कांग्रेसले बालेको मैनबत्ती राजपाले निभाएपछि…

कांग्रेसले बालेको मैनबत्ती राजपाले निभाएपछि…


■ हेमशंकर सिंह, राजविराज

संविधान दिवस मनाउने क्रममा नेपाली कांग्रेस सप्तरीका नेता कार्यकर्ताहरुले सप्तरी सदरमुकाम राजविराजस्थित गजेन्द्र चोकमा बालेको मैनबत्ती राजपाका कार्यकर्ताले निभाएका छन् ।

संविधान दिवसलाई कालो दिवसको रुपमा मनाएका राजपाको गजेन्द्रचोकदेखि करिव ५ सय किलोमिटर दक्षिण नेताचोकमा कोणसभा चल्दै गर्दा नेपाली कांग्रेसका नेता कार्यकर्ताले गजेन्द्रचोकमा मैनबत्ती बालिरहकोे थाहा पाएपछि राजपाको एक समुह त्यता लम्किन पुग्यो ।

तर, प्रहरीको कडा सुरक्षा घेराले उनीहरुलाई गजेन्द्रचोकसम्म पुग्न दिएन । प्रहरीले दुईटा घेरा हाली राजपाका कार्यकर्ताहरुलाई आफनो नियन्त्रणमा लिन सफल भयो । तर पनि केही नेताहरु छुट्टिएर छेउछाउबाट गजेन्द्र चौकसम्म पुग्न सफल भए । नेपाली कांग्रेसका नेता कार्यकर्ताले संविधानको पक्षमा नाराबाजी गरिरहँदा राजपा पक्षधरहरु भने उनीहरुकै सामुन्ने पुगेर विरोधमा नाराबाजी गर्न थाले ।

राजपाको विरोध प्रदर्शनको नेतृत्व अध्यक्ष मण्डलका सदस्यद्वय हरेराम यादव र सतिस सिंहले गरेका थिए । यादव नाराबाजीमा सहभागी भएपनि सिंह भने मुकदर्शक भई उभिइरहे । करिव १० मिनेट जतिको रस्साकस्सीपछि राजपाका नेता कार्यकर्ता त्यहाबाट बाहिरिए ।

एकछिनमै प्रहरीको घेरामा रहेका राजपाका कार्यकर्ताहरुलाई प्रहरीले खुकुलो छोडेपछि गजेन्द्रचोक पुगेर कांग्रेसले बालेको मैनबत्ती निभाउन थाले । त्यतिबेलासम्म भने कांग्रेसीहरु कोणसभा सम्पन्न गरेर त्यहाँबाट फर्किसकेका थिए ।

कोणसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका महासमिति सदस्य नन्दकिशोर यादवले संविधानको प्रावधानअनुसार निर्वाचित भएर तलव भत्ता खानेहरुले संविधान दिवसलाई कालो दिवसको रुपमा मनाउनु हास्यास्पद रहेको बताए । कार्यक्रममा नेपाली कांग्रेस सप्तरीका सभापति दिनेश कुमार यादव, महाधिवेशन प्रतिनिधि ध्रुव देव, क्षेत्रीय अध्यक्ष महानन्द यादव, जिल्ला सदस्य प्रदिप यादवसहितका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

यसैगरी नेपाली कांग्रेस विजयी भएको अग्निसाइर कृष्णासवरण, शम्भुनाथ, सुरुङ्गा, राजगढ र विष्णुपुर गाउँपालिकामा समेत विभिन्न कार्यक्रमका साथ संविधान दिवस सम्पन्न भएको छ ।

ठाउँ ठाउँमा कार्यक्रम गरी नेकपाले मनायो संविधान दिवस

नेकपाले आफनो जिल्ला पार्टी कार्यालय र नेता चौकमा दीप प्रज्ज्वलन गरी संविधान दिवस मनाएका छन् । त्यस्तै, सप्तकोशी नगरपालिकाले प्रभातफेरी, झाँकी प्रदर्शन र कोणसभा गरी भब्यतापुर्वक संविधान दिवस मनाएको छ ।

