जनता जगाउने अवसर हो काङ्ग्रेसको जागरण कार्यक्रम





■ इन्द्रबहादुर बराल

नेपालको राजनीतिमा लोकतन्त्रको माउ पार्टी नेपाली काङ्ग्रेसले केही साताअघि मात्र प्रथम चरणको राष्ट्रिय जागरण अभियान सम्पन्न गरेको थियो । जननेता बीपी कोइरालाको १०६औँ जन्मदिनको अवसर पारेर गत भदौ २४ गतेदेखि दोस्रो चरणको राष्ट्रिय जागरण अभियान पनि प्रारम्भ गरिसकेको छ । यसले तमाम काङ्ग्रेसजनमा केही उत्साह नथप्ने कुरै भएन । आफ्ना विचारहरू पोख्न नपाएर त्यसै खुम्चिएका कार्यकर्ताले पेटभरिका पीडा र कुण्ठा ओकल्ने अवसर पनि पाएका छन् । आफ्ना विचार र दृष्टिकोण साथीहरूको बीचमा राख्न पाउँदा कार्यकर्ताको मनोबल उच्च नहुने कुरै भएन ।

प्रथम चरणको राष्ट्रिय जागरण अभियानको अनुभवले दोस्रो चरणको कार्यक्रमलाई थप परिस्कृत बनाउन सघाएको छ । केन्द्रीय समितिले खटाएका प्रतिनिधिहरू पहिलो चरणभन्दा दोस्रो चरणमा झनै तिखारिएर प्रस्तुत भएको प्रारम्भिक अनुमान छ । पार्टीले दिएको कार्यादेशको सीमाभित्र बसेर गरिने छलफल तथा अन्तरक्रिया कार्यक्रमले निष्क्रियजस्तै देखिएका कार्यकर्तामा नयाँ जोस, जागरण र उत्साह आएको देखिन्छ । यसर्थ यस्ता कार्यक्रमले पार्टीलाई चलायमान र गतिशीलता प्रदान गर्ने कुरामा कुनै शङ्कै रहँदैन ।

चालू राष्ट्रिय जागरण अभियानमा विशेष गरेर वर्तमान सरकारका गलत कामहरूको भण्डाफोर गर्ने रहेको काङ्ग्रेसको रणनीति छ । बलियो जगमा निर्माण भएको सरकार इतिहासमै कमजोर र भ्रष्टाचारी देखियो । यत्र–तत्र सर्वत्र भ्रष्टाचार, हत्या, हिंसा र बलात्कारबाहेक कुनै असल र सुशासनका कुरा सुन्न पनि रहर भइसकेको छ । सत्तारुढ दलकै नेता तथा सांसदहरू नै भन्दै छन्, ‘भ्रष्टाचार कहाँ छ भनेर नसोध्नुहोस्, कहाँ छैन भनेर सोध्ने बेला आयो ।’ भीमबहादुर रावलदेखि घनश्याम भुसाललगायतले सरकारका काम–कारबाहीप्रति गरेका तीखा–टिप्पणी सुन्दा लाग्छ– सरकार सञ्चालन गर्नेहरूमा चेतना नै छैन ।

यसक्रममा धर्मलाई अफिमको संज्ञा दिने नेकपा सरकार नेपालको सनातन धर्मप्रति पनि असहिष्णु र अनुदार देखियो । सनातन धर्मको संरक्षण गर्दै आएको काठमाडौं उपत्यकाका नेवार समुदाय र अन्य समुदायको गुठीप्रथामाथि प्रहार गर्दै गुठी विधेयक संसद्मा प्रस्तुत ग¥यो । तर, धर्म र संस्कृति संरक्षण गर्दै आएका नेपालीले सरकारको गलत कदमको सशक्त प्रतिकार गरे । बाध्य भएर सरकार पछि हट्न भयो । पाइलैपिच्छे सरकार असफल भएको अवस्थामा काङ्ग्रेसको राष्ट्रिय जागरण अभियानले सरकारलाई अर्को झड्का लागिसकेको छ । नेपाली काङ्ग्रेसमा अझै एकताबद्ध भएर सङ्गठन विस्तार गर्ने हो भने नेपालमा कम्युनिस्ट नामका पार्टीहरू सिला खोज्ने अवस्था नहोला भन्न सकिन्न ।

