चितवनमा बाख्राविज्ञको सम्मेलन हुने

पहिलोपटक एसिया क्षेत्रीय स्तरमा विज्ञहरु भेला हुँदै





चितवनमा पहिलोपटक एसिया क्षेत्रीय बाख्राविज्ञको सम्मेलन हुने भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर, चितवनमा कात्तिक ३ देखि २३ गतेसम्म उक्त सम्मेलन हुन लागेको हो ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयअन्तर्गत पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकाय, रामपुर, चितवनको मूल आयोजनामा उक्त सम्मेलन हुने भएको हो । विश्वविद्यालयले यसअघि सन् २०१७ मा अन्तर्राष्ट्रिय भैँसीविज्ञको सम्मेलन र २०१८ मा अन्तर्राष्ट्रिय पोल्ट्री सम्मेलनको आयोजना गरिसकेको छ ।

इन्टरनेसनल गोट एसोसिएसन, अमेरिकासँगको सहकार्य तथा नेपाल सरकार, पशुपक्षी विकास मन्त्रालय, पशु सेवा विभाग, हेफर इन्टरनेसनल नेपाल, नेपाल कृषि अनुसन्धान परिषद्, विश्वविद्यालय अनुदान आयोग, मिचिगन स्टेट युनिभर्सिटी, अमेरिका र भारतीय कृषि अनुसन्धान परिषदअन्तर्गत केन्द्रीय बाख्रा अनुसन्धान संस्थाको सहआयोजनामा सम्मेलन हुन लागेको कृषि तथा वन विज्ञान विश्वविद्यालयका कार्यबाहक उपकुलपति प्राडा शारदा थपलियाले जानकारी दिएका छन् ।

सम्मेलनमा अमेरिकाबाट इन्टरनेसनल गोट एसोसिएसनका अध्यक्ष डा. बेथ मिलर, उपाध्यक्ष लुसिया सेपे, आगामी वर्ष हंगेरीमा सम्पन्न हुन गइरहेको अन्तर्राष्ट्रिय बाख्राविज्ञको सम्मेलन–२०२० आयोजक समितिका अध्यक्ष डा. सान्डोर कुकोभिक्स, चीनको हेबेई कृषि विश्वविद्यालय, पशु विज्ञान तथा प्रविधि कलेजका डिन प्राडा यिङ्जी झाङ जापानस्थित मिजो विश्वविद्यालयका प्राडा योसिहाकी हायासीलगायत विश्वका ख्यातिप्राप्त शैक्षिक तथा अनुसन्धान प्रतिष्ठानका विशिष्ट वैज्ञानिक, प्राज्ञ र विद्यार्थीसहित १५ देशका तीन सय व्यक्ति सम्मेलनमा सहभागी हुनेछन् ।

बाख्राको उत्पादन, उत्पादकत्व एवं गुणस्तर वृद्धिका लागि विविध प्रविधियुक्त आधुनिक खोजमूलक जानकारीको सम्प्रेषण गर्ने, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा कार्यरत वैज्ञानिक, अनुसन्धान निकाय, विश्वविद्यालय एवं सरकारी र गैरसरकारी संघसंस्थाका बीचमा बृहत् सञ्जाल र सहकार्य गर्दै कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुरलाई भविष्यमा वैज्ञानिक बाख्रापालनको नमुना राष्ट्रिय अनुसन्धान तथा स्रोत केन्द्र बनाउने उद्देश्यले सम्मेलनको आयोजना गर्न लागिएको हो ।

‘विकासशील विश्वमा खाद्य तथा पोषण सुरक्षाका लागि बाख्रापालन’ भन्ने मूल नाराका साथ सम्पन्न हुने सो सम्मेलनमा हालसम्म नेपाल, भारत, पाकिस्तान, क्युवा, संयुक्त राज्य अमेरिका, क्यानाडा, इटाली, जापान, हंगेरी, चीन, इन्डोनेसिया, बंगलादेश, फ्रान्स, केन्यालगायत १४ देशका बाख्राविज्ञको उपस्थिति हुने भएको छ ।

सम्मेलनमा खाद्य तथा पोषणको स्रोत बाख्रा, बाख्रा उत्पादनको नीति, सामाजिक आर्थिक तथा मूल्य शृंखला विकास, बाख्राको आहार, पोषण तथा बासस्थान व्यवस्थापन, आनुवंशिक प्रजनन तथा जैविक प्रविधि व्यवस्थापन, स्वास्थ्य व्यवस्थापन तथा रोग नियन्त्रण, बाख्राजन्य उत्पादनको प्रशोधन प्रविधि विकाससम्बन्धी क्षेत्रलाई समेटेर तीनवटा विशेषज्ञ कार्यपत्र, १४ वटा आमन्त्रित मुख्य विषयवस्तु समेटिएको कार्यपत्र प्रस्तुत गरिने भएको छ ।

ग्रामीण जनता, भूमिहीन, सुकुम्बासी, सीमान्तकृत समुदाय र साना किसानको अर्थतन्त्र, जीविकोपार्जन र पारिवारिक पोषणमा बाख्रापालनले महत्वपूर्ण भूमिका खेलेको छ । नेपालको कुल मासु उत्पादनमा बाख्राको हिस्सा झन्डै २० प्रतिशत छ । पशुपक्षी विभागको तथ्यांकमा नेपालमा बाख्रा, खसी र बोकाको संख्या लगभग एक करोड १६ लाख रहेको अनुमान छ ।

विश्वमा करिब ३५१ जातका बाख्रामध्ये एसिया महादेशमा मात्र १४६ जातका बाख्रामध्ये नेपालमा जम्मा चार थरीका रैथाने जातका बाख्रा पाइन्छन् । विश्वका कुल बाख्राको संख्याको करिब ९२ दशमलव पाँच प्रतिशत र अफ्रिका महादेशमा मात्र रहेको पाइन्छ । विश्वव्यापी बाख्रापालनको तथ्यांक हेर्दा संख्याका आधारमा विश्वमा नेपाल १०औँ स्थानमा रहेको छ । चीन र भारत पहिलो र दोस्रो स्थानमा छन् ।

व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्रको आर्थिक वर्ष ०७४–७५ को तथ्यांकअनुसार नेपालले भारत मलेसिया, इटाली, फ्रान्स, अस्ट्रेलिया, पोल्यान्ड, जर्मनीलगायतका मुलुकबाट करिब रु. पाँच अर्बबराबरको जिउँदा बाख्रा र मासु आयात गरेको थियो । त्यसमा रु. तीन अर्ब २९ करोडको जिउँदो बाख्रा रु. १८ करोडको मासु र रु. एक अर्ब ८३ करोडको माछा आयात गरेको थियो ।
rss

प्रतिक्रिया