नगरप्रमुख उत्तम गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपमेयर आशाकुमारी चौधरी, वडाअध्यक्षहरुसहित विभिन्न पार्टीका नेताहरुले संवोधन गर्दै संविधानको पुर्ण कार्यान्वयनमा सवैले हातेमालो गर्नुपर्ने बताए । संविधानले निर्दिष्ट गरेका कुराहरुलाई ब्यवहारमा उतार्नु चुनौतीपुर्ण भएकाले हरेक नागरिकको सहयोग अपरिहार्य हुने उनीहरुको भनाई थियो ।

सप्तकोशी नगरपालिकामा भने मेयर र उपमेयरसहित सवै वडामा तत्कालीन नेकपा एमाले र माओवदी केन्द्र निर्वाचित भएका छन् ।

त्यसैगरी, खडक नगरपालिकाको कल्याणपुरमा पनि अन्तरक्रिया कार्यक्रम गरेर नेकपाले संविधान दिवस मनाएको छ । नेकपाका जिल्ला सदस्य सत्रुधन आजादको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई प्रदेशसभा सदस्यद्वय गोविन्द न्यौपाने र रुवी कर्ण, नेकपाका स्थानीय नेता अयुव राईन लगायतका वक्ताहरुले सम्बोधन गरे ।

कोणसभा र ब्ल्याक आउट गरी राजपाले मनायो कालो दिवस

सत्तासीन नेकपा र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले जिल्लामा विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइरहँदा राजपाले भने कालो पट्टि बाँधेर कालो झण्डासहित जुलुस प्रदर्शन, कोणसभा र ब्ल्याकआउट गरी संविधान दिवसलाई कालो दिवसको रुपमा मनाएका छन् ।

विहानै गजेन्द्र चौकमा जम्मा भएका राजपाका नेता कार्यकर्ताहरु कालोपट्टि बाँधेर कालो झण्डासहित नगर परिक्रमा गर्दै सरकारी कार्यालयहरुमा कालो झण्डा गाडेका थिए । कालो झण्डा गाड्ने क्रममा प्रदेश सभा सदस्यद्वय मनिषकुमार सुमन र नेत्रविक्रम साह तिलाठी कोइलाडि गाउँपािलकाका अध्यक्ष सतिषकुमार सिंह, राजविराज नगरपालिकाकी उपप्रमुख साधना झासहितका जनप्रतिनिधि र नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

राजविराज नगरपालिकाकी उपमेयर साधना झा भने आफनै निर्वाचित भएको राजविराज नगरपालिकाको मुल गेटमा कालो झण्डा गाड्ने क्रममा सहभागी भएकी थिइन् ।

दिउँसो नेता चौकमा आयोजित कोणसभालाई संवोधन गर्दै राजपाका नेताहरुले आफनो पार्टी संविधानको पुर्ण विरोध नगरी केहि धाराहरुको मात्र विरोध गरिरहेको दावी गरे । संविधान संशोधन मार्फत मधेशी, आदीवासी, जनजातिहरुको हक कुण्ठित गर्ने धाराहरु सच्याई संविधानलाई पुर्णता दिएर स्वस्फुर्त रुपमा जनताले दिपावली मनाउने स्थिती निर्माण गर्न समेत उनीहरुले माग गरे ।

सभालाई सम्वोधन गर्दै रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवले जसरी पनि संविधान दिवस मनाउनै पर्ने सरकारी सरकुलर गाउँपालिकामा आएपनि आफुहरुले त्यसको अवज्ञा गरेको वताए ।

राजपा अध्यक्ष मण्डलका संयोजक हरेराम यादवको अध्यक्षतामा सम्पन्न विरोध सभालाई राजपाका सहमहासचिव गजेन्द्र मण्डल, केन्द्रिय सदस्यहरु विशेस्वर रजक, दिपेन्द्र चौधरी, विनोद यादव, राजपा अध्यक्ष मण्डलका सदस्य समेत रहेका तिलाठी कोईलाडि गाउँपालिकाका अध्यक्ष सतिष कुमार सिंह लगायतले संवोधन गरे ।

बेलुकी ७ वजेदेखि ७ः१५ सम्म राजपाले जिल्लाभरी ब्ल्याक आउट समेत गरे ।