युरोप महिला संयोजकमा बेल्जियमवासी योगिताको उम्मेदवारी

युरोप महिला संयोजकमा बेल्जियमवासी योगिताको उम्मेदवारी


■ राजन घिमिरे

यतिबेला यिनको कर्मक्षेत्र बनेको छ युरोप । यिनी अर्थात् योगिता थापा, बेल्जियममा राम्रै उठबस र वाहवाही छ उनको । पूरा युरोप र गैरआवासीय नेपाली संघसँग आवद्ध प्रवासमा रहेका नेपालीहरू माझ प्रभावकारी उपस्थिति जनाइरहेकी योगिताको कर्म, लगनशीलता र सक्रियताको खुलेरै प्रशंसा गर्ने गरिएको छ ।

युरोपको बसाई १३ वर्ष भैसकेको छ यिनको । यस यात्रामा संघर्ष र सफलताको स्वाद उनले चाखिसकेकी छन् । यही अनुभवले नै योगितालाई समाजसेवातर्फ अग्रसर र उत्साहित बनायो । यिनै योगिताले अब गैरआवासीय नेपाली संघको काठमाडौंमा अक्टोबर १५ देखि १७ सम्म आयोजना हुन लागेको नवौँ अधिवेसनमा युरोप महिला संयोजक पदमा उम्मेदवारी घोषणा गरेकी छिन् ।

‘मेरा अग्रज, समकालीन र मलाई साथ दिनुहुने सबै वर्ग, क्षेत्र, तह र तप्काका प्रवासमा रहनुहुने नेपालीजनकै सल्लाहलाई ध्यानमा राखेर उम्मेदवारी दिने निर्णय गरेकी हुँ’– योगिताले प्रष्ट पारिन् ।

गैरआवासीय नेपाली संघ बेल्जियमकी निवर्तमान उपाध्यक्ष योगिता समाज सेवा र गाह्रो–साह्रो पर्दा अगाडि बढ्ने महिलाको रूपमा स्थापित छिन् । उपाध्यक्ष हुँदा योगिताले निभाएको कर्तब्य र कुशल कार्यको आज पनि तारिफ हुने गरेको छ ।

योगिता समाजसेवा र विभिन्न क्षेत्रमा लामो समयदेखि लागि पर्दै आइरहेकी एक उत्साही महिला हुन् । बेल्जियममा होटल र रेष्टुरेन्ट ब्यवसायमा संलग्न योगिता प्रवासमा रहेका महिलाहरूको सम्मान र उनीहरूको सशक्तिकरणका निम्ति लागिपर्ने प्रतिबद्धता जनाउँछिन् । ‘महिलाहरूको वृत्ति–विकास र उहाँहरूले भोग्दै आउनुभएका समस्याहरू हल गर्न दिलोज्यानले लाग्ने छु’, उनको भनाई छ ।

बेल्जियममा आयोजित ‘टप मोडल २०१६’की फाइनलिष्ट योगिता मोडलिङ र सांस्कृतिक कार्यक्रमहरूमा पनि जमेरै सहभागिता जनाउँछिन् । ‘योगिता वास्तवमै मिहेनती र संघर्षशील नारी हुन् । उनको विजय र सफलता सबैको निम्ति सुखद पक्ष हो’, योगिताको बारेमा यस्तै चर्चा छ अहिले ।

हाल लुम्बिनी कपिलवस्तु विश्व अभियान बेल्जियमकी सचिव योगिता ‘मिस नेपाल युरोप’ आयोजना गर्ने तयारीमा जोडतोडका साथ लागिपरेकी छिन् । उनी नेपाली संस्कृत तथा सद्भभावना प्रतिष्ठानकी मानार्थ सद्भभावना दूतको पदले सम्मानित भैसकेकी व्यक्ति हुन् ।

प्रबासको ब्यस्त जीवन त्यति सरल र सहज छैन, अर्कोतिर आफ्नो ब्यवसाय पनि गर्नु पऱ्यो । अवस्था यस्तो हुँदाहुँदै पनि प्रवासमा रहनुभएका प्रवासी नेपालीहरूको हकहितको पक्षमा केही गर्न सकिन्छ कि भन्ने सोचका साथ अगाडि बढीरहेकी योगिताको अभियानको सफलताका लागि होस्टेमा हैंसे मिलाइदिने कि ?