‘केही मान्छे सामाजिक एकता, सदभाव र प्रगतिको चक्रलाई रोक्न चाहन्छन्’ : गंगाधर





बाग्लुङको दूर गाउँबाट संघर्षका विभिन्न चरण पार गरेर बेल्जियम आएका एक जुझारू एनआरएन हुन्– गंगाधर गौतम । एनआरएनए बेल्जियमका पूर्वअध्यक्षसमेत रहेका गौतमको अथक सक्रिय जीवन, सामाजिक भावना र उनीभित्र लुकेको कुशल रणनीतिक क्षमताले बेल्जियम मात्र नभएर युरोपमा समेत एउटा गतिलो उपाधि पाएको छ– आधुनिक चाणक्यको । उनको रणनीतिलाई शुरुमा धेरै उनका विरोधीले बुझ्दैनन् र परिणाम पछि भने टाउको ठोकी–ठोकी चुक्चुकाउँछन् । उनको त्यो क्षमतालाई कसैले रुचाउँछन्, कसैले रुचाउँदैनन् त्यो सम्बन्धित पक्ष–विपक्षको निजी कुरा हो ।

पारिवारिक जिम्मेवारी र कानुनी तथा प्राविधिक झन्झटबीच पनि आफ्नैपनमा बाँच्न सक्ने नेपाली कांग्रेसका प्रवासस्थित सशक्त कार्यकर्तासमेत हुन् उनी । आर्थिक आर्जन वा आस्थाको धार नछुट्याई हेर्दा युरोपकै कुशल पार्टी रणनीतिकार भन्दा फरक नपर्ला यी नेपाली वयस्कलाई । उनी अर्थात् राजनीतिक खोपीभित्र आफ्नै खेमाको हुन नसकेका, तर स्वतन्त्र आँखाबाट हेर्दा लेखिनुपर्ने, सम्झिनुपर्ने डायस्पोराका एक विवादित पथिक । युरोपभरि जनसम्पर्क समितिको विस्तार र एनआरएन भन्दै कुदिरहने एक जुझारू अभियन्ता उनै गौतमसँग एनआरएन, उनको उम्मेदवारीलगायत अन्य विषयमा गरिएको कुराकानी :

० तपाईंका मित्रहरू पनि छन् र अमंगल चाहने जमात पनि तपाईंको संगठनभित्रै देखिन्छ, किन होला ? यतिबिघ्न विरोध गर्नुपर्ने तपाईंको के गल्ती थियो र संगठनभित्र ?

– छोटकरीमा भन्दा म अलिक लचिलो छु र उदार पनि छु । तर, केही जमात संकीर्ण र स्वार्थी छ समाजमा । यी दुई दृष्टिकोण नभएको समाज कहाँ पो होला र ! समाजमा परम्परावादी सोच राख्ने र परिवर्तन गर्न चाहने मानिसका बीचमा युगौँदेखि द्वन्द्व चल्दै आएका छ । संसारभर चलिरहेको त्यो द्वन्द्व नेपालमा पनि छ, यता पनि र सर्वत्र छ । द्वन्द्वात्मक मनोविज्ञान नेपाली डायस्पोरामा पनि सँगै भित्रिएको छ । केही मान्छे सामाजिक एकता, सदभाव र प्रगतिको चक्रलाई रोक्न कोसिस गरिरहन्छन् । तर, त्यो चिरस्थायी कुरा होइन । एक निबन्धकारको शब्दमा भन्ने हो भने त्यस्ता विरोधको पर्वाह नगरी क्रमभंगताको लागि प्रत्येक युगमा केही मान्छेहरू बहुलाउनु पनि पर्दछ । केही मान्छे बहुला नभईकन समाजको विकास नै हुँदैन । अमेरिकामा अब्राहम लिंकनले दासप्रथा उन्मूलन गर्दा उनलाई अमेरिकाका जनताको एक हिस्साले बहुलाएको भने । केही स्थानमा त दासहरू नै लिंकनविरुद्ध उभिएका थिए । ती दासहरूको सोचाइ दासप्रथा नै ठीक छ र त्यसैमा उनीहरूको सुरक्षा छ भन्ने थियो । आखिर सबै सोचको स्तरमा निर्भर रहने कुरा हो । मैले मेरो जीवनमा धेरै किसिमका यस्ता आरोप खेपेको पनि छु र अझै खेप्ने सामथ्र्य पनि राख्छु ।

० सोचबारे तपाईंको बुझाइ अलिक प्रस्ट पारिदिनुहोस् न !

