एनआरएनए महिला उपाध्यक्षमा रन्जुको उम्मेदवारी

एनआरएनए महिला उपाध्यक्षमा रन्जुको उम्मेदवारी


■ राजन घिमिरे

उनको कर्मक्षेत्र अष्ट्रेलिया हो, तर पहिचान र उठवस भने विश्वभर छरिएर रहेका गैरआवासीय नेपालीहरू माझ छ । उनी अर्थात् रन्जु थापा वाग्ले, जो गैरआवासीय नेपाली संघसँग लामो समयदेखि आवद्ध रहँदै आएकी छिन् ।

संस्थासँग आवद्ध रहँदा पनि र नरहँदा पनि रन्जुले प्रवासी नेपालीहरूको हक–हितको पक्षमा आवाज उठाउँदै आएकी छिन् । त्यसैले त रन्जुको बारेमा खुलेर तारिफ गरिँदै भन्ने गरिन्छ– ‘गैरआवासीय नेपाली संघलाई चाहिने सशक्त ब्यक्तित्व हुन् रन्जु ।’

यिनै रन्जुले शुभचिन्तकहरूको साथ, सहयोग र सल्लाहलाई मध्यनजर गर्दै गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) को आगामी २०१९–२०२१ कार्यकालको लागि महिलातर्फको उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । यो अधिवेशन अक्टोबर १५ देखि १७ सम्म काठमाडौंमा आयोजना हुँदैछ ।

संघका पूर्वसचिव र प्रवक्तासमेत रहेकी रन्जु वाग्ले थापा सन् १९९५ देखि अष्ट्रेलियामा बस्दै आएकी छन् । उनले गैरआवासीय नेपाली संघको राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी अष्ट्रेलिया)मा महिला सशक्तिकरणको लागि महिला फोरम स्थापना गर्दै २००९ मा सोको नेतृत्व समेत गरेकी थिइन् । उनी सन् २००५ देखि नै संघसँग आवद्ध रहँदैआएकी छिन् ।

रन्जुले सन् २००९ देखि सन् २०११ को अवधिमा आफू महिला उपसंयोजक रहँदा महिला फोरम ३५ देशमा विस्तार गरेकी थिइन् । २००५ मा नै एनआरएनए एनसीसी अष्ट्रेलियाको संस्थापक उपाध्यक्ष भएकी थिइन् उनी । त्यसपछि २००७–२०११ सम्म आइसीसीको महिला उपसंयोजक रहिन् । २०११–२०१३ मा उनी आइसीसीको महिला संयोजक बनिन् भने २०१३–२०१५ मा सचिव र २०१५–२०१७ मा प्रवक्ताको रूपमा रन्जुले निभाएको भूमिका र क्रियाशीलताको निकै तारिफ हुने गरेको छ ।