पोखरामा मिनीसडक महोत्सव असोज १० मा





विश्व पर्यटन दिवसका अवसरमा असोज १० गते ‘रेष्टुराँ एण्ड बार एशोसिएशन’ (रेवान)ले मिनी सडक महोत्सवको आयोजना गर्ने भएको छ ।

प्रत्येक वर्ष विश्वभरि २७ सेप्टेम्बरमा मनाइने सो दिवसको अवसरमा ‘पर्यटन र रोजगार सबैका लागि राम्रो भविष्य’ भन्ने मूल नारालाई आत्मसात् गर्दै यस वर्ष पनि विभिन्न कार्यक्रमका साथ सो दिवस मनाउन लागिएको हो ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा पहिचान गराउने उद्देश्यले पर्यटन दिवसको उपलक्ष्यमा फिस्टेलगेटदेखि बाराहीचोकसम्म लेकसाइडमा बेलुका ५ः०० बजेबाट राति अबेरसम्म एकदिने महोत्सव गरिने मिनी सडक महोत्सवका संयोजक सूर्यबहादुर भुजेलले बताए ।

महोत्सवको मुख्य आकर्षणअन्तर्गत सडकमै विभिन्न राष्ट्रिय अन्तराष्ट्रिय खानाको परिकार, नेपालका विभिन्न जातीय र धार्मिक संस्कृति झल्किने सांस्कृतिक कार्यक्रम, साहसिक खेलकूद तथा पर्यटकीय आकर्षण वृतचित्रको प्रदर्शनी, लाइभ व्याण्ड, पञ्चेबाजाका साथै गन्दर्भ गायन र सडकमै मनोरञ्जनात्मक कार्यक्रम गरिने आयोजकले जनाएको छ ।

पर्यटन प्रवद्र्धनमा सूचना प्रविधि र सञ्चारको क्षेत्रमा भएको अभूतपूर्व विकासको माध्यमबाट नेपालमा रहेको सम्पदालाई विश्वसामु प्रस्तुत गर्दै अन्तराष्ट्रिय पर्यटकलाई आकर्षित गरी आय र रोजगारीका अवसरमा अभिवृद्धि गर्ने प्रचुर सम्भावना रहेकोले सो अवसरलाई सदुपयोग गरिने बताइएको छ ।

प्रतिक्रिया