– मान्छेको सोच उसको व्यक्तिगत स्वार्थले निर्देशित गऱ्यो भने एक प्रकारको हुन्छ र सामाजिक स्वार्थले निर्देशित गऱ्यो भने ठीक त्यसको विपरीत हुन्छ । कतै पढेको थिएँ कुनै व्यक्तिलाई जन्मकालदेखि नै अँध्यारो गुफामा राख्ने, बाहिर निस्कन नदिने हो भने ऊ त्यसैलाई संसार सम्झन थाल्छ र दृष्टिकोण पनि त्यहीअनुसार बनाउँछ । कुनै दिन उसलाई गुफाबाट बाहिर ल्याइयो भने, बाहिरी वातावरण वा प्रकाश देख्यो भने आत्तिन्छ । हत्तपत्त दौडिएर अँध्यारो गुफामा जान खोज्छ । मानवको स्वभाव के हुन्छ भने ऊ जुन कुराका लागि अभ्यस्त हुन्छ, त्यही कुरा नै स्वीकार्छ । मैले संसारलाई यसरी नै बुझ्छु ।

० दृष्टिकोण बनाउने भनेको वातावरण र परिवेशले पनि हो ?

– वातावरणको कारणले भन्नुपर्दा डायस्पोरामा पुगेका नेपालीको मूलभूत रूपमा दुईफरक दृष्टिकोण पाइन्छ । गाउँबाट युरोप, अमेरिका अस्ट्रेलियालगायत स्थानमा आएकाहरूको अपवादबाहेक सामाजिक भावना धेरै र स्वार्थी भावना कम हुन्छ भने सहरबाट वा त्यसमा पनि उच्च घरानाबाट आएकाहरूमा व्यक्तिवादी भावना प्रबल र सामाजिक भावना कम देखिन्छ । यो सब गाउँ र सहरबीचको फरक पनि हो । ठूला सहरमा हेर्ने हो भने, धेरै मान्छेको घरमा जाने हो भने थाहा हुन्छ, आफैँले हुर्काएका छोराछोरी अमेरिका, जापान, जर्मनी, युरोप, अस्ट्रेलिया गएपछि बाबुआमालाई भुलिदिन्छन् । खाली एकपटक सम्झन्छन्, श्रीमती सुत्केरी भएका बेलामा । सुत्केरी भएका बेलामा विदेशको मानिसलाई नै सहयोगी राख्दा त्यहाँ धेरै महँगो पर्न जान्छ । यस्तो बेलामा बाबुआमालाई बबिता दिज्युले भनेझैँ ‘तेल भिसा’मा मात्र बोलाउँछन् । तर, गाउँले परिवेशमा हुर्केर आएकाहरूमा यदाकदाबाहेक आफ्ना अग्रजहरूको सेवासम्मानमा आफूलाई भरसक समर्पित गरेका हुन्छन् । आफ्नो गाउँको परोपकार र समृद्धिको लागि सामाजिक अभियानहरू चलाइरहेका हुन्छन् । शहरीयाहरूले गरेको विरोधलाई उनीहरूले कुनै हेक्का राख्दैनन् । अब त कुरो बुझ्नु भो नि ?

० तपार्ईंको राजनीतिक दृष्टिकोण र लगाबबारे केही प्रस्ट पार्नुहुन्छ कि ?

– व्यक्तिको आफ्ना समकालीन व्यक्तिहरू र अघिल्ला पुस्ताहरूका मानिससँगको प्रत्यक्ष वा अप्रत्यक्ष सम्बन्धहरूको समष्टि यो समाजलाई हामीले के दिन सक्छौँ ? मूल कुरा यसैको वरिपरि हुन्छ । त्यसका लागि राजनीतिक बहस अनिवार्य छ । मानव स्वाभावअनुरूप राजनीतिका भिन्न दर्शनबारे बहस हुँदै आएको छ । म सुखी र सम्पन्न बन्ने वा हामी ? दार्शनिक नेता महामानव बीपीले यो बहस सर्वप्रथम नेपालको राजनीतिमा भित्र्याउनुभयो । उहाँले आफ्नो वरिपरिका समर्थकलाई आफ्नो निचोड पनि सुनाउनुभयो । एक्लो घर धनी बनेर देश वा समाज सम्पन्न हुँदैन, तर राज्य सम्पन्न बन्यो भने नागरिक स्वतः सम्पन्न हुन्छन् । सामाजको दुःखसुख सबै अन्तरसम्बन्धित छन् । दुःखसुख बराबरीको सोच समाजवादबिना सम्भव छैन । दुःखसुख मानव जातिमै हुन्छ । समाजवादमा मेरो सुख, तेरो दुःख हुँदैन । जति सुख छ मानव जातिको हुन्छ, दुःख पनि मानव जातिकै हुन्छ । यही आदर्शको वरिपरि हजारौँ वर्षदेखि संसारभर बहस चल्दै छ । सामूहिक हितको सोच नै समाजवादी सोच हो । परिवर्तनको खोजीले मलाई राजनीतिप्रति रुचि पैदा गऱ्यो । समाजवाद उत्कृष्ट समाज व्यवस्था हो भन्ने निष्कर्षले नै मलाई बीपीवादी र काङ्ग्रेस बन्न प्रेरित गरेको हो ।

० तपाईंको जीवनका उतारचढावबारे केही बताइदिनुहोस् न !

