‘गणतन्त्र’लाई कहाँबाट खतरा : प्रचण्डले खोले पोल

‘गणतन्त्र’लाई कहाँबाट खतरा : प्रचण्डले खोले पोल


■ नकुल काजी

युगान्तक परिवर्तनपछिको परिदृश्यमाझ यसबेला देशमा शासकीय खतरा मडारिरहेको प्रतीत हुन थालेको छ । मूलधारका जनतामा उर्लिरहेको यथार्थपरक असन्तोषलाई शमन गर्ने मनोवैज्ञानिक रणनीतिका साथ शासकीय शिविर अवतरित भइरहनु त्यसको प्रतीति हो ।

शासनका तीनै तहमा अभूतपूर्व वर्चश्वशाली हुँदाहुँदै पनि उनीहरू किन लज्जास्पद किसिमबाट दोहोरो मापदण्ड अख्तियार गर्दै छन् ? एकातर्फ उनीहरू देशको सनातनी धरातलीय यथार्थसँग लगभग अढाई शताब्दी जोडिएको परम्परागत शक्तिलाई ‘चिहानमा समाधिस्थ’ पनि भन्छन् भने विद्रोहमा उतारुलाई ‘मठ्ठीभर तत्व’ पनि भन्दै छन् । अर्कातर्फ तिनै दुईबाट ‘प्राप्त उपलब्धि’माथि ‘खतरा बढ्यो’ भन्दै सत्तारोहणयता कहिल्यै महत्व नदिने गरेका पक्षहरूसँग पनि गुहार माग्नुपर्ने हतास मनस्थितिमा उत्रिँदै छन् ! परन्तु, यी र यस्तै प्रकृतिका हजारौँ प्रश्नको जवाफ नागरिक जीवनका सबै तप्का र तहले खबरदारीका रूपमा दिइआएकै छ । सत्ताको मात लागेका कानले नसुन्नु र आँखाले नदेख्नुबाट उत्पन्न आत्मघाती परिणामको दोष परम्परागत संस्था र विद्रोहमा उतारुहरूका थाप्लामा खन्याएर आफू ओभानो हुनु त, बुझ्नेहरूका लागि स्वयम् शर्मनाक हुँदै हो ।

वर्तमानमा नेपाल सरकार बनेको नेकपाको सरकारले जतिजति दिन खाँदै जाँदै छ, उतिउति नै उसकाप्रति मूलधार र इतरधारका जनतामा बढ्दै गएका असन्तोषलाई राज्यले सम्बोधन गर्ने आशा समान अनुपातमा मर्दै गएको छ । यो के मानेमा भने ‘जनता’को परिभाषामा पर्नेहरू जीवन–दैनिकीमा भोग्नु परिरहेका कठिनाइ र देशमा छ्यालब्याल बेथितिबाट समान रूपमा आक्रान्त छन्; चाहे तिनीहरू मूलधारका हुन् वा इतरधारका, ‘जनता’ आखिर जनता नै हुन् ।

शासनसत्ताधारीमा सम्पोषित जनविश्वास शासनसत्ताधारीकै सैद्धान्तिक विधि–पद्धतिप्रतिको विचलनका कारण गणतन्त्रको भविष्य संदिग्ध बन्दै गएको अवस्थालाई नेकपा अध्यक्ष ‘प्रचण्ड’ले लगभग स्पष्ट पार्दै भनेका छन्, ‘पूर्वीयुरोपमा विदेशी हस्तक्षेप भएर वा कसैले सशस्त्र सङ्घर्ष गरेर सत्ता उल्टिएको होइन, कम्युनिस्ट नेताहरू राजा–महाराजा जस्तै हुँदै गएपछि जनताले लखेटेका हुन् । त्यस्तै प्रवृत्ति बढ्दै गयो भने पूर्वीयुरोपमा जस्तै अवस्था (यहाँ पनि) आउन सक्छ ।’

