सोहारमा नेपालीले मनाए संविधान दिवस

सोहारमा नेपालीले मनाए संविधान दिवस


■ आरके श्रीवास्तव, ओमान

ओमानको सोहारमा बस्ने नेपालीहरूले संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६ मनाएका छन् । नेपालको संविधान २०७२ चार वर्ष पुगेको अवसरमा २१ सेप्टेम्बर २०१९ शुक्रबारका दिन क्लाउड क्रस ट्राभल्स एण्ड टुरिजम एलएलसीको कार्यालयमा कार्यक्रम आयोजन गरिएको थियो ।

ओमानको सोहारमा नेपाल-सोहार सोसल क्लब ओमान, एनआरएन क्षेत्रीय समन्वय परिषद सोहार र नेपाली जनसम्पर्क समिति सोहारको संयुक्त आयोजनामा संविधान दिवस कार्यक्रमको आयोजना गरिएको थियो । नेपाल-सोहार सोसल क्लब आमानका अध्यक्ष मुन्नाबाबु परियारको अध्यक्षता तथा एनआरएन क्षेत्रीय समन्वय परिषद सोहारका अध्यक्ष गौतम सापकोटाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियोे ।

कार्यक्रमको प्रारम्भ नेपालको राष्ट्रिय गानबाट गरिएको थियोे भने नेपाली राष्ट्रिय झण्डा पनि फहराइएको थियोे । अतिथिको रूपमा नन्दकिशोर महतो रहेका थिए। सो अवसरमा नेपाली जनसम्पर्क समिति सोहारका अध्यक्ष मोहम्द सेराज, शेख हिजातुल्ला, क्लबका सम्पूर्ण मेम्बरहरू सहित सयौँ नेपालीको सहभागिता रहेको थियो ।

यसैबीच नेपाल-सोहार सोसल क्लब ओमानको औपचारिक रूपमा गठन पनि गरिएको छ । मुन्नाबाबु परियारको अध्यक्षतामा गठन गरिएको क्लबको उपाध्यक्षमा मो. शेख हिजातुल्ला, नन्दकिशोर महतो, सचिव विशाल पाण्डे, कोषाध्यक्ष मो. जौवाद आलम सहित १३ सदस्यीय कार्य समिति गठन गरिएको छ । ओमानको सोहार क्षेत्रमा बस्ने नेपालीहरूलाई समेटेर क्लबको गठन गरिएको हो ।

सोहार क्षेत्रमा बस्ने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको समस्याहरूलाई दृष्टिगत गरी क्लब गठनमार्फत समस्याको समाधानका लागि सहयोग र पहल गर्ने उद्देश्यले क्लब गठन गरिएको अध्यक्ष परियारले बताए । त्यस्तै आउँदो ११ अक्टोबर २०१९ शुक्रबारका दिन भव्य रूपमा दसैं विशेष कार्यक्रमको आयोजना गरिने जनाइएको छ ।