– बाग्लुङको गल्कोट पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसी, शहीद थीरबम मल्ल, नेता कुलराज शर्मा, गोविन्द कँडेललगायत धेरै नेताको कर्मथलो मात्रै नभएर राणाकालदेखि नै राजनीतिको चेतना छरिएको ठाउँ हो । म उहाँहरूकै अप्रत्क्ष प्रेरणा, द्वन्द्व–प्रतिद्वन्द्व र झकझकावटबाट ब्युँझेको केटा थिएँ । काँढेबास पढ्दा सानो कक्षामा समेत मनिटर हुनुपर्ने, रेडक्रसमा अध्यक्ष हुनुपर्ने साथै पञ्चायतविरोधीसमेत बन्नुपर्ने । म त्यहीँबाट सानो नेता हुँदै बाग्लुङ क्याम्पसमा नेविसंघबाट स्ववियु सभापति (२०५१ र ५५) र विद्यार्थीको जिल्ला अध्यक्ष (२०५३ र ५७) निर्वाचित भएँ । सक्रियता तथा राजनीतिको भोकले नेतृत्वमा पु¥यायो । कुनै नेताको चाकडीमा भन्दा आफ्नो सामथ्र्य र सक्रियताले म नेतृत्वमा पुगेको हुँ । बाग्लुङका प्रायः सबै गाविसका स्कुलमा मैले नेविसंघको इकाइ बनाएको थिएँ । त्यसपछि मेरो सक्रियता देखेर ममाथि वामपन्थीहरूको आक्रमण हुन थाल्यो । आर्थिक अवस्था निम्नमध्यमवर्गीय किसानको भए पनि ब्याचलरसम्मको अध्ययन पूरा गरेको छु ।

० तपाईंको लक्ष्य, खुबी र सामाजिक सक्रियताबारे केही बताउनुहुन्छ कि ?

– राजनीतिक सक्रियताका कारण म घुमिरहनुपर्ने, एकै स्थानमा बस्नै नसक्ने र साथीहरूको टिममा रमाउने बानीले गर्दा क्याम्पसमा अध्ययन समयमा समेत आर्थिक अभाव राम्रैसँग झेलेको छु । पढाइकै बीच खर्च जुटाउनसमेत विभिन्न हन्डर खाँदै पढाइलाई जसोतसो अघि बढाएँ । पैसा नहुँदा पनि बाँच्न जानेँ । त्यो नै मेरो सबैभन्दा महत्वपूर्ण खुबी हो । अहिले एनआरएनमा ‘पैसा फ्याँको तमासा देखो’ जस्तो भएको छ । यो सब देख्दा दुःख लाग्छ । संघसंगठनहरूमा पहिले पहिले त्याग, पवित्र भावना र सक्रियतालाई संगठनको पुँजी मानिन्थ्यो । अहिले पैसा कमाउन सके अरू सबै किन्न सकिन्छ भन्ने सोच देखिन्छ । यो सोचले कुनै पनि संघसंगठन दीर्घकालसम्म बाँच्न सक्दैनन् ।

० तपाईंको पार्टी नेतृत्व, सबै समाजवादी हौँ भन्ने राजनीतिक दललगायत सहकर्मीहरूलाई के सुझाब दिन चाहनुहुन्छ ?

– डायस्पोराको समृद्धिमा समेत सरकार र पार्टीहरू लागुन्, उनीहरूलाई अधिकारसम्पन्न नागरिक बनाइयोस्, सबैले आफ्नो आचरण सुधारुन् र समाजवादी बनुन् । मेरो यही सुझाब हो सबैलाई । सक्रियताको कुरा गर्दा अहिले पनि अचम्म लाग्छ । विद्यार्थी कालमा निकै सक्रिय थिएँ म । संगठनको काममा बाग्लुङ बजारबाट बिहान पाँच बजे हिँडेर बुर्तिबाङ पुगिन्थ्यो । बर्खामा हिँड्दा शरीरमा जुकाले नखाएको कतै हुँदैनथ्यो । टिमुर वा नुन दलेर हिँड्नुपर्ने ! ६२ गाविसमा मैले नबनाएको कुनै विद्यार्थी इकाइ थिएन । जुन अहिलेसम्म कसैले बनाएको मेरो जानकारीमा छैन । त्यति खटिन्थ्यो । ०४५ सालको घटना हो जनआन्दोलन चलेको थियो । किरण पौडेल, हर्क खत्रीलगायत हामी ११ जनालाई आन्दोलनको क्रममा प्रहरीले समात्यो । जनताले राजबन्दी रिहा गर्न हरिचौर प्रहरी चौकी घेरा हाले । त्यहाँ ऐतिहासिक प्रदर्शन भयो । त्यो संघर्षको गौरवमय दिनको मलाई सधैँ याद आइरहन्छ ।