परिवर्तनलाई जनधरातलमा प्रतिबिम्बित गराउने उत्तरदायित्वमा पुगेका नेता–अगुवाहरूका अनेकानेक प्रतिबद्धता उनीहरूकै समृद्धिमा स्खलित भएका, आफ्ना अपेक्षामाथि कुठाराघात भइरहेको र जीवन–जीविका अस्तव्यस्त हुँदै गएका आदि अवस्थाबाट जनता विक्षुब्ध, उद्विग्न र विदिर्ण बन्दै गएका छन् । यस्तो अवस्थाले अग्रगमनलाई साथ दिन्छ कि प्रतिगमनलाई ?– यो प्रश्नको जवाफ त पार्टी एकीकरण भएको १५ महिनापछि बल्ल अध्यक्षको अनुभूतिप्राप्त, हाल सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनको पहिलो अध्यक्षीय चेतावनीमा भाँती पुऱ्याएरै दिएका छन् । उनले कम्युनिस्टहरू सत्तामा पुगेपछि राजा–महाराजा भएको ठान्दै र बुर्जुवा बन्दै जाने, आफ्नो सैद्धान्तिक सारसापेक्ष बाटो छोड्ने र सर्वहारा वर्गलाई चटक्क बिर्सिएर उपेक्षाको किनारमा छोडी आफू मालिक (शासक) बनेको दम्भले प्रेरित भई विलासी बन्दै गएकै दुर्मतिका कारण पूर्वीयुरोप र सोभियत रुसतिर कम्युनिस्ट शासन निस्तेज हुँदै गई ढलेका उदाहरण ललकारेका छन् ।

शासनसत्ताधारीमा सम्पोषित जनविश्वास शासनसत्ताधारीकै सैद्धान्तिक विधि–पद्धतिप्रतिको विचलनका कारण गणतन्त्रको भविष्य संदिग्ध बन्दै गएको अवस्थालाई नेकपा अध्यक्ष ‘प्रचण्ड’ले लगभग स्पष्ट पार्दै भनेका छन्, ‘पूर्वीयुरोपमा विदेशी हस्तक्षेप भएर वा कसैले सशस्त्र सङ्घर्ष गरेर सत्ता उल्टिएको होइन, कम्युनिस्ट नेताहरू राजा–महाराजा जस्तै हुँदै गएपछि जनताले लखेटेका हुन् । त्यस्तै प्रवृत्ति बढ्दै गयो भने पूर्वीयुरोपमा जस्तै अवस्था (यहाँ पनि) आउन सक्छ ।’ अर्थात्, अध्यक्ष प्रचण्डले आफ्नो पार्टीका नेता–कार्यकर्तालाई आफ्नो मातृ–सिद्धान्त र निर्वाचनलगायतका अवस्थामा जनतामा सिञ्चित प्रतिबद्धताहरू नबिर्सन परोक्ष रूपमा सुझाउँदै यही कुराको कमी नै गणतन्त्रको निम्ति खतरा हो भनेर व्याख्या गरेका छन् ।

नेकपा अध्यक्ष प्रचण्डको चञ्चल राजनीतिक स्वभाव र आफ्ना विचारलाई पलपलमै काँचुली फेराउने आनीबानीलाई नजरअन्दाज गरेर यसपटक उनले भनेका कुरा मात्र गम्नु हो भने वर्तमान नेपालको सत्यलाई उनले इमानदारीसाथ समूल उजागर गरेको ठहर हुन्छ । र, यसबाट अरूहरूले दोहोरो मापदण्डमा झुलाउँदै फर्माइरहेका ‘खतरा’लाई यथार्थको धरातलमा गलत साबित गर्न तथा कञ्चन सत्य स्थापित गर्न बलियो मद्दत मिलेको यही कुरा भनिरहेका विश्लेषकहरूले अनुभूत गरेका छन् ।

यो पनि हेर्नुहोस् –

रवि प्रकरणका उम्दा परिणामहरू
https://ghatanarabichar.com/163926