मन राख्ने ठाउँ नै भएन बरै..!

मन राख्ने ठाउँ नै भएन बरै..!


■ बलराम सिलवाल

यो संसारमा कसैको चित्त बुझाउन सकिँदोरहेनछ । एकजनाले मलाई सोधेथ्यो, ‘लिङ्कनले किन दाह्री पालेको ?’ यदि लिङ्कनले दाह्री नपालेको भए पक्कै सोध्नेथ्यो, ‘लिङ्कनले किन दाह्री नपालेको होला ?’

जर्ज वासिङ्टनले अमेरिकालाई सन् १७७६ मा स्वतन्त्र तुल्याउँदा नेपालमा प्रतापसिंह शाहले शासन गर्थे । अर्थात् अमेरिकी जङ्गली हुँदाका बेला हामी नेपाली सभ्य थियौँँ । जंगबहादुरले शासन गर्दा अस्ट्रेलियालीहरू सन् १८५० ताका बर्बर थिए । उनीहरूले सभ्यताको चुली चुमे, हामी यथास्थितिमा छौँ। हाम्रोमा राजनेताको अभाव, नेताको ओइरो, मुलुकको कायाकल्प हुन सकेन । प्रणाली फेरियो, मनस्थिति यथावत् रह्यो । जंगबहादुरले बेलायत भ्रमण गरेताका लिना नामक नगरबधुलाई एक रातको तीन लाख पाउण्ड बुझाएको भनी इतिहासकारहरू दाबी गर्छन् । तत्कालीन परिवेश म्लेच्छसितको लसपसप्रति असहिष्णु थियो । करवीर खत्रीले जंगको लसपसबारे नेपाली समाजमा फुकिदिएकोले जंगले प्रतिकूलताको सामना गर्नुपऱ्यो । मुलुकको सर्वोपरी हितभन्दा आफ्नो व्यक्तिगत हितको निम्ति सम्पत्ति बटुल्ने होड राणाकालमा थालनी भयो ।

जंगपश्चात् शमशेरहरू यस मामलामा प्रबल देखिए । हुँदाहुँदा सातसाले क्रान्तिपछिका नेताहरूले जनताको विकासभन्दा आफ्नो विकासमा ध्यान दिए । पञ्चायत फेरियो, प्रजातन्त्र आयो । नेताको मानसिकता फेरिएन । प्रजातन्त्र गयो, गणतन्त्र आयो, समस्या ज्युँकात्युँ । कति तथाकथित क्रान्ति भयो, नेता मोटाए जनता दुब्लाए, शहीदहरूलाई रुवाए । नेताहरू विदेशमा बरालिएका छन् । नेपाललाई सिङ्गापुर/स्विटजरल्यान्ड बनाउछु भनी फुइँ लगाउँछन् । म त भन्छु– नेपाललाई नेपाल रहन देऊ, सिङ्गापुर/स्विटजरल्यान्ड बनाउनुपर्दैन ।

राणाशासन पतन भए पनि चाकडी यथावत् छ । धेरैजसो मान्छे व्यक्तिगत स्वार्थको लागि चाकडी बजाउँछन् । व्यवस्था फेरियो, संस्कार फेरिएन । हिजोका जङ्गलीले यतिबिघ्न फड्को मारिसक्दा आज नेपाली उस्ताकोउस्तै ।

