प्रहरीको नागरिक सुनुवाईमा विद्यार्थीको प्रश्न- ‘प्रहरी समयमा घटनास्थल किन आइपुग्दैनन् ?’

प्रहरीको नागरिक सुनुवाईमा विद्यार्थीको प्रश्न- ‘प्रहरी समयमा घटनास्थल किन आइपुग्दैनन् ?’


■ हेमशंकर सिंह, राजविराज

प्लस टु पढ्दै गरेका एक विद्यार्थीले प्रहरीसँग निर्धक्क साथ प्रश्न गरे- कुनै पनि घटना भइरहेको बेला जानकारी गराउँदासमेत प्रहरी समयमा किन घटनास्थल आइपुग्दैनन् ?

पछिल्तिर बसेर ती विद्यार्थीले प्रश्न गर्दैगर्दा अघिल्तिरका सहभागीहरु पछाडि फर्केर हेर्न थाले । त्यसरी निर्धक्क भई प्रहरीसँग चोटिलो प्रश्न गर्ने विद्यार्थी को हुन् ? उनी थिए, राजविराज–७ का सन्तोष बास्तोला । सन्दर्भ थियो, प्रहरीको नागरिक सुनुवाई । आफ्नै छिमेकमा घटेको एक घटनाको दृष्टान्त सुनाउँदै उनले भने– ‘मेरै घर छेउमा श्रीमान श्रीमतीबीच झगडा भइरहेको थियो, मैले नै प्रहरीको १०० नम्बरमा कल गरेँ । तर, घटना भएको आधा घण्टापछि मात्र प्रहरी आइपुग्यो ।’

जिल्ला प्रहरी कार्यालय सप्तरीले आइतबार दिउँसो सदरमुकाम राजविराजको शिव मन्दिरको मैदानमा आयोजना गरेको नागरिक सुनुवाई कार्यक्रमका अधिकांश सहभागीहरुले भने सवारी चेकजाँचको नाममा प्रहरीले मोटरसाइकल तथा चारपाङ्ग्रे गाडीहरुलाई दुःख दिने गरेको गुनासो पोखे । मदिरा बिक्रीको समय निर्धारण गरिए पनि निमुखाको पसल समयमै र टाठाबाठाको पसल राती अबेर मात्र बन्द हुने गरेको गुनासो समेत कतिपयले पोखे । एक सहभागीले त प्रहरीको मोटरसाइकलमा गस्ती गर्ने टाइगर टोलीले पसले र युवाहरुसँग बसेर जाँडरक्सी समेत सेवन गरी टाठाबाठालाई छुट दिनुका साथै निमुखाको घाँटी निमोठ्ने गरेको आरोप लगाए ।

कार्यक्रममा सहभागी कपडा ब्यवसायीसमेत रहेका नागरिक समाजका कार्यवाहक अध्यक्ष थानसिंह भन्सालीको ब्यथा नितान्त ब्यवसायिक थियो । भारतीय सीमावर्ती बजारका कारण जिल्लाको ब्यापार सुकेको उनले दुःखेसो पोखे । उनले भने- ‘जिल्लाभरका उपभोक्ताहरु उपभोग्य सामग्री खरिद गर्न पारीपट्टि नै जान्छन् । यहाँको ब्यापारीको ब्यापार कसरी चल्छ ?’

सीमाक्षेत्रमा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई बिहे र श्राद्धको निम्तो कार्ड देखाई लाखौँको सामान तस्करी भई भित्रिने गरेको खुलासासमेत उनले गरे । उनले बिलौना गर्दै स्थानीय प्रशासनसँग भने– ‘राज्यले राजश्व उठाओस्, तर हामीले ब्यापार गर्ने वातावरण बनाइदेओस् ।’

नेकपाका प्रदेश कमिटी सदस्य सुखराम यादवले लागु औषध नियन्त्रण संगै घरेलु मदिरा नियन्त्रण अभियानलाई पहिलो प्राथमिक्तामा राख्न सुरक्षा निकायसँग आग्रह गरे । राजविराज नगरमा दिनहुँ जथाभावी गाडि पार्किङ्ग गरी हुने गरेको सडक अतिक्रमणका कारण भईरहेको ट्राफिक जामको स्थितीको अन्त्य गर्न समेत उनले आग्रह गरे ।

