बहुरन्छ बिहानी

बहुरन्छ बिहानी


■ रामेश्वर राउत मातृदास

चन्द्र र सूर्य झुल्केका नयन यी हैनन् रुनलाई ।
ए ऽऽ हामी ञहाँ आएका हैनौँ निरीह हुनलाई ।।
आकाश पिता धरती माता साइनो छ अनन्त ।
फक्रनुपर्छ जिन्दगी हाम्रो सनातन उन्नत ।। १ ।।

गाएको गीत लाएको प्रीत बाँसुरी धूनमा ।
शीतका थोपा अमृत झर्छन् आएर जूनमा ।।
सुकिलो हाम्रो हृदय भए हिमचुली शिखर ।
बत्तीसै गुण लक्षणको हुन्छ जिन्दगी निखर ।। २ ।।

यो आर्य आँगन अङ्गिरस नाच्छन् सभ्यता चुलीमा ।
अन्याय हरदिन कहाँ हुन्छ एकदिन उनिन्छ शूलीमा ।।
सहेर बस्नु मौनता साँची आकाश फैलिन ।
लोभको भारी पापको कुण्ड बच्नु छ मैलिन ।। ३ ।।

फुलेका फूल वैंशको आत्मा ढुकढुकी सलल ।
अमर ज्योति चेतना दियो झुल्कन्छन् झलल ।।
दिलको दानी पलपल छानी दिव्यता चुमेको ।
पवन पारी हृदयहारी मेघ बुद्ध घुमेको ।। ४ ।।

आँट अठोट लाठे उमेर लम्कौँ लक्ष्य छ काँधमा ।
पुगेर पाउने विरासत विशाल चुम्नु छ साँधमा ।।
कहाँथ्यौँ हिजो कसरी आयौँ जीवनको फूलबारी ?
बिर्सेर आज कहाँ जान सक्छौँ यात्राको मूलसारी ? ।। ५ ।।

वरवृक्ष देखे हृदय हुन्छ फैलने आकाश ।
हृदय शुद्ध रहिरहे हुन्छ ईशको आभाष ।।
के हो र अरू यो जिन्दगानी माटाको कहानी ।
जोगाइराखौँ आशाको दियो बहुरन्छ बिहानी ।। ६ ।।

  • रारामा, वशिष्ठधाम, निर्झर दिलचेत, सिन्धुबस्ती