महासभामा भाग लिन परराष्ट्रमन्त्री ज्ञवाली सपत्नी न्यूयोर्क प्रस्थान

महासभामा भाग लिन परराष्ट्रमन्त्री ज्ञवाली सपत्नी न्यूयोर्क प्रस्थान


संयुक्त राष्ट्रसङ्घको ७४औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली शनिबा। न्यूयोर्क प्रस्थान गरेका छन् ।

श्रीमतीसहित अमेरिका प्रस्थान गरेका मन्त्री ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्डलमा राष्ट्रियसभा दिगो विकास समितिका सभापति तारादेवी भट्ट र सदस्य दीनानाथ शर्मा, राष्ट्रिय योजना आयोगका सदस्य कृष्णप्रसाद ओली, परराष्ट्र मन्त्रालयका सहसचिव भरतराज पौड्याल, प्रधानमन्त्रीका सञ्चार संयोजक चेतन अधिकारीसमेत संलग्न छन् ।

चौहत्तरौँ महासभामा ‘गरीबी निवारण, स्तरीय शिक्षा, जलवायु असर र समावेशिताका निम्ति बहुपक्षीय प्रयास र प्रेरणा’ विषयमा छलफल हुने बताइएको छ । मन्त्री ज्ञवालीले महासभालाई असोज १३ गते सम्बोधन गर्ने कार्यक्रम छ । यसैगरी परराष्ट्रमन्त्रीले असोज ९ गते दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मन्त्रिपरिषद्को अनौपचारिक बैठकको अध्यक्षता गर्ने बताइएको छ ।

महासभामा भाग लिने क्रममा न्यूयोर्कमा रहँदा प्रतिनिधिमण्डलका नेता ज्ञवाली जलवायु परिवर्तनका कारण उत्पन्न असर र प्रभावसम्बन्धी शिखर बैठकका साथै दिगो विकासका लागि राष्ट्रसङ्घीय उच्चस्तरीय राजनीतिक मञ्च र ‘राष्ट्रसङ्घीय विकासका लागि लगानी संवाद’ विषयक बैठकमा समेत सहभागी हुनेछन् ।

त्यसैगरी परराष्ट्रमन्त्री ज्ञवाली विविध विवाद समाधानका निम्ति गठित मन्त्रीस्तरीय संयन्त्र अर्थात् राष्ट्रसङ्घीय मध्यस्थकर्ता मैत्री समूह, शान्तिकार्य सम्बन्धी उच्चस्तरीय संवाद तथा महासभाका अध्यक्षको सभापतित्वमा आयोजना हुने बालअधिकार अभिसन्धि अनुमोदन भएको ३०औँ वार्षिकोत्सवको स्मरणात्मक उच्चस्तरीय बैठकमा सहभागी हुने कार्यक्रम रहेको राससले जनाएको छ ।

ज्ञात रहोस्, यसअघि महासभाकै सिलसिलामा हुने विश्वव्यापी स्वास्थ्य सरोकार बैठकमा भाग लिन उपप्रधानमन्त्री एवम स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव र जलवायु परिवर्तनसम्बन्धी अर्को उच्चस्तरीय बैठकमा सहभागी हुन वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत न्यूयोर्क प्रस्थान गरिसकेका छन् ।