हुने तिजको समयमा नाचगीत पङ्क्तिकारले पनि हेऱ्यो र सोही आधारमा केही कुरा राख्नु श्रेयस्कर लागेर यी पङ्क्ति कोरियो ।

विगत सालहरूमा के–कस्ता गीत प्रसारण भए हेक्का भएन । हेक्का भएसम्म विगतका तिजको गीतको बोलमा ‘लिन आउन पर्दैन कान्छो भाइ, पुऱ्याइदिनु भन्छु म भिनालाई’ यो गीतले सन्देश राम्रै दिएको छ । सानो भाइ खोलानाला तरी किन दुःख पाउनु ? भिनाजु भनेको पाको व्यक्ति हो । उहाँले ल्याइदिनुहुन्छ भन्ने पनि सन्देश हुन्छ । ‘श्राद्धको सालो तिजको ज्वाइँ’ भनेर हेलाको उक्ति रहेको समाजमा छोरीज्वाइँ दुवै तिजमा आउँदा विष्णुलक्ष्मीको आगमन भएझैँ बाबुआमा खुसी हुन्छन् भन्ने सन्देश पनि जान्छ । त्यो बेलाको नाचमा शंकर विसी र सम्झना बुढाथोकीले तिजको रौनक ल्याए भन्न सकिन्छ । त्यो समयको नाचको अब्बल दर्जा तिनीहरूले पाए मेरो नजरमा ।

त्योभन्दा पछिका तिजमा ‘छ भने सुनचाँदी ल्याउँछौँ छैन भने फूल टिपी छपक्कै’ भन्ने बोलको गीतले भए खाने र हुनेखानेबीचको द्वन्द्व कम गर्न मद्दत गर्छ । सन्देश राम्रो छ भने त्यो गीतमा नृत्य अभिनय गर्ने शोभा त्रिपाठीको अभिनयले गीतको मर्मलाई अँगालेको देखिन्छ । त्यही समयको गीत ‘पढ्ने बेलामा पढ् केटा हो’ भन्ने शीर्षकको गीतमा राधिका हमालले गाएको सन्देशमूलक राम्रो गीत हो भन्ने लाग्यो । त्यसबेलाको तिजगीत समग्र रूपमा हेर्दा शंकर विसी र पार्वती राईलाई नृत्य सम्राट् भन्दा अत्युक्ति नहोला ।

उत्कृष्टताको नाममा राख्दा कोमल वलीको अभियानमा ‘हत्तेरिका शिवजी रै छौ बदमास’ भन्ने गीतलाई पनि राख्न सकिन्छ । आफूले व्रत बसेर आराधना गरेपछि फल पाउने आस गर्नु नराम्रो हो । आशा नगरेको फल नपाएको अनुभूति गरेपछि भगवान्लाई नै त हो नि भन्ने । मानिसलाई भनेर केही हुन्न त ? यो गीतले सन्देश सकारात्मक नै दिन्छ । तर, दर्शक हाँस्न सक्छन् । डिस्कोमा कोमल वलीले गरेको अभिनय तिजको वास्तविक चिनारीलाई प्रश्रय देला भन्न सकिन्न । यस्ता गीत प्रसार हुने–नहुने सेन्सर बोर्डले हेरेको भए राम्रो हुने थियो ।

फेरि विगतका वर्षका गीतकै कुरा गरौँ, ‘मोटरसाइकल ल्याऊ कार किनेर ल्याऊ’ बोलको गति रमाइलो त होला । सीधा आम्दानीमा बाँच्ने दुई नम्बरी गर्न नरुचाउने–नसक्ने सोझा मानिसलाई राम्रो सन्देश दिन्छ भन्न सकिन्न । स्वस्थ मनोरञ्जनका गीत धेरै बजे । धेरै कलाकारको अभियन हेरियो । ‘फुट्यो बज्यै मडकुलो फुट्यो’ यो गीत हास्यगीत हो । बुहारीहरूले जतिपटक पनि माटोको भाँडा फुटाउँदा अब सहरबजारमा गाग्रोमा पानी बोक्ने परम्परा हटेको भान हुन्छ ।

‘मैना चरी किन गीत गाउँदैन तिम्रो जति माया त लालुमाई कसैको लाग्दैन’ र ‘माछी बस्यो खोलीको लेउलेउमा माया बस्यो कलेजी छेउछेउमा’ यी दुवै गीतमा अभिनय गर्नेको नाम मैले उल्लेख गर्न जानिनँ । तर, नाच, गीत, दृश्य परिवर्तन सबै दृष्टिले यो गीतको बोल, अभिनय र त्यहाँँको दृश्य हेर्दा साँच्चै हाम्रो देशमा कला, साहित्य, सङ्गीत धेरै माथिको छ भन्न नहिचकिचाए हुन्छ, उहाँहरू सबै बधाईका पात्र हुनुहुन्छ ।