यसैगरी, ग्रिन नेपालका अध्यक्ष खेलानन्द दासले नगरको सडकहरुमा जेव्रा क्रसिङको ब्यवस्था गर्न माग गरे । सवारी साधनको चेक जाँच गरेर जरिवाना असुल्ने भन्दा पनि नागरिकको चेतना बढाउने काममा जोड दिन समेत उनले सुझाव दिए ।

सहभागीहरुको जिज्ञासा मेट्दै प्रमुख जिल्ला अधिकारी सुनिल खनालले प्रहरीले झुटो मुद्दा नलिने गरेको र नागरिक समाज वा जनप्रतिनिधिको प्रभावमा परेर काम नगर्ने गरेको धारण ब्यक्त गरे । सीमित साधन श्रोत र जनशक्तिको अभाव झेलेर पनि सुरक्षाकर्मीले आफ्नो जिम्मेवारी वहन गरिरहेको भन्दै उनीहरुलाई थप जिम्मेवार बनाउन नागरिक समाजले समेत सहयोगीको भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

जिल्ला प्रशासन कार्यालयभित्रै बिचौलिया बस्दै आएको स्वीकार गर्दै उनले भने– ‘मैले मेरो कार्यालयबाट बिचौलिया वाहिर गरेँ, मालपोत कार्यालय पुगेर समेत कार्यालय परिसरबाट लेखापढि ब्यवसायी र बिचौलिया बाहिर गर्न निर्देशन दिएको छु ।’

नागरिकको सहयोग विनाबजार अनुगमन प्रभावकारी हुन नसक्ने भन्दै उनले भने– ‘बजारमा सामान खरिद गर्दा विल माग्नोस्, बढि पैसा लिन्छ भने हामीलाई भन्नोस् । त्यस्ता ब्यापारीलाई कारवाहीको दायरामा ल्याइने छ ।’

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले प्रहरीमा आन्तरिक सुद्धिकरण आवश्यक रहेको स्वीकार गरे । उनले भने– प्रहरी विस्तारै सुध्रिँदै छ तर, प्रहरीहरुको ब्यवसायिक क्षमता वृद्धि गर्न जरुरी छ । प्रहरीकहाँ आउने पीडितहरुसँग आफुहरुले पीडितमैत्री ब्यवहार गरिरहेको दाबी समेत उनले गरे ।

जिल्लामा हुने अपराधमध्ये ८० प्रतिशत अपराध लागुऔषध दुब्र्यसनकै कारण हुने गरेको भन्दै उनले लागुऔषध नियन्त्रणका लागि परामर्श सेवामा जोड दिने बताए ।

सप्तरीमा झुट्टा मुद्दा ठुलो समस्या रहेको भन्दै उनले भने– ‘कानुनी प्रावधानअनुसार प्रहरीमा आउने सबै जाहेरी दर्ता गर्ने हो भने थेग्न सक्ने अवस्था नै छैन । हामीसँग सीमित साधन र श्रोत छ, यहाँ त जाहेरी दिने ब्यक्तिबाटै अनुसन्धान अगाडि बढाउनु पर्ने स्थिति छ ।’

अपराधमा राजनीतिकरण र राजनीतिमा अपराधीकरण प्रदेश २ मै रहेको भन्दै उनले भने– ‘अपराध, अपराधी र तस्करविरुद्ध कम्मर कसेर म काम गर्छु ।’

प्रमुख जिल्ला अधिकारी सुनिल खनालको अध्यक्षतामा सम्पन्न नागरिक सुनुवाई कार्यक्रममा जिल्ला समन्वय समिति सप्तरीका संयोजक प्रभाकर यादव, राजविराज नगरपालिकाका प्रमुख शम्भु यादव, अन्तरपार्टी महिला संजालकी अध्यक्ष सुनिता साह, अधिवक्ता सुखदेव चौधरी र मिरा देव, लायन्स क्लवका अध्यक्ष शंकर शारडा, कृष्ण सवरण गाउँपालिकाका वडा अध्यक्ष तेजनारायण यादव, संचारकर्मी हेमशंकर सिंह, महादेवा गाउँपालिकाका वडा सदस्य हरिनारायण यादवलगायतले जिल्लाको शान्ति सुुरक्षा, चोरी तस्करी, लागु औषधको ओसार पसार र सेवन लगायतका विषयमा प्रहरी प्रशासनको ध्यानाकर्षण गराएका थिए ।