चरम जातीयता र दलीयतामा आधारित चुनावीे परिणाम

चरम जातीयता र दलीयतामा आधारित चुनावीे परिणाम


■ प्रकाश केसी, लण्डन

गैरआवासीय नेपाली सङ्घ बेलायत शाखाको २०१९–२०२१ का लागि भएको निर्वाचनको परिणामपछि आइतबार (५ असोज) अल्डरसटस्थित इम्पायर हलमा नतिजा घोषणा तथा शपथग्रहण कार्यक्रम सम्पन्न भएको छ । लगभग १४ हजार पञ्जीकृत सदस्य भएको बेलायतमा लगभग ९ हजारले १३ वटा निर्वाचन स्थलमा भोट हालेका थिए, जसमा ४ हजार ५ सय ५१ मत ल्याएर श्रीमती पुनम गुरुङले संघको नेतृत्वको भार लिएकी छिन् । उनले प्रतिद्वन्द्वी शेरबहादुर सुनारलाई २ सय ३ मतान्तरले हराएकी थिइन् ।

गैरआवासीय नेपाली सङ्घमा नहुने भनिएको जातीय, दलीय, वर्गीय तथा क्षेत्रीय आधारमा भोट मात्र नमागी यसपटक प्यानल नै बनाएर भोटको अपिल गरिएको थियो । जम्मा ७४ पदका लागि एक सय १७ उम्मेदवारहरू निर्वाचनमा उभिएका थिए, तर फाटफुटबाहेक प्यानलका लागि भोट हालिएकोले पुनम प्यानलका उम्मेदवारहरूको जित भएको छ तथापि शेरबहादुर सुनारको प्यानल (जसलाई यहाँ समावेशी प्यानल भन्ने गरिएको छ) बाट नौजना उम्मेदवारले विजय हासिल गरेका छन् ।

संघको नयाँ कार्यसमितिका लागि आएको चुनावी नतिजालाई घोषणा गर्ने र विजयी उम्मेदवारहरूलाई शपथग्रहण गराउन राखिएको आइतबारको कार्यक्रममा शेरबहादुर सुनार पक्षको उपस्थिति रहेको थिएन, न त त्यो प्यानलबाट विजयी उम्मेदवार नै शपथ लिन उपस्थित भए । १३ निर्वाचन स्थलहरूमध्ये बेजिङस्टोकमा धाँधली भयो भनेर शेरबहादुर पक्षले लिखित उजुरी दिएको थियो, जसको कारणले निर्वाचन समापन भइसकेपछि पनि पाँच दिनसम्म मत गणना हुन सकेको थिएन । पुनः मतदान हुनुपर्ने माग राखेर शेरबहादुर पक्षले एकातिर दबाबको सिर्जना गरेका थिए भने आगामी अक्टोबरमा काठमाडौं हुन गइरहेको विश्व अधिवेशनलाई प्रभाव पार्न सक्ने सम्भाव्यतालाई ध्यानमा राखी केन्द्रबाट जसरी भए पनि मिलाउन बेलायत च्याप्टरमा अर्को दबाब दिइएको बताइएको थियो । आखिर बेजिङस्टोकको बाहेक अन्य स्थानको मतगणना गर्ने र सो निर्वाचनस्थलको पुनः मतदान गर्ने सहमतिमा शेरबहादुर सुनार पक्ष मतगणनामा सामेल भएको थियो ।

आखिर के भयो जसले गर्दा सहमतिमा सहभागी भइसकेका शेरबहादुर सुनार पक्षको अनुपस्थिति रह्यो त शपथग्रहणको कार्यक्रममा ? शेरबहादुर सुनार दुःख व्यक्त गर्दछन्, ‘बेलायतमा रहेका नेपाली समुदायमा अल्पसङ्ख्यक समुदायमा पर्नु सबैभन्दा ठूलो हारको स्थिति रहेछ भन्ने आज आएर थाहा भयो । आधा जीवन र आधा सम्पत्ति गैरआवासीय नेपाली सङ्घको लागि खर्चेर आखिरमा गएर अति नै हीनता हातमा लाग्यो । १३ वटा क्षेत्रमध्येबाट आठवटामा जितेर पनि हार्नुपरेको छ । बेजिङस्टोकको मतलाई नगन्ने र त्यहाँ फेरि मतदान गराइने सर्त गरिएकोमा अन्त्यमा केन्द्रबाट महासचिव बद्री केसी तथा यहाँबाट प्रमुख संरक्षक डम्बर गुरुङ, पूर्वअध्यक्ष सूर्य गुरुङ, केन्द्रीय पर्यवेक्षक रामशरण सिंखडा आदिबाट ठूलो दबाब आयो ।

हाम्रो असहमतिमै बेजिङस्टोकको मतलाई गनियो, जहाँ हाम्रा प्रतिनिधिहरूले धाँधली भएको भन्दै बारम्बारभन्दा पनि सो स्थलको निर्वाचन आयुक्त आएर समस्याको समाधान गर्न नआई त्यहाँ मनमानी हुन दिएपछि हाम्रा सबै प्रतिनिधि सो स्थलबाट तीन बजे नै बाहिरिएका थिए, जसको अनुपस्थितिमा त्यहाँ एकछापे भोट हालियो । हाम्रा प्रतिनिधिले हस्ताक्षर गर्न नमानेपछि हाम्रो क्षेत्र भनी हल्ला चलाइएको ह्यारोको निर्वाचन स्थल, जहाँ शान्तिपूर्वक चुनाव भइसकेको थियो, पुनम गुरुङ समूहका प्रतिनिधिले हस्ताक्षर गरेनन् । जब कि ह्यारोमा खसेको ११५२ भोटमध्ये मैले जम्मा ६ भोटको अन्तरले विजय हासिल गरेको थिएँ भने बेजिङस्टोकमा हाम्रो सहमतिबिना भएको मत गणनामा मलाई ५३५ मतमध्ये जम्मा ८२ भोट परेको बताइएको थियो ।