० तपाईंले संगत गरेका, नेविसंघमा संगठित गरेका साथीहरू अहिलेसम्म राजनीतिमा कति छन् ?

– अहिले विभिन्न इकाइबाट संगठित भएका साथीहरूले युरोपमा नेतृत्व गरिरहेका छन् । बाग्लुङका पूर्ण हमाल, एकराज गिरि, वसन्त श्रेष्ठ, नारायण आचार्य, राम थापा, धर्म पाठकलगायतका साथीहरू त्यही बेलाका सहयात्री हुन् । उनीहरू अहिले प्रतिष्ठित व्यवसायी, समाजसेवीसमेत बनेका छन् भने नेपालमा किरण दाइहरू राजनीतिको नेतृत्वमा समेत पुगेका छन् ।

० बेल्जियम जनसम्पर्क समितिको एकता अभियानबारे के प्रगति भइरहेको छ, विवाद सल्टियो कि उस्तै हो ?

– केही व्यक्ति निवर्तमान भइसकेपछि पनि म अझै नेतृत्वमै छु भन्ने हो भने विवाद बल्झिरहन्छ । अग्रज दाजु गोविन्द सुवेदीको नेतृत्वमा ११ जनाको अल्पकालीन समिति बनेको छ । त्यसले पुरानो समितिलाई विस्थापित गरिसक्यो । अब एकै ठाउँमा बस्न किन डराउने ? सोहीअनुरूप पार्टीलाई पत्राचार भएको छ । माइन्युट गरिएको छ । पार्टीलाई सन्देस दिँदा त्यसले वैधानिकता पाउने हुन्छ । पहिला धेरै हदसम्म नेपालको धारले केही असर गरेको हो कि भन्ने मेरो बुझाइ हो । सारमा भन्दा अब हामी एक भएका छौँ । यदि अब पनि यो निर्णयलाई मान्दिनँ भनिन्छ भने संगठनमा बस्नुको औचित्य रहँदैन ।

० जनसम्पर्क समिति बेल्जियममा एकताको कुराबारे प्रस्ट भन्नुपऱ्यो ।

– मलाई कतै पढेको कुरा याद आयो । कुरा भारततिरको हो । त्यहाँ मागी खानेका पनि डन हुन्छन् भन्दा तपाईंलाई अचम्म लाग्ला । मागी खानेहरूले दिनभरि मागेको पैसा तिनका डनहरूलाई बुझाउनुपर्ने हुँदोरहेछ । जति धेरै माग्ने भयो डनहरूलाई त्यति नै फाइदा हुने । त्यसको लागि उनीहरूले गाउँगाउँमा गएर केटाकेटी चोर्छन् र तिनीहरूका हातखुट्टा भाँचिदिने, आँखा फोरिदिने गर्दछन् । उनीहरूलाई अंगभंग गर्दिन्छन् र बाटोमा माग्न बसाल्छन् रे । उनीहरूले माग्ने सञ्जालको विस्तार गर्न त्यसो गरिरहेका हुन्छन् । त्यसैमा उनीहरू निरन्तर लागिरहन्छन् र सन्तुष्ट हुन्छन् । राम्रा मान्छेहरूले राम्राको झुन्ड बनाउन खोज्छ, नराम्राहरूले प्रतिशोध लिन र राम्राको खुट्टा तान्न खोज्छ । सद्धे मान्छेलाई अपांग बनाएर गलत साबित गरेर आफ्नो झुन्ड बलियो बनाउने मान्छेहरू पनि हाम्रोबीचमा हुन्छन् । खराब र असल छुट्याऊँ, मिलापमा रमाउन सिकौँ । फुटमै रमाउन नखोजौँ, सबै सम्मानित बनौँ र एकतालाई समर्पणसहित लागू गरौँ । अब बानी बदल्ने बेला आएको छ किनकि पुरानो सोचले संगठनलाई धराशायी बनाउँछ । संगठन सकिएपछि निश्चित रूपमा हामी पनि सकिन्छौँ । प्राविधिक कुराले मात्र संगठनको एकताबारे बुझ्न सकिँदैन । त्यसका लागि छरिएका मनहरू मिल्नुपर्छ ।

० नेपालमा राजनीतिक आधार बनाइसकेको मान्छे कसरी र किन विदेश पलायन हुनुभयो ?

