रुसमा हत्या गरिएका राजकुमारको शव १८ दिनपछि घरमा

रुसमा हत्या गरिएका राजकुमारको शव १८ दिनपछि घरमा


■ नारद कोहार, कपिलवस्तु

रुसमा गत भदौ १६ गते हत्या गरिएका कपिलवस्तु नगरपालिका ३ ठुलो सडवाका २६ वर्षीय राजकुमार यादवको शव १८ दिनपछि घरमा ल्याइएको छ। काठमाडौंबाट शुक्रबार (३ असोज) दिउँसो उनको शव घर पुऱ्याइएको हो ।

वैदेशिक रोजगारीका लागि टुरिस्ट भिसामा गएका यादवको भदौ १६ गते एक महिलासहित ३ जनाको अज्ञात समूहले धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए। लुटेराहरुको समूहले रुसको राजधानी मस्को शहरमा रहेको दोमाद्देदोभाका मेट्रो ट्रेनबाट उत्रने क्रममा हत्या गरेको मृतकका काका राम निवास यादवले बताए। पेटमा गहिरो घाउ भएको र अत्यधिक रक्तश्रवाका कारण राजकुमारको मृत्यु भएको थियो। सिसीटिभीको फुटेजको आधारमा हत्यारा पक्राउ परिसकेका छन्। मृतकको शव त्यहीँको अस्पतालमा राखिएको थियो।

एनआरएनए रुस र परराष्ट्र मन्त्रालय लगायतको पहलपछि शवलाई नेपाल फर्काइएको थियो। राजकुमार अवैधानिक ढंगले रुसको पास्ता सिटीमा विभिन्न कम्पनीको सिम कार्ड आपूर्ति गर्ने काम गर्दथे, जसका कारण उनको शव ल्याउन कठिनाई भएको थियो । नेपाल र भारतमा रहेका एनआरएनएले आर्थिक संकलन एवं पहल गरेर शव नेपाल पठाएको काका राम निवासले बताए। एनआरएनए रुसका उपाध्यक्ष सुमन रिजालले शव नेपाल पठाउन विशेष पहल गरेका थिए।

२०७२ सालमा रुस छिरेका राजकुमारको ४ वर्ष नपुग्दै यो घटना भएको हो । घर परिवारको आर्थिक स्थिति उकास्न रुस छिरेका राजकुमारको शव बाकसमा आएपछि सडवा गाउँ नै शोकमा डुबेको छ। एकै गाउँमा घर भएका प्रदेश सदस्य धरम बहादुरलाल श्रीवास्तवले राजकुमारको दुःखद मृत्युले सडवा गाउँ नै गहिरो शोकमा डुबेको बताए । ‘राजकुमार गाउँको पढेलेखेको केटा थियो, उसको मृत्युले गाउँमा शोकको माहोल छ’, उनले भने।

मृतकका श्रीमती र एक सातमहिने छोरा तथा तीन दाजुभाइ, एक दिदी, आमा र बुवा छन्। श्रीमानको मृत्युको खबर पाएदेखि नै राजकुमारकी श्रीमती राजकुमारी यादव अर्धचेत छिन्। आमा जितनी अहिर परिवारको खुशीका लागि विदेशिएको ठूलो छोराको मृत्युले बेहाल छिन्।

उता छोराको हत्यापछि करिव ६ वर्षदेखि साउदी अरबमा रहेका बुवा ध्रुवकुमार यादव घर फर्केका छन् । ध्रुवकुमार साउदी अरबको अल हाम इबिसी कम्पनीमा कार्यरत थिए । कम्पनी मालिकले फर्कन नदिएपछि उनी त्यहाँबाट भागेर घर आउनु परेको थियो । सो क्रममा त्यहाँको सुरक्षाकर्मीले उनलाई पक्राउ गरेर ४ दिन जेलमा राखेको थियो । पछि उनीहरुले नै आफूलाई नेपाल फर्काएको ध्रुवले बताए। छोराको मृत्युको खबर पाएको एक सातापछि उनी नेपाल आएका हुन् । ‘म साउदी अरब भएका बेला ठुलो छोरा राजकुमार रुस गएको थियो’, उनले भने, ‘मैले नजान भनेको थिएन् तर गयो अहिले यस्तो बज्रपात भो’ उनले भने । कमाउन गएको छोराको विदेशबाट शव आउँदा उनको परिवारका अहिले गहिरो दुःख छाएको छ।

राजकुमारको शवलाई शनिवार (४ असोज) स्थानीय रामघाट नदीमा दाह संस्कार गरिएको छ।