पशुपति शर्मा र सम्झना ढकालले गाएको ‘मेरो माया बसेको ठाउँमा बत्ती बाल्नै पर्दैन त्यो गाउँमा’ नृत्य अभिनय गर्ने प्रकाश सपुत र अञ्जली अधिकारी यो वर्षको तिजगीत नृत्य हिरो नै भए । दृश्य परिवर्तनले पनि मनमोहक नै बनायो । अनुमति पाए त म बूढो नै भए पनि बीचमा बसेर ताली पिटौँजस्तो उत्सुकता आयो ।

‘कलेजी फाट्यो–बैमानीले ढाँट्यो’ बोलको गीत पशुपति शर्मा र सीता श्रेष्ठले गाएको नृत्य पनि मनमोहक छ । सासू आमाजस्तै बुहारी छोरीजस्तै भन्ने बोलको गीतले हाम्रो देशमा सासू र बुहारीको बेमेललाई हटाउने र मायालु भाव बढ्ने राम्रो सन्देश जाने गीत गाएकोमा लेखक, गायक, अभिनयकर्ता सबै बधाईको पात्र बन्नुभयो ।

‘तिजको रमझम यो बेलामा’ गीतमा नाच्ने रिना थापाको अभिनयले मीठो धेरै खाना थोरै मानिसले खानुभन्दा साधारण स्वच्छ खाना आफ्नो गाँस केही काटेर दुःखी गरिबलाई खुवाउनु, तिर्खा लागेकालाई प्यास मेटाउनु, वस्त्र नहुनेलाई लगाउने वस्त्र दिनु भन्ने राम्रो सन्देशले आजभोलिको स्वार्थी समाजमा राम्रो चेतना दिएको छ । सन्देशमूलक गीत बजाउने, लेख्ने, सङ्गीत–अभिनयकर्ता सबै बधाईका पात्र हुनुभएको छ । राजन खड्काको सारङ्गी गीतमा तिज भड्किलो बनेको गुनासो छ । राजधानी र सहरबजारमा नारीलाई अधिकार बढी भएको हो कि ? नारीले आफ्नो कर्तव्य बिर्सिंदै गएका छन् कि भन्ने दुखेसो हो भन्ने लाग्यो ।

‘नमुना बनाउँछु घर–माइतीलाई यही एउटा खबर’ गीतमा करिश्मा ढकालको अभिनय नृत्यले वास्तवमा छोरीको बिहे भएपछि कर्मघरप्रति बढी जिम्मेवारी वहन गर्ने प्रेरणादायी राम्रो गीत हो भन्ने ठानियो ।

‘नौ जाले मायामा पूर्णकला विसीको गीत, चेलीको आँसुमा अञ्जली अधिकारीको नृत्यले मनै लोभ्यायो भने तिजजस्तो महान् चाडमा पनि माइत जान नपाउँदा शर्मिला गुरुङ र शोभा त्रिपाठीका विरह गीत मन रुवाउन सफल भए ।

‘रहर उर्लेर आयो’ बोलको गीतमा गायक पूर्णकला विसी हुन् भने नृत्यमा अञ्जली अधिकारी सफल नृत्याङ्गना हुन् भन्न नहिचकिचाए हुन्छ । ‘डाइमन्ड किनिदेऊ’ गीतसँग सम्बन्धित देवी घर्ती, प्रकाश सपुत, अञ्जली अधिकारी हुन् भने आजभोलि सुनको मूल्य वृद्धि भई आकाश छुने समय आइरहेको बेलामा डायमन्ड किन मागेका होलान् ? यसले गर्दा सुन्दा–हेर्दा रमाइलो त लाग्ला नै हुनेखानेले तिज झनै भड्किलो बनाए भने भएखानेले त डाडुमा पानी तताएर मरे भइगो नि होइन र ?

‘मायाले किनिदिएको पछ्यौरी’ कल्पना कुसुम ठीकै छ ‘काँकरीको अचार’ पूर्णकला विसीको आवाजमा रिना थापाको नृत्यमा घरिघरिको दृश्य परिवर्तन भइरहँदा हेरूँहेरूँ लाग्छ । ‘प्रकाश सपुत र विष्णु श्रीपालीको आवाजमा प्रकाश सपुत र प्रतिभा रायमाझीको नाच हेर्नलायक छ भने जानुका तामाङको ‘तामै करुवा’ पनि मनोरञ्जन दिने खालको छ । ‘औँठी बेरुवाको के भर पर्नु खै बोली फेरुवाको’ बोलको गीतमा करिश्मा ढकालको नृत्य जमेको नै हो । दृश्य परिवर्तन पनि राम्रो छ ।

सुनिता दुलालको गाएको ‘मायाको मुखैमा चिनी चिनीभन्दा गुलियो गफ दिने’ स्वस्थ मनोरञ्जन हुने खालको छ । खुमन अधिकारी र सुरक्षा पन्तको अभिनयमा ‘बाह्र बजे नारेको गोरु, घुम्रे कपाल कोरूँ कि नकोरूँ’ गीतको बोल पनि राम्रो छ । हरितालिका व्रत लिनेहरूले पशुपति दर्शन गर्न मन पराउँछन् । यो गीत गाउँदा सबै दृश्य पशुपति क्षेत्रभित्रकै भएको र दृश्य परिवर्तन पनि आकर्षक नै भएकोले हेरूँहेरूँ लागिरह्यो ।