– मुलुकमा राजनीतिक द्वन्द्वले अत्यासलाग्दो अवस्था नै बिदेसिनुको आमकारण हो । ०५४ सालमा घरमा आगो लगाइयो । म नेविसंघको जिल्ला अध्यक्ष थिएँ त्यसबेला । गल्कोट हटियामा ममाथि सांघातिक आक्रमणसमेत भयो । घरनजिक बम विस्फोट गरियो । ज्यानको जोखिम भएपछि मात्र म विदेश पलायन भएको हुँ । मेरो सन्दर्भमा आर्थिक कारण गौण हो । यहाँ आएर पनि मैले बाँच्नका लागि मात्रै काम गरेको छु र धेरै समय समाजका लागि दिएको देख्नुभएकै छ । राजनीतिक आधार बलियो बनाएको थिएँ, देशमै बसेको भए सायद नेतृत्वमा पुगिसक्थेँ होला ! विवशताले विदेश पलायन भए पनि सपना त अहिलेसम्म पनि आफ्नै गाउँको मात्र देख्ने गरेको छु । राज्यको त सीमा होला, तर आस्था र राष्ट्रियताको सीमा हुँदैन, त्यसैले सबैको प्रतिक्रिया ग्रहण गर्दै जनसम्पर्क समिति र एनआरएनको अभियानमा लागिरहेको छु । केही पाइएला भनेर संगठनमा लागेको पनि होइन !

० बेल्जियम आएपछि सामाजिक अभियानमा कसरी र केको लागि लाग्नुभयो ? यहाँको राजनीतिले नेपालमा अर्थ लाग्छ र ?

– जे भए पनि राजनीतिक र सामाजिक भूमिकाले नेपालमै र नेपालीसँगै भएको अनुभूति दिँदोरहेछ । सन् २००० मा बेल्जियम आएपछि केही आस्था मिल्ने नेपालीको सम्पर्कमा आई आस्थावान् कांग्रेसहरूमार्फत नेपाली समाज संगठित गर्नतिर लागियो । भेटघाट बढाएँ । ध्रुव पौडेल, सुवास जोशी, जानकी गुरुङ, शेखर कँडेल, राम थापा, गोविन्द सुवेदीलगायतको सल्लाहमा नेपाली कांग्रेस बेल्जियम नेपाल सम्पर्क समिति बनायौँ । त्यहीबेलासम्म सायद जनप्रगतिशील संगठन स्थापित भइसकेको थियो । त्यो अर्थमा आस्थाको संगठनमा हाम्रो दोस्रो हो कि जस्तो लाग्छ । म ०३० सालमा बाग्लुङ, गल्कोटको मल्म वडा नं. ३ मा जन्मेको हुँ । बुबाआमाले पनि मलाई सामाजिक गतिविधिमा लाग्दा कहिल्यै गाली गर्नुभएन । जीवनमा राजनीतिक तथा सामाजिक क्षेत्रमा लाग्न जीवनसंगिनी शशिले समेत कहिल्यै अवरोध गरिनन् । मैले मेरा दुई छोरा रोशन र कृष्णलाई समेत सर्वप्रथम नेपाली समाजको सेवा गर्ने प्रेरणा दिन कुनै कसुर छोडेको छैन । सामाजिक भावना भनेको परोपकारको भ्रुण हो र यो चेतनासँग जोडिएर आउँछ । र, देवता बनेर फुल्दछ । भूगोल यसको बाधक हुन सक्दैन ।