मैले समाजका अग्रजहरूलाई हारगुहार गरेँ, केन्द्रमा उजुरी गरेँ, गैरआवासीय नेपाली सङ्घका केन्द्रीय उपाध्यक्ष कुल आचार्यजी जो यहाँ हुनुहुन्छ लाई हारगुहार गरेँ, तर मलाई कतैबाट सहयोग भएन, समाजलगायत सङ्घबाट नै म दबाइएँ । साह्रै दुःख लाग्यो ।’

व्यापक रूपमा जातीय तथा दलीय आधारमा खेल खेलिएको गैरआवासीय नेपाली सङ्घको बेलायतमा भित्रभित्रै चलखेल गर्ने केही व्यक्तिहरूले आगामी अक्टोबरमा काठमाडौंंमा हुन गइरहेको केन्द्रीय चुनावको बेलायत शाखाको निर्वाचनबाट नै सो राजनीतिको आधार खडा गर्दै गइरहेका छन् । जसरी भए पनि जिताएरै छाडियो भनेर हर्षोल्लास गरिरहेका छन् । कुमार पन्तलाई जिताउन यहाँ कम्युनिस्टहरू लागिपरेका छन् भने कुल आचार्यलाई सोही किसिमले जिताउन अर्को पक्ष अर्थात् काङ्ग्रेसीहरू लागेका छन् ।

केन्द्रीय उपाध्यक्ष भएका कुल आचार्यले केन्द्रको तर्फबाट सशक्त रूपले रुलिङ गर्ने काम गरेनन् । आफ्नो चुनावी अभियानको अभीष्टलाई उनी कुनै पनि हालतमा गलत किसिमले प्रभावित पार्न नचाहेको स्पष्ट देखिन्थ्यो भने गैरआवासीय नेपाली सङ्घको बेलायत शाखाका तत्कालीन अध्यक्ष योगकुमार फगामीमगर जसको काँधमा नयाँ कार्यसमितिको संरचना तयार गरी पदाभार सुम्पने भार थियो ले आईसीसी सदस्यको उम्मेदवारी दिएकोले पनि आफ्नो तटस्थता वा निष्पक्षता गुमाइसकेका थिए । त्यसमाथि बेलायत शाखाका प्रमुख संरक्षक डम्बर गुरुङलाई एक तप्काका समूहहरूबाहेक कसैले पक्षपाती होइनन् भन्न सक्दैनन् ले एकोहोरो र दबाबिलो प्रभाव पारेका थिए । जसको निचोडमा शेरबहादुर सुनार पक्षको पराजय भएको थियो ।

समाजको लागि सेवा गर्न यस्तो व्यापक अनि सशक्त किसिमको सङ्घर्षको उदाहरणमध्येको बेलायतको चुनावी परिणाम मुख्य हुन सक्छ । आफ्ना प्यानलका नौजनालाई एक कार्यक्रम गरेर तिनको विजयको खुसियाली मनाई तिनलाई कार्यसमितिमा सामेल हुनका लागि अनुरोध गर्ने कार्यक्रम बनाएका समाजसेवी तथा पूर्वउपाध्यक्ष शेरबहादुर सुनारको यसपालि उनका आफ्नै समर्थकले नै भेलामा चिच्याएर…. ‘कामी भनेर हेप्ने तिमीहरूले, यो संस्था तिमीहरूको पेवा हो ?’ भन्दा उनका मानको ठूलो मर्दन भएको छ, त्यो पनि बेलायतजस्तो देशमा जहाँ भेदभावविरुद्धको नीति कडा छ ।

तर, राम्रा पक्षहरू पनि छन् । धेरै पक्षमा यो वर्षको गैरआवासीय नेपाली सङ्घको बेलायत शाखामा नयाँ थालनी, वा नयाँ पन तथा इतिहासको सिर्जना भएको छ । बेलायतमा पहिलोपटक सङ्घको नेतृत्वका लागि एक महिला सशक्त रूपमा प्रत्याशी रहिन् भने यही साल संसारभरका गैरआवासीय नेपाली सङ्घका च्याप्टरहरूमध्ये सबैभन्दा धेरै साधारण सदस्य भएको देशमा गनिएको छ बेलायत । पहिलोपटक १९ जना महिलाको सहभागिता कार्यसमितिमा हुने भएको छ, त्यो अत्यन्तै खुसीलाग्दो देखिएको छ । दुःखलाग्दो चाहिँ यो भएको छ कि अघोषित रूपमा गैरआवासीय नेपाली सङ्घको बेलायत शाखा टुक्रिएको छ र सार्वजनिक रूपमा बेलायती नेपाली समुदायमा जातिका आधारमा भेदभाव भएको छ ।