अण्डाको उपभोक्ता मूल्य प्रतिगोटा १२ रुपैयाँ, बढी लिए कारवाही

अण्डाको उपभोक्ता मूल्य प्रतिगोटा १२ रुपैयाँ, बढी लिए कारवाही


नेपाल दाना, अण्डा, कुखुरा वितरक सङ्घले अण्डाको मूल्यमा एकरुपता कायम गरेको छ । यसअघि विभिन्न मूल्यमा अण्डा बिक्री वितरण हुँदै आएकामा मंगलबारदेखि अण्डाको मूल्यमा एकरुपता गरी उपभोक्ता मूल्य प्रतिगोटा १२ रुपैयाँ कायम गरिएको छ ।

सङ्घको केन्द्रीय समितिद्वारा आयोजित छलफलमा अण्डाको मूल्य तोकेको सङ्घका केन्द्रीय अध्यक्ष तेजनारायण पाण्डेले जानकारी दिए । हरेक शहरी क्षेत्रमा सोही मूल्यमा अण्डा बिक्री वितरण गर्नसमेत व्यवसायीलाई अनुरोध गरिएको छ । कायम गरिएको मूल्यमा अण्डा बिक्री वितरण नगर्नेलाई कारवाही गरिने सङ्घले जनाएको छ ।

सङ्घका वरिष्ठ उपाध्यक्ष विनोद पोखरेलले मूल्यमा एकरुपता ल्याई किसानलाईसमेत फाइदा हुने तथा उपभोक्ता नठगिउन् भन्नका लागि अन्तक्र्रिया गरी नयाँ मूल्य निर्धारण गरिएको बताए । यस अघि अण्डा प्रतिगोटा १५ रुपैयाँ सम्ममा बिक्री हुँदै आएको थियो ।

कायम भएको मूल्य लागू गर्न व्यवसायीको तर्फबाट सूर्यमान शाक्य र अण्डा उत्पादक किसानको तर्फबाट पिताम्बर सञ्जेलको संयोजकत्वमा अलग–अलग समिति गठन गरिएको अध्यक्ष पाण्डेले जानकारी दिए । नेपाल पोल्ट्री महासङ्घका उपाध्यक्ष अर्जुन अर्यालले सबै मिलेर मूल्यमा एकरुपता गरिएको र यसलाई कार्यान्वयन गर्न सबै पक्ष लाग्नुपर्नेमा जोड दिए । अण्डाको बजार अनुगमन समितिका संयोजक मदन पोखरेलले देशका सबै व्यवसायी, किसान तथा वितरकसँग छलफल गरेर निष्कर्ष निकालिएको बताए ।

पोल्ट्री व्यवसायी मञ्चका उपाध्यक्ष रघुनाथ भट्टले मूल्य निर्धारण मात्रै समस्याको समाधान नभइ राज्यले निर्धारण गरेअनुसार उत्पादित अण्डा बिक्री वितरणको जिम्मेवारी लिनुपर्नेमा जोड दिए । कार्यक्रममा नेपाल दाना उद्योग सङ्घका केन्द्रीय अध्यक्ष रवीन पुरीले सबै मिलेर समस्याको समाधान खोज्नुपर्नेमा जोड दिए ।