पदीय जिम्मेवारीको कुरा भन्दा कर्तव्यको लागि सचेत हुनु जरुरी छ । सन् २००० अक्टोबर २६ मा ध्रुव पौडेलको संयोजकत्वमा नेपाली कांग्रेसको नेपाल–बेल्जियम सम्पर्क समिति बनाउँदादेखि म सक्रिय भएर लागेको थिएँ । २००६ मा एनआरएनए बेल्जियम समन्वय परिषदको संस्थापक, पहिलो अधिवेशनमा उपाध्यक्ष, दोस्रो कार्यकालमा संरक्षक, २०१५–१७ मा अध्यक्षको समेत मलाई जिम्मेवारी दिइयो । एनआरएनए एनसीसीको विधान मस्यौदा समितिको प्रमुख र निर्वाचन समितिको संयोजक भएर सर्वसहमतिबाट समिति निर्माण गरी पछिल्लोपटक मतभेदहरूको खातलाई चिर्दै ‘ब्रेक थ्रु’ गर्न सफल भयौँ । त्यसको लागि मलाई सबै साथीहरूको साथ रह्यो । बढी त्याग गर्न सक्ने हैसियत बनाएको जनसम्पर्क समितिका साथीहरूको कारण यो सर्वसहमति सफल भएको हो । ती साथीहरू जसले आफ्नो उम्मेदवारी फिर्ता लिएर निर्वाचन समितिको पहिलो प्रयासलाई सार्थक बनाइदिनुभयो धन्यवादका पात्र हुनुहुन्छ । यो एकता, सहमति र सहकार्य मुलुकप्रतिको कर्तव्य डायस्पोरामा समेत विश्वासयोग्य रूपले फक्रँदै गरेको फूल जस्तै लाग्छ मलाई । विश्वास र सामाजिक एकताको शुरुवात बेल्जियमबाट भएको र युरोपभरि फक्रँदै गएकोमा सबैले गर्व गर्न सक्नुपर्छ ।

० अहिले एनआरएनए युरोप संयोजकमा उठ्नुभएको छ, यसपालि जित्ने सम्भावना कत्तिको देख्नुहुन्छ ? कि अघिल्लोपटक जस्तै हारिन्छ ?

– सन् २०१७ मा एनआरएनएको युरोप संयोजकको उम्मेदवार बनेपछि मेरो अभियानले विश्वव्यापी हुने मौका पायो । मैले आफूलाई क्षेत्रीय भूमिकामा समाहित गर्न कम्मर कसेर लागेकै हुँ । २७ जना उम्मेदवारमध्ये २४ ले त हार्नैपथ्र्यो । तीनजनाले जिते, म हार्नेमा परेँ । मेरो सांगठनिक अनुशासन, समर्पण र भविष्यप्रतिको प्रेरणादायी जिम्मेवारीलाई यसपटक पूरा गर्नेछु जस्तो लाग्छ । तैपनि केही साथीहरू मलाई हराउन लागेको देख्दा अचम्म लाग्छ । तर, मेरो आग्रह छ– अझै पनि बेल्जियममा एउटा पदमा एक मात्र उठौँ, पुरानो इगो त्यागौँ । संगठनले जित्ने हैसियतसहित लागौँ !

० आगामी भूमिकाबारे तपाईंको थप भनाइ…

– सबै नेपालीको विश्वासले आत्मविश्वास र सङ्कल्प झन् निखारिँदै जाँदोरहेछ । आत्मविश्वासका साथ गरिने मिहिनेत, प्रयास र कर्मलाई समाजले क्रमशः मूल्यांकन गरिरहेको हुन्छ । मेरो पहिलो घर जनसम्पर्क समिति हुँदाहुँदै पनि पहिला एनआरएन गठन गरियो । सन् २००८ मा मात्र तात्कालिक कार्यबाहक पार्टी सभापति सशील कोइरालाको निर्देशनमा जनसम्पर्क समिति बनायौँ । शुरुमा बेल्जियम छिर्दा एक किसिमको वातावरण थियो । त्यही रूपमा समाजका तात्कालिक मुद्दाहरूमा सरिक भइयो । त्यो परिस्थितिले संगठनको आधार बनाइदियो र त्यहीअनुसार अघि बढियो । पछि केही साथीहरू खेल्न थाले र विभाजनको प्रयाससमेत भयो । तथापि नेपाली कांग्रेसको १२औँ र १३औँ अधिवेशनमा जनसम्पर्क समिति बेल्जियमले महासमितिमार्फत भाग लिने पद्धति मेरै नेतृत्वमा शुरु भयो । एनआरएनएमा समेत २००६ बाट २०१५ सम्म अविछिन्न नेतृत्व गर्न सक्ने हैसियत बनायौँ । हेर्नुस् अहिले हामी नेतृत्वमा जाने आधार किन बिग्रियो ? यसको जिम्मा कसले लिने ? यी विषयमा निष्पक्ष समीक्षा हुनु जरुरी छ ।

० तपाईंमाथि गंगाधर जहाँ पस्छ भाँजो हाल्छ र संगठनमा दरार पैदा गर्छ भन्ने आरोप छ नि के भन्नुहुन्छ ?

