‘हराइने’ भयले पछि हटे वामदेव !

‘हराइने’ भयले पछि हटे वामदेव !


सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली नेता वामदेव गौतमले कास्की जिल्लाको रिक्त प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी नदिने घोषणा गरेका छन् । आज (४ असोज, शनिबार) बसेको पार्टीको सचिवालय बैठकमा उनले आफूले उम्मेदवारी नदिने जानकारी गराएका हुन् ।

यसबारे उनले एक विज्ञप्तिसमेत सार्वजनिक गरेका छन् । विज्ञप्तिमार्फत् नेता गौतमले कास्कीबाट निर्वाचनमा भाग लिन अनुरोध गर्ने पार्टी अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालसहित पार्टीका अन्य सहकर्मीहरूप्रति आभार प्रकट गर्दै उपनिर्वाचनमा सरिक नहुने प्रष्टोक्ति दिएका छन् ।

यसअघि गत २०७४ मा प्रतिनिधिसभा सदस्य पदका लागि आफ्नो पुरानो निर्वाचन क्षेत्र बर्दिया–१ बाट उम्मेदवार रहँदा गौतम अप्रत्यासित रूपले पराजित हुन पुगेका थिए । सो सन्दर्भलाई आफ्नो विज्ञप्तिमा उल्लेख गर्दै उनले भनेका छन्– ‘… उक्त निर्वाचनमा तत्कालीन वाम गठबन्धनसँग विपक्षीको तुलनामा ३२ हजार मत बढी थियो, तर म पराजित हुनुपऱ्यो । त्योभन्दा अत्यन्त कम मतान्तर रहेको कास्कीमा निर्वाचन उठ्नु भनेको म फेरि पराजित हुनु हो ।’

उनले कास्कीबाट आफू पराजित हुन सक्ने आँकलन गर्दै अगाडि भनेका छन्– ‘… तर मलाई विश्वास छ, मभन्दा अरु कोही स्थानीय कमरेड उठ्नु हुँदा सहजै विजय प्राप्त गर्न सक्नुहुनेछ । कास्कीको निर्वाचनमा त्यहाँका स्थानीय कमरेडहरू उम्मेदवारीका निम्ति पहिलो हकदर हुनुहुन्छ । यसर्थ म कास्कीलाई कार्यक्षेत्र बनाएर पार्टीको काम गरिरहनु भएका कमरेडमध्येबाट उम्मेदवार हुनुपर्ने कुरामा आफ्नो स्पष्ट अडान पेश गर्दछु ।’

यसरी पहिले नै आफू कास्कीबाट पराजित हुन सक्ने भनी वामदेव गौतमले वक्तव्य सार्वजनिक गर्नुलाई निकै अर्थपूर्ण मानिएको छ । उम्मेदवारी दिन लगाएर आफूलाई शीर्ष नेतृत्व–पङ्क्तिबाटै हराइन सक्ने वामदेवको अनुमानका आधारमा भन्नुपर्दा नेकपाभित्र गुटको राजनीति कति मौलाएको छ, सहजै बुझ्न सकिन्छ । पुनः हारेर आफ्नो बचेखुचेको साख सखाप पार्नुभन्दा हालको ‘मान-मर्यादा’ जोगाउनु नै उचित रहेको गौतमको सोच हुन सक्छ ।

गौतमका शुभचिन्तकहरूले उनको निर्णयलाई सकारात्मक रूपमा लिएको बुझिएको छ ।