निश्चय पनि नेपालको राजनीतिमा प्रमुख निर्णायक भूमिका नेपाली काङ्ग्रेसकै छ । प्रथम जनक्रान्तिदेखि सङ्घीय गणतन्त्र नेपालको संविधानअन्तर्गत तीनै तहका चुनाव सम्पन्नसम्म नेपाली काङ्ग्रेस नै अग्रस्थानमा छ । विभिन्न उतारचढावका बाबजुद २०१५ सालको प्रथम आमनिर्वाचनमा दुईतिहाई बहुमत प्राप्त सरकारको नेतृत्व गरेका जननेता स्वर्गीय बीपी कोइरालाले छोटो समयमा गरेका केही काम अविष्मरणीय छन् । तर, ती अविष्मरणीय कामको अहिले कमै चर्चा छ ।

बुँदागत रूपमा प्रथम जननिर्वाचित सरकारले गरेका काम थिए– पहिलो, बिर्ता उन्मूलन, दोस्रो– वनजङ्गलको राष्ट्रियकरण र तेस्रो काम थियो– विधिवत् रूपमा राजा–रजौटाको उन्मूलन । यी तीनवटा महत्वपूर्ण कामबाट अत्तालिएर बिर्तावाला र राजरजौटाहरूको उक्साहटमा महत्वाकाङ्क्षी राजा महेन्द्रले जननिर्वाचित सरकारका साथै संसद् नै विघटन गरेर पुनः निरङ्कुश तानाशाही व्यवस्थाको थालनी गरे । आज पनि केही लोकतन्त्रविरोधी शक्तिहरू विघटनकारी राजा महेन्द्रको प्रशंसा गर्न निकै आतुर र उत्सुक देखिन्छन् ।

तथापि वास्तवमै नेपालीलाई रैतीबाट मालिक बनाउने कदम थियो बिर्ता उन्मूलन । बिर्ता उन्मूलनपूर्वको अवस्था यस्तो थियो– नेपालको कुल भूमिमध्ये ५० प्रतिशत भूमि राणा परिवारको थियो । १५ प्रतिशत शाही परिवार र राजारजौटाको थियो । त्यस्तै, १५ प्रतिशत सरदार, भारदार, काजी र गुरुपुरोहितमा निहित थियो । १० प्रतिशत जागिरेको खान्की र ७ प्रतिशत सन्तमहत्व, साहु, महाजन, द्वारे, अमाली जिम्मावल, मुखिया र किपटका सुब्बाहरूको हातमा थियो । (स्रोत ः पहिलो संसद् बीपी महेन्द्र टकराव) आजका सत्तासीन दुईतिहाई बहुमतको आडमा भ्रष्टाचार, बलात्कार र हत्याहिंसाका समाचारबाहेक अरू केही सुन्नै पाइन छाड्यो । योभन्दा दुर्भाग्य नेपालीको लागि अरू के हुन सक्ला ?

चालू दोस्रो राष्ट्रिय जागरण अभियानले आफूभित्रका मनोमालिन्यलाई धोइपखाली गर्दै नयाँ ढङ्गले अघि बढ्ने यो सबैभन्दा उपयुक्त अवसर हो । यो अवसर पनि गुमायौँ भने भन्न सकिँदैन इतिहासको पानामा सीमित रहन पनि सकिन्छ ।

यहाँ बिर्ता भन्ने शब्द प्रयोग भएको छ जुन शब्दको अर्थ पनि बुझ्न कठिन छ । कुनै पनि प्रकारको कुनै कसैलाई रै–रकम नतिरीकन एकलौटी रूपमा भोगचलन गर्न पाइने जमिनलाई बिर्ता भन्ने गरिन्छ । माथि उल्लेखित तीनवटा मुख्य काम नै अहिलेको अवस्थामा कोसेढुङ्गा साबित हुँदाहुँदै पनि यो ओली सरकार लगभग नालायक प्रमाणित हुँदै छ ।

सम्पूर्ण उत्पादनको साधन सीमित परिवार र तिनका आसेपासेले अधिकार जमाएर बसेको शक्तिलाई बीपी कोइरालाजस्ता जननेताले नाङ्गेझार पारेर नेपालीलाई आज सार्वभौमसत्तासम्पन्न नागरिक बनाउने पहिलो कदमको अझै उचित र न्यायपूर्ण प्रचारप्रसार हुन सकेको छैन । वर्तमानमा इतिहास हेरेर भविष्यको रेखा कोर्नुपर्नेमा दुईतिहाईको दम्भले ‘भदौमा आँखा फुटेको डिँगो सधैँ हरियो देख्छ’ भनेजस्तै गरी सरकार मनको लड्डुमा रमाएको छ । पञ्चायतको सूत्रपातदेखि अन्त्य नहुँदासम्मको कालखण्ड छोडेर पहिलो जनआन्दोलन २०४६ देखि २०६२/०६३ सम्मको परिवर्तनकारी आन्दोलनको मियो बनेको काङ्ग्रेस क्रमशः सुस्ताएजस्तो देखियो । काङ्ग्रेस सङ्घीयता, धर्मनिरपेक्षता र गणतान्त्रिक नेपालसम्म आइपुग्न केही न केही अलमलिएकै हो ।