– त्यसमा मेरो कुनै गुनासो छैन । नदी बग्दा स्वाभाविक आवाज आउँछ, मैले सम्पूर्ण जीवनको ठूलो हिस्सा समाजलाई समर्पण गरेझैँ लाग्छ । गतिशील भइरहन्छु । हाम्रो चेतनाले जतिजति उच्च रूप लिँदै जानेछ, त्यसका साथै हामीले आफ्नो व्यक्तिगत जीवन, व्यक्तिगत पेसा वा करिअरभन्दा माथि उठेर देश, जनता र सम्पूर्ण मानव जातिलाई समेत देख्न थाल्नेछौँ र उनीहरूको कल्याणका लागि बढीभन्दा बढी योगदान दिने कुरा सोच्न थाल्नेछौँ । मेरो यो व्यक्तिवादी प्रवृत्तिविरुद्धको लडाइँसमेत हो भन्ने नबुझ्दासम्म साथीहरूले मलाई बुझ्नुहुन्न । केही न केही आरोप लगाएर सन्तुष्टि लिनुहुन्छ । सधैँ सक्रिय भइरहने प्रवृत्ति नै मेरो जीवनको बाँच्ने साहसिक आधार हो । यसमा कसले कस्तो गुनासो गर्छ मलाई मतलब नै हुँदैन ।

० क्षेत्रीय संयोजकमा उठ्दै गर्दा तपाईंले जितेपछिका एजेण्डाहरू के–के हुनेछन् ?

– मूल लक्ष्य आफू संलग्न संस्थालाई नीति र विधान नियन्त्रित बनाउनु नै हो । पछिल्ला दिनमा एनआरएन अभियानको आदर्श र मूल्य–मान्यतालाई मानव तस्करी, नाफाखोरी, मजदुर लुट्ने सुदखोरी र सरकारसमेतलाई भुलभुलैयामा पार्ने व्यापारिक साझेदारीहरूको चल्ती–फिर्तीले संगठन धराशायी हुँदै गएकोमा मेरो गम्भीर चिन्ता र चासो छ । हाम्रो एनआरएनए संस्कृति महँगो हुदै गएको छ । म एनआरएनएनको पाँच स्टार संस्कृतिलाई हटाएर मजदुरको पहुँच स्थापित गरेरै छाड्छु, विधानतः आस्थालाई स्थापित गराएरै छाड्छु । बुँदागत रूपमा भन्दा १, युरोप क्षेत्रमा रहेका नेपाली समुदायका लागि गत अगस्ट महिनामा युरोप क्षेत्रीय बैठकद्वारा प्रस्तुत प्रस्तावअनुरूप आपतकालीन राहत कोष स्थापनाको लागि पहल गर्नेछु । २, गैरआवासीय नेपाली संघका युरोपमा गठन भएका तर निष्क्रिय राष्ट्रिय समितिहरूलाई सक्रिय बनाइनेछ । ३, गैरआवासीय नेपाली संघले उठाउँदै आएका महत्वपूर्ण मुद्दाहरू, नेपालमा सामूहिक लगानी कोष, नागरिकताको निरन्तरता, संस्थागत विकासलगायतका विषयमा नेपालको लोकतान्त्रिक आन्दोलमा सहपाठी दलहरू र सरकारसँग समन्वय गरी ती मागलाई पूरा गर्न युरोप क्षेत्रबाट महत्वपूर्ण भूमिका निर्वाह गर्न प्रयत्नशील गर्नेछु । ४, संघको क्षेत्रीय बैठकहरूलाई अझ व्यवस्थित र आर्थिक रूपमा पारदर्शी बनाइनेछ । ५, गैरआवासीय नेपाली संघलाई सबै विचार, जात र वर्गको समावेशी बनाउनेछु । ६, संघलाई हुनेखानेको मात्र नभएर सर्वसाधारणको समेत पहुँच पुग्ने गरी नयाँ नीति तर्जुमा गरी संस्थागत विकासमा जोड दिनेछु । ७, युरोपस्थित नेपाली समुदायमा हुर्किंदो दोस्रो पुस्ता तथा युवाहरूका लागि नेपाली भाषा तथा संस्कृति सिकाउने उद्देश्यले हरेक राष्ट्रिय समितिमा विशेष कार्यक्रम सञ्चालन गरिनेछ । यिनै कुराहरू हुन् ।

० समाजसेवामा लाग्ने एनआरएन पितामहहरू त आर्थिक सबलता नभई समाजसेवा गर्नहुँदैन, सकिँदैन भन्छन् नि !