राणाशासन पतन भए पनि चाकडी यथावत् छ । धेरैजसो मान्छे व्यक्तिगत स्वार्थको लागि चाकडी बजाउँछन् । व्यवस्था फेरियो, संस्कार फेरिएन । हिजोका जङ्गलीले यतिबिघ्न फड्को मारिसक्दा आज नेपाली उस्ताकोउस्तै । संस्कार र मानसिकता नफेरिएसम्म हजारौँ त के लाखौँ वर्षसम्म पनि नेपालले प्रगति गर्न सक्नेछैन । सर्वप्रथम आफूलाई बदलौँ अनि मात्र अरूलाई बदल्ने काम थालौँ । आफूलाई पाइप चाहियो भने सरकारी पुलको पाइप निकालेपछि फाइदैफाइदा, किन्नुपरेन । आफू फोहोर गर्ने अनि सरकारले फोहोर उठाएन भनेर सत्तोसराप गर्ने कस्तो गजवको मनोवृत्ति ! यस्ता दृष्टान्तहरू कतिकति ! आफ्नो घरमा स्वास्नी–छोराछोरीको झगडा मिलाउन सक्या छैन, युरोप–अमेरिकाको गुड्डी हाँक्छ । नेपालीले खुट्टा तान्नुको साटो हात तान्ने अभ्यास गरेको भए यस्तो दयनीय दिन देख्नुपर्थेन ।

सरकार आइफामा करोडौँ खर्च गर्न तम्सिन्छ, बेरोजगार व्यवस्थापन गर्दैन । अर्काको छोरो मरोस् कि बाँचोस् रेमिट्यान्स ओइरेको छ । आफू बने भइगो, अर्कोलाई किन बनाउनुपरेको छ र ? बेथितिविरुद्ध बोल्नेलाई धम्क्याएको छ । त्यस्तो हो भने लोकतन्त्र किन चाहियो र ? जनता पनि त्यस्तै छन् । नेताले संस्कार बिगाऱ्यो भन्दैमा हामीले आफ्नो संस्कार किन बिगार्ने ? च्यापसल/चोकचोकमा फोस्रा गफ गर्न, दारु पिउन, जुवातास खेल्न, अर्काको बद्ख्वाइँ गर्न मन पराउने भएपछि कसरी उँभो लाग्छ र ? नमस्कार पाउँदा गजकिन्छ, नमस्ते नपाउँदा फुत्तिन्छ । सतही कुरो गर्न जानेको छ, वैचारिक गाम्भीर्य एकथोपो छैन । दण्डहीनता, पापाचार, भ्रष्टाचार, अनाचार, दुराचार, व्यभिचार नूतन संस्कार बन्दो छ । व्यावहारिक छैन, सैद्धान्तिकले केही हुन्न ।

जो चोर उसको ठूलो स्वर । कर्तव्यच्युत छ, अरूलाई कर्तव्यको पाठ पढाउँछ । हाल जनता निराश छन्, विकल्प खोज्दाछन् । नेता धारेहात लगाउँदो छ । आफू जनतालाई निराश तुल्याउने अनि विकल्प खोज्यो भनेर सराप्नु हुन्छ र ? सर्वप्रथम नेताजीहरू आफू सच्चिनुपऱ्यो । आफू सात पुस्तालाई सम्पत्ति कमाउने, जनतालाई नागरिक हुन नदिएर दरिद्र तुल्याउने । म त भन्छु– जुन दिन नेपाली जनताले नेताको पुच्छर हुन छोड्छन् त्यही दिनबाट विकासको थालनी हुन्छ । करले ढाड सेक्यो, सुविधा केही छैन । करको दुरुपयोग देख्दा मन धरधरी रुन्छ । जनताले यचोचित कर तिरेर सरकारलाई सहयोग गर्नु कर्तव्य हुन्छ । कर तिरेपछि जनताले स्वास्थ्य, शिक्षा इत्यादि सुखसुविधा पाउनुपऱ्यो नि । युरोप–अमेरिकातिर राष्ट्रसेवकहरू नागरिकलाई कसरी सुखसुविधा दिनुपर्छ भनेर दत्तचित्त हुन्छन् । हामीकहाँ त उनीहरू लाठसाब पल्टिन्छन् । विवादित नहुनुपर्ने संस्थाहरू विवादित भएको देख्दा ताजुब लाग्छ । अनि भन्नुस् त हाम्रो मन राख्ने ठाउँ कहाँ छ ? जति बखाने पनि हाम्रो पीडा कम भएको छैन । आजलाई मैजारो । अस्तु ।

[email protected]