‘अब परदेश जाँदैन साइँलो आफ्नै गाउँ बनाउँछ रमाइलो’ यो गीत राष्ट्रिय भावना ओतप्रोत भएको स्वदेश प्रेम झल्काउनेखालको छ । नृत्याङ्गना रिना थापा र लेख्ने–गाउने सबै बधाईका पात्र छन् । ‘मेरी माया गएकी कहाँ होला एनटीसीले दिएन टावर’को बोल गीतमा मोहन र रिना नृत्यमा जमेका छन् । थरिथरि नयाँ दृश्यले पनि आकर्षण नै तुल्याउँछ । ‘जमाना फेरियो साइँला दाइ’ यस्तो गीत लेख्ने, गाउने र नाच्नेलाई मैले के भन्नु खै ? यो वर्ष दिनको चाडलाई उत्ताउलो बनाइयो कि ? ‘चिटिक्कै भाछु’ भन्ने सिन्धु मल्लको गीतमा आँचल शर्माको नृत्यले तिज भनेको लुगा–गहनाको प्रचार गर्ने पर्वको हो भन्ने समाजले बुझ्ला कि ?

छोरीकी आमा रमा थपलिया, छोरीकी आमा लक्ष्मी गिरी बनेर गाएको गीत बाबु आज बैनी लिन जाने होइन र ? पुरातनदेखि चलिआएको चलनबाट माथि उठ्न नसकेको । बुहारीले नै घरको काम गर्ने ठेक्का लिएकोजस्तो देखियो । एकआपस सद्भाव नभएको हो कि ? आजको परिप्रेक्ष्यमा । तर अभिनय आकर्षक छ ।

‘तिजै आयो’ गीतमा प्रमिला पुनले गाएको प्रदीप कुमार र करिश्मा ढकालले नाचेको देख्दा एक–आपसी सद्भाव कायम गराउने खालको छ । ‘बोल माया बोल दिल खोलेर बोल’ बोलको गीत प्रकाश सपुत र विष्णु श्रीपालीले गाएको । प्रतिभा रायमाझी र प्रकाश सपुतले अभिनय गरेको नृत्य जमेको नै छ । श्रीदेवी देवकोटा र चन्द्र शर्माले गाएको ‘ओली बाको रेल’ गीत एक किसिमको राम्रो व्यङ्ग्य हो भने नेपालीलाई रेल आउने झिनो आशा पनि हो ।

‘ए बूढा यसपालिको तिजमा नाइटो छेडी नत्थी लाउँछु’ यो गीत हेर्ने बालापनका वा वयस्क महिलालाई यो गीतले के सन्देश देला ? नेपाली समाज कतातिर मोडिँदै छ ? सहरबजारका नारीलाई अधिकार बढी भयो कि ? दर्शकले नै अड्कल काट्लान् । ‘सम्झी’ सीता कार्कीको गीतले आफ्नो घरपरिवारभन्दा बाहिरी वातावरण राम्रो मान्दै रमाउने पुरुषले फेरि आफ्नै घरपरिवार सम्झेर फर्केको राम्रो सन्देश छ ।

खासै भन्ने हो भने म एउटा सर्जक मात्रै हुँ । म मूल्याङ्कनकर्ता होइन । तैपनि फुर्सदमा हेरिएका गीत–नाचले मलाई प्रभाव पाऱ्यो । वास्तवमा मैले भन्ने हो भने सबै कलाकार, गायक, सङ्गीतकार देशका गहना हुन् र मेरा लागि यी सबै बन्दनीय नै छन् । अवसर पाए यस्ता गीत–नाचमा ताली बजाउन म पनि सामेल हुने नै छु ।

धेरैभन्दा धेरै गीतमा अभिनय गर्ने प्रकाश सपुत र अञ्जली अधिकारीलाई मैले यही शब्दद्वारा पुरस्कृत गरेँ । विगतका तिजहरूमा मेरो मन जित्न सफल सम्झना बुढाथोकी, पार्वती राई, शङ्कर विसीहरू पनि शब्दगुच्छाले पुरस्कृत भएका छन् । करिश्मा ढकाल, रिता थापा, सुरक्षा पन्त, खुमन अधिकारी, पशुपति शर्मासमेत मैले नाम जाने–नजानेका सम्पूर्ण देशका गहनाहरूमा शब्दगुच्छा पुरस्कार टक्र्याउँछु ।

सरकारी निकायबाट या कुनै पनि संस्थाबाट तिजका समयमा गाइने गीत, सङ्गीत र लेखक–अभिनयकर्ता सबैको उचित मूल्याङ्कन हुने परिपाटी भइदिए आगामी दिनमा गीत, सङ्गीत, अभियनले अझ दर्शकको मन छुने, परिस्कृत हुँदै जाने थियो भन्ने मेरो निजी विचार राख्दै बिदा भएँ ।