एनआरएनका नयाँ पुस्ताको आगामी चुनौती र सम्भावना

एनआरएनका नयाँ पुस्ताको आगामी चुनौती र सम्भावना


■ डिल्ली अम्माई

एनआरएनएको नेतृत्वमा एउटा गम्भीर सङ्क्रमणको शुरुवात हुने तरखर देखिँदैछ यतिबेला । पहिलो पिँढीको उमेरसँगै नेतृत्वको सिलसिला टुट्ने तरखरमा छ भने नयाँ नेतृत्वमा दोश्रो पुस्ताको रुचिकर उपस्थिति देखिएको छ । आगामी नेतृत्वमा चाहे कुल पुगुन् वा पन्त, यो संस्थामा दुवैले एउटा युगको अन्त्य गर्नेछन् । यही पुस्ता सङ्क्रमणको कारणले, अहिलेको समयलाई नयाँपुस्ताले सबैभन्दा बढी डरलाग्दो तर आशालाग्दो गरी हेरिरहेका छन् । कुल र पन्त योगदान, सामाजिक भाव र समर्पणका दृष्टिले उत्तम पात्र हुँदाहुँदै पनि चुनावदेखि अलिक डराए–डराए जस्ता देखिन्छन् । उनीहरूसँगै नयाँपुस्ताको आशा जोडिएको छ तर पुराना भीष्म पितामहहरूको आशिर्वाद, शर्त र संकट सबैभन्दा बढी एकै साथ मडारिएकोले उनीहरूको मनमा भूतको जस्तै डर पसेको छ । कतै उनीहरूका शर्त मान्दा वा नमान्दा चुनाव हारिने होकि ? कतै उनीहरूको आशिर्वाद नलिँदा रिङआउट भइने होकि ? कतै अर्कै भवितब्यले सम्पत्ति र लगानी चुर्लुम्म हुने होकि ? लाग्छ– यस्तै–यस्तै डर होला उनीहरूको मनमा । र त बोल्दा ‘हुन त हो तर… ?’ भनेर शब्द अड्कल्छन् उनीहरू । बोल्दा धक फुक्दैन, मनमा लागेका, अभियानमा भोगेका र भीष्म पितामहहरूले गरेका आर्थिक क्रिडाबारे बोल्न सकेका छैनन् । विचरा त्यही चुनाव नजितिने होकि भन्ने हाउगुजीले सिनित्त निलेको छ उनीहरूलाई ।

यो सङ्क्रमणको पीडा हो र स्वाभाविक बाध्यता हो । अर्को पटकदेखि बोली नफुटेकाहरूको निर्धक्क बोली फुट्नेछ र आफ्नो बाटो सोध्न भीष्म पितामहहरूको आज्ञा लिने परम्परा टुट्ने छ । डायस्पोरामा पुराना थुप्रै चिजहरू क्रमशः मर्दै जाने संघारमा छ । तर नयाँ चीज निखारिँदै आएको पनि छैन । क्रमशः अब त्यसको थालनी हुनु आवश्यक छ । लगानी, नागरिकता, प्रविधि र पर्यटनबारे परम्परागत शैलीका अभिनय रुपान्तरण गर्ने सल्लाहकार नयाँ नेतृत्वले खोज्न बाध्य हुने छ । पुरानो पितामह टिमलाई लगानीको नाराले एक दुई तीन चार पाँच गरेर धनी बनाइसक्यो । देश गरिव भएपछि ब्याक्ति धनी हुनुले राष्ट्रप्रेमीहरूलाई आनन्द दिँदैंन । तर एनआरएनका पितामहहरूले आफू धनी हुने, स्थापित हुने र नम्बर लिने काम यही संस्थाको प्रयोग गरेर सिकाए । ‘हामी’लाई स्थापित नगरी ‘म’ लाई मुलुकमा स्थापित गरे ।

अब उनीहरूको युग सकिँदैछ । हाम्रा नयाँ पुस्तालाई उनीहरूको मर्जीअनुशार चल्न देउ । बस, हाम्रो भनाइ यत्ति हो । त्यो हैकम भने पनि टुट्छ र नभने पनि टुट्छ । हिजो भीष्म पितामहहरूले चलाउने चुनावी सभाहरूमा सोधिने प्रश्न र कुल, कुमारहरूले चलाएका चुनावीसभाका प्रश्नहरूको नाप तौल गर्ने जो–कोहीले पनि यो निचोड निकाल्न सक्छ । यो सङ्क्रमणकालको अन्त्य कसरी हुँदैछ र असंख्य चुनौतीहरूको स्थितिमा अब एनआरएन कसरी अगाडि बढ्छ ? अहिलेको छलफल यसैमा केन्द्रित हुने छ ।