अब चालू दोस्रो राष्ट्रिय जागरण अभियानले आफूभित्रका मनोमालिन्यलाई धोइपखाली गर्दै नयाँ ढङ्गले अघि बढ्ने यो सबैभन्दा उपयुक्त अवसर हो । यो अवसर पनि गुमायौँ भने भन्न सकिँदैन इतिहासको पानामा सीमित रहन पनि सकिन्छ । अवस्था यस्तो आयो बोल्नेको पिठो बिक्री भयो नबोल्नेको चामल पनि बिकेन । यसर्थ अब नेपाली काङ्ग्रेसले विगतमा आफूले सरकार सम्हाल्दा भए-गरेका उपलब्धिमूलक कामको समीक्षा गर्दै कार्यकर्ताबीच लानुपर्ने देखिन्छ । सन्देश प्रवाह गर्नुपऱ्यो, अन्तरक्रिया कार्यक्रममा नेपाली काङ्ग्रेसले सत्ता सम्हालेपछि शिक्षाको क्षेत्र उल्लेखनीय काम गरेको थियो । २०४६ साल पूर्व कति स्कुल, कलेज र विश्वविद्यालय थिए र अहिले कति छन् । सडक सञ्जालको त झनै भनिनसक्नु प्रगति भएको छ । स्वास्थ्य र सञ्चारको स्रोतले पनि अतुलनीय प्रगति गरेको तथ्य जगजाहेर नै छ । समग्रमा २०४६ पूर्व र पछि नेपालीको जीवनस्तरमा निकै फड्को मारेको छ । आजसमम जे भएको छ त्यसको पछाडि कहीँ न कहीँ नेपाली काङ्ग्रेसको सकारात्मक भूमिका प्रस्टै छ । तथापि काङ्ग्रेसजनले मुख लुकाउनु एउटा दुःखद पक्ष हो ।

राजा महेन्द्रले भूमिसुधार लागू गरेर मोही (जोताहा किसान) लाई २५ प्रतिशत स्वामित्वको व्यवस्था गरे । तर, त्यो २५ प्रतिशत मोहीको स्वामित्व तराईका सोझासाझा थारू जातिको एक हातले दिने अर्को हात खोस्ने काम पनि गरे । काङ्ग्रेस नेतृत्वको सरकारले मोही र तल्सिङको समान हैसियत रहने गरी आधाआधा स्वामित्व कायम गराएर लामो विवादको अन्त्य गरिदिएको थियो । त्यस्तै, कमैया मजदुरहरूको पुस्तौँदेखिको साहुको ऋण मोचन गराएर पुनस्र्थापनाको काम पनि नेपाली काङ्ग्रेसले गरेको हो ।

लामो समयदेखि आफू उत्पीडनमा पर्दै आएको गुनासोलाई ध्यानमा राखी नेपाली काङ्ग्रेसले विभिन्न आयोग र प्रतिष्ठानमार्फत त्यस्ता गुनासाको उचित र न्यायपूर्ण सम्बोधन गर्न विभिन्न आयोगहरू निर्माण गरेको थियो । जाति/जनजाति/मधेसी/महिला/दलित सबैखाले असन्तोष र उत्पीडनलाई सम्बोधन गर्न नेपाली काङ्ग्रेसले नै कार्य प्रारम्भ गरेको कुरा यसपटकको जागरण अभियानमा स्पष्टसँग काङ्ग्रेस अगुवाहरूले भन्न सक्नुपर्छ । सत्तारुढ अर्थात् सरकारका गलत कामको भण्डाफोरको अतिरिक्त आफ्ना कामको पनि कार्यकर्ता र सम्भव भए आमजनतामाझ पुऱ्याउने कोसिस गर्नैपर्छ । अन्त्यमा, काङ्ग्रेसको जागरण कार्यक्रमबाट अत्तालिएर सत्तारुढ दलका ‘अरिँगाल’ कार्यकर्ताहरू अत्तालिन थालेको बाँके जिल्लामा दर्शाइउको नग्न रूपले देखाइसकेकै छ । यस्तोमा अझै जुझारुपनका साथ काङ्ग्रेसजन जनता जगाउने कार्यमा अग्रसर रहनु समयको माग हो ।

प्रतिक्रिया