– ती नवधनाढ्यहरूका सेखी हुन् । आर्थिक अवस्थाले सामाजिक सेवाको निर्धारण कदापि गर्दैन । चेतनासहितको दायित्वबोध समाजसेवाको महत्वपूर्ण पक्ष हो । अहिलेको समाजमा केही मानिसले व्यक्तिगत स्वार्थका लागि मात्र व्यवहार गर्दछन् । नोकरी गर्ने, घरसम्पत्ति जोड्ने मात्र काम गर्दछन्, धेरै पैसा कमाउँछन् । समाजले उनीहरूलाई इज्जत गर्छ । एक करोड वा अर्ब जम्मा गरेको अवस्थामा ठूलो सम्मान हुन्छ । कुनै व्यक्तिले त्यस विषयमा ध्यान दिएन र समाज परिवर्तनमा लाग्यो भने ऊ बहुला ठानिन्छ । यो सब चिन्तनको कुरा हो । म यही व्यक्तिवादी खराब चिन्तनविरुद्ध संघर्ष गरिरहन्छु । समाजवाद आफूबाट लागू गर्ने कुरा हो जुन सामाजिक चिन्तनसँग अभिन्न रूपले जोडिएको हुन्छ । यसैको लागि हो मेरो लडाइँ ।

० नेपाल फर्कने–नफर्कने के छ विचार, सम्झनाले मात्रै देशसेवा हुन्छ र ?

– हामीले आफ्नो सुखका लागि पनि समाजको, देशको विकासलाई सम्झनुपर्छ । देशको निर्माणका लागि लाग्नुपर्छ । हाम्रो जिम्मेवारी आफ्नो लागि मात्रै हुनुहुन्न । समाज र देशप्रति पनि हुनुपर्छ । धेरै मान्छेको त्यस्तो सोचाइ छैन । उनीहरूलाई आफ्नो मात्रै चिन्ता हुन्छ । व्यक्तिगत फाइदाका लागि जे पनि गर्न तम्सिने संस्कार बढेकोमा दुःख लाग्छ । तैपनि बेल्जियम बसुन्जेल सामाजिक र चेतना वा आस्थागत संगठनमार्फत समाजसेवा गरिरहने संकल्प गरेको छु । त्यसैले एनआरएनए युरोप संयोजकमा समेत दोस्रोपटक उठेको छु । यो संगठनबाट समेत मातृभूमिको लागि धेरै गर्न सकिने सम्भावना छ । तर, नयाँ अवधारणा र नयाँ योजना ल्याउने कला र जाँगरको आवश्यकता हो । एनआरएनए आफैँले जन्माएकोले अति नै माया लाग्छ । त्यतिबेला युवराज गुरुङ, जानकी गुरुङ, रवीन्द्रमान श्रेष्ठ, रजनी प्रधान, सुवास जोशीलगायतका थुप्रै साथी मिलेर एनआरएनको बेल्जियम शाखा खोल्यौँ र नेपाली संस्कृति चिनाउन नेपाल महोत्सवको सुरुवात गऱ्यौं। सांस्कृतिक, खेलकुद र शैक्षिक कार्यक्रममार्फत दोस्रो पिँढीलाई समेट्ने अवधारणासमेत ल्यायौँ । हामीले त्यसबेला राम्रा योजना बनाएका थियौँ, तर सोचेजस्तो साथ पाएनौँ ।

० जनसम्पर्क समितिमा किन तपाईंलाई असफल चाणक्य भन्दछन्, के भन्न खोजेका हुन् साथीहरूले ?

– अरूले मलाई नबुझेका हुन् वा मैले नबुझेको हुँ थाहा भएन । हाम्रा केही अभियान सफल पनि भए भने केही प्रयास अझै पूर्ण सफल भइसकेका छैनन् । अभियानहरू अहिलेसम्म सफल नहुनुमा मेरो मात्र दोष छैन ! संगठन पनि एउटा शरीर जस्तै रहेछ । शरीरमा विभिन्न संक्रमण भइरहन्छन् । रोगले आक्रमण गरिरहन्छ । मानिसले शरीरलाई संक्रमणबाट बचाउन पौष्टिक आहार, सरसफाइ वा औषधिमूलोको सहारा लिँदै आइरहनुपरेको छ । प्रदूषणबाट शरीरलाई जोगाउनुपरेको छ । सबैले आफ्नो रोग पहिचान गऱ्यौं भने संगठनभित्रको रोग निको पार्न सकिन्छ । हाम्रो संगठन मनोरोगको सिकार भएको हो, त्यसबेलादेखि अहिलेसम्म । संगठनभित्र हुने विचारको द्वन्द्वलाई संक्रमणबाट बचाउन सक्ने कार्यकर्ता हुन् । त्यसको अर्को औषधि नेतृत्वको सोचमा रूपान्तरण पनि हो । अब धेरै विदेश बस्ने रहर पनि छैन, ०२५ सालभित्र नेपाल फर्किने सोच बनाएको छु । बसुन्जेल जहाँ बसिन्छ त्यसबारे सकेजति गरिएकै छ ।

प्रस्तोता : डिल्ली अम्माई

प्रतिक्रिया