एनआरएनएको प्रारम्भिक चरणमा यसलाई कसरी बुझियो भने स्वभाविक रुपमा नेतृत्वको अदृश्य तहबाट यो संस्थाको नियन्त्रण भइरहन्छ । निर्विवााद रुपमा टाठा बाठा, दलाल कार्यकर्ताको घेराले अघिल्लो घेरालाई बचाइरहन्छ । तर त्यहीबेलादेखि नै केही बौद्धिक तप्काले एउटा नयाँ ब्याख्या ल्याउन शुरु गऱ्यो । आर्जित संज्ञानलाई, विचार, अनुभूति र अनुभवका आधारमा बौद्धिक अभ्यासमार्फत् ज्ञान, सिप र प्रविधि हस्तान्तरण गर्ने कुरा आयो । त्यो कुराले भीष्म पितामहहरूको लगानी फेरि पनि लगानी र अन्तमा आफू मात्र सहुलियतसहित स्थापित हुन आर्थिक लगानी भन्ने नारालाई तुहाइदियो । अभियानमा बौद्धिक सम्पत्ति, शिप सम्पत्ति र कला तथा अभ्यासगत सम्पति समेत जोडिन थाले । त्यसले अघिल्लो पुस्ताको नाफामुखी आर्थिक मोहलाई गम्भीर चुनौती दियो । यी सबैमा कला, सिप अभ्यास र अनुसन्धान मात्र जोडिँदैनथ्यो । ब्याक्ति पनि जोडिन्थे । कृषि अभियानमा त्यही भयो । संसारभरका कृषि वैज्ञानिकहरू जोडिए । उनीहरूले अब नेतृत्वदायी भूमिका समेत माग्न थालेका छन् एनआरएनएको मुभमेन्टमा । त्यो भीष्म पितामहहरूको आर्थिक दुराग्रही अभियानको लागि चुनौती थियो र हो । यो अभियानको रापतापले पोलेर भीष्महरू ‘ऐया’ भनेर कराएको स्पष्ट सुनियो ।

दिग्गज वर्ग यदि अभियानमा लागे भने पुरानो पुस्ताको इच्छा, अभियानको अभिरुचि र सर्तनामा पूर्ण रुपमा अस्विकार गर्ने छ । अहिलेका केही उम्मेदवारले भनिसके त ? ‘अब यो अभियानलाई ठग्न पाइँदैन ! खबरदार !! एनआरएनएको लोगो र जनमतको प्रयोग गरेर राज्यको सहुलियत लिँदै तपाईंहरूले लगानी त गर्नुभयो । तपाइको बिजनेसबाट भएको नाफाले तपाईंहरूलाई धनीको एकल नम्मर पनि दिलायो । त्यसको केही प्रतिशत यो संस्थालाई खै ? अब दिन ढिला नगर, हैन भने एनआरएनमा भण्डाफोर अभियान शुरु हुन्छ ।’

नीति नबनेको खासखुस भीष्म पितामहको धुरीबाट सुनिन्छ तर त्यो सबै नियतवश थियो । उनीहरू हर्ताकर्ता हुँदा किन नीति बनाएनन् ? किनकि उनीहरूले आफ्नो नाफा संस्थालाई दिन चाहँदैनथे । उनीहरूले लुट र नाफाको लागि संस्था बनाएका थिए नकि डायस्पोराका नेपालीको हितको लागि । उनीहरूलाई देशको र नेपालीको कुनै माया थिएन र छैन । खासगरी दलाल पुँजीपतिले नाफाको लागि मात्र लगानी गर्छ र सेवाको क्षेत्रमा कहिल्यै लगानी गर्दैन । त्यसैले यो बहस चर्केको छ र आगामी कार्यकालमा नीतिकै रुपमा अगाडि बढ्छ ।

नेतृत्वको छिनाझपटीको लागि अहिले एकले अर्को पात्रलाई गालि नगरौँ । नयाँ एजेन्डामा बहस गरौँ र पुरानो नेतृत्वलाई सङ्गठनभित्रको आगामी सामरिक र भौतिक सम्बन्धबाट पर राखौंँ । भनिदेउ, उनीहरूका अनुभव काम लाग्ने बाहेक अरु किताब लेख्न मात्र काम लाग्छन् । कुलजी वा कुमारजी ! अहिले व्यक्तिहरूको, पात्रहरूको, घटनाहरूको निन्दाले मात्रै हाम्रो बाटो अगाडि जाँदैन । यो नेपाली डायस्पोरालाई हामीले बेस्सरी हस्तक्षेप गर्न सकेनौँ भने यसको पछाडि तपाईंहरू झन् अफ्ठ्यारोमा पर्नुहुन्छ । अनावश्यक शर्तको भारीले थिचिएर दुवैजना दुवैतिर बोल्न नसक्ने गरी थला पर्नु होला । चुनाव लड़्नुस् तर एजेन्डामा मिल्नुस् । अलिक ममतामयी, पुरानो पुस्ताको अलिक बढी आज्ञाकारी र सजिलो यात्राको लागि माथिसँग प्रार्थना गर्न छोडिदिनुस् । अबको सङ्क्रमणमा तपाईंहरूमाथि तपाइहरूले कल्पना नगरेको आक्रमण हुनेछ । त्यो आक्रमण तपाईंहरूले बोकेका एजेन्डा, आगामी कार्यनीति, रणनीति, कार्यकर्ताको ब्यावस्थापनमा हुने छ र परिचालित दलाल र कालो धनको निकासी पैठारी गर्ने गराइने माफियाहरू मार्फत पनि आक्रमण गराइने छ । मानव तस्कर परिचालन गरेर तपाईंको नेतृत्वलाई निल्नु न ओकल्नु बनाइने छ । त्यसैले एक्लै सफल हुन गाह्रो छ, तपाइहरू मिल्नुस् भनेको । मिल्नु भनेको मन र स्वर पनि मिल्नु हो । एजेन्डा पनि मिल्नु हो । हिजोका थोत्रा एजेन्डा परिमार्जन गर्ने तरिका मिल्नु हो । युग र समकालिक युगधर्मीहरूको मेलले मात्र डायस्पोराको नेपाली समाजलाई अलिक राहत दिने छ ।

अध्यक्ष भट्ट नेपालको अर्गानिक रक्सीको चमत्कारले जहाजभित्रै ‘अगार्निक लफडा’ गरेर भाइरल बने । तर हामीलाई आचरणको संकट आएन । कारवाहीको त के कुरा प्रश्न उठाउन पनि कसैको हिम्मत आएन । किन त भन्दा केन्द्रले आफ्नो नेतृत्वको लागि इन्कलाबको इन्जेक्सन जो ठेसेको छ !

यदि तपाईंहरूले विवेक, विचार र कर्मबाट डायस्पोराको आवाजलाई बोक्न सक्नुभएन । कन्जुस दलाल पुँजीपतिलाई बोक्ने बाटो रोज्नुभयो । पर्यटनबाट देशको समृद्धि गर्ने बाटो मात्र रोज्नुभयो तर पर्यावरण, प्रकृति र हिमाल जोगाउने अभियानलाई वास्ता गर्नु भएन भने धिक्कारिने छ तपाईंको अभियानलाई । हाम्रा काम र कारणले हाम्रो देशका हिमाल पग्लेका हैनन् ! विकसित देशहरूको कारणले हाम्रो प्रकृति, जीव र मानव संकटमा छ । हामी आवाज सुनिने देशहरूमा बसोबास गरेका छौँ । हाम्रो देशको प्राकृतिक संकटको कारण खोजौँ र यिनिहरूसँग क्षतिपूर्ति माग्ने अभियान शुरु गरौँ । तपाईं–हाम्रा लगानीले मुलुक समृद्धि हुँदैन । यो ध्रुवसत्य हो । अझ दलाल पुँजीपतिको लगानीले त देश लुटिने मात्र हो । सबैसहित देश समृद्ध हुने अभियान भनेको वीरबहादुर विश्वकर्माहरूका आरनलाई आधुनिकीकरण गर्न लगानी गरौँ, दर्जीहरूका परम्परागत पेशाहरूलाई आधुनिकीकरण गर्ने कार्यक्रम बनाउँ र हरेक विपन्न नेपालीहरूलाई स्तर र सिप वृद्धिका तालिमको साथै लगानीलाई प्राथमिकतामा राखौँ । कृषि पेशालाई वैज्ञानिकीकरण गरौँ । यदि यसरी गयौँ भने अबको एनआरएन सङ्क्रमण लगत्तैबाट नै नेपालमा समृद्धि पनि आउन सक्छ । त्यसको निम्ति वास्तवमै अबको कार्यनीतिलाई पुनर्जागृत गरिनुपर्छ, सबैले सम्मान गर्ने बनाइनु पर्छ । हामी यसमा सजग बनौँ ।

सेल्फ अर्गनाइजेशन अर्थात् अब अभियान विचारका फोरमहरूबाट लिउँ र सीमान्तकृत वर्ग लाभान्वित हुनेगरी दिउँ । तर त्यो डायस्पोरामा वा नेपालभित्र मजदुर, किसानको रुपान्तरणको सहायक बनोस्, चेतनासहित हस्तान्तरण गरेको सहयोग दीर्घकालिक हुन्छ । उसलाई दिने अनि वास्तै नगर्ने गर्दा दिएको सहयोगले काम गर्दैन । त्यसैले सहयोग गर्ने तर उसलाई किस्ता लगानीकर्ता बनाएर । चाहे वीरबहादुर विश्वकर्मा हुन् वा किसान ।

अहिलेको चरणसम्म आइपुग्दा एनआरएनए केन्द्रिय परिषद नै सबैथोक, सर्वेसर्वा भइदियो । राष्ट्रिय परिषदका कुरा सुन्न छाडिएको छ । उनीहरूलाई गलत वा सहि जे गर्दा पनि छुट जस्तो छ । इटालीका आइसिसि सदस्य मजदुर शोषण, करछली तथा मानव तस्करीको कारण जेलमा छन् । तर कारवाहीलाई सुनो नसुनो गरिन्छ । अध्यक्ष भट्ट नेपालको अर्गानिक रक्सीको चमत्कारले जहाजभित्रै ‘अगार्निक लफडा’ गरेर भाइरल बने । तर हामीलाई आचरणको संकट आएन । कारवाहीको त के कुरा प्रश्न उठाउन पनि कसैको हिम्मत आएन । किन त भन्दा केन्द्रले आफ्नो नेतृत्वको लागि इन्कलाबको इन्जेक्सन जो ठेसेको छ ! त्यसैले गर्दा नेतृत्वलाई अहिलेसम्म थामेको छ । अब त्यो प्रथाको अन्त्य हुने छ । डायस्पोराका लाटाहरू बोल्न थाले भने उनीहरूले बदमास, नियतवश भीष्म पितामहहरूको आशिर्वाद र वर्तमान उम्मेदवारहरूको हारिने डरको छाया पारेर छिरेका मानव तस्कर, दलाल र ठगहरूहरूको भागाभाग हुने निश्चित छ । समय बलवान छ ।

त्यसैले अबको एनआरएनको पहिलो एजेन्डा सेल्फ अर्गनाइजेशन हो । स्वायत्त सङ्गठन, कसैको हस्तक्षेप बिनाको सङ्गठन, दलाल माफियारहित शुद्ध देशभक्त नेपालीहरूको सङ्गठन र अनुशासित र कर्तब्यनिष्ठहरू कर्मवीरहरूको सङ्गठन । डायस्पोराका सम्पूर्ण मजदुर बाहिर दलाल मात्र भित्र रहे र सङ्गठन देशभक्त नेपालीबाट अलग्गियो भने यो सङ्गठनलाई इन्द्रेको बाउ चन्द्रे आए पनि बचाउन सक्दैन ।

एजेन्डामा कसरी जाने भन्ने बहस अहिलेसम्म भएकै छैन । मैले कुन क्षेत्रमा लगानी गरेँ भने ज्यादा नेपाली लुट्न सक्छु, अहिलेसम्म एनआरएनएमा भएको यही बहस हो । नेपालमा किसानको ठूलो जनमत छ, किसान नै किसानले भरिएका छ नेपाल । यो किसानको परम्परागत खेती प्रणालीबाट मुक्त नगरेसम्म नेपाल अगाडि बढ्न सक्दैन । मौलिक आयुर्वेदिक खेती गरेर आधुनिक तरिकाले एउटा मौलिक मेडिकल सिस्टम बनाउन सकिन्छ । त्यसमा पुराना आयुर्वेदिक डाक्टर धामीसमेतलाई जोड्न सकिन्छ । समुदायले आर्जन गरेको ज्ञानलाई अझ परिस्कृत गर्न सकिन्छ । चीनका गाउँमा रहेको सुडेनी, धाईआमालाई पनि राख्यो, झारफुक गर्ने धामीलाई पनि राख्यो, जडीबुटी ल्याउने र आधुनिक ज्ञान भएका मानिसलाई पनि राखेर उनीहरूले आधुनिक मौलिक उपचार पद्धति शुरु गरे । ‘एक्युपन्चर’ नामले त्यो अहिले विश्वमा प्रख्यात छ ।

पछि क्युबाले पनि त्यही शुरु गऱ्यो र क्युबाले आज औषधी विज्ञानमा चमत्कार गरेको छ । आज संसारमा सबैभन्दा राम्रो स्वास्थ्य स्थिति त्यहाँ बनेको छ । उनीहरू स्वास्थ्य सेवामा गए, हामी शिक्षा र स्वास्थ्य उद्योगमा गयौँ । हामीले नेपालमा बिरामीको ब्यापार गर्दैछौँ र अत्याधि नाफा कमाउने अस्पतालरुपी उद्योग खोल्दैछौँ । पहिला डाक्टरलाई देख्दा रोगीले मलाई निको पार्न आएको मान्छे भन्ने ठान्थे, अहिले डाक्टर देख्दा बिरामीले बेहोसीमा पनि घरबारी खान आएको, ऋणमा डुबाउन आएको, विदेशी दलालको एजेण्ड भनेर हामीलाई गालि गर्छन् । किन त्यस्तो देख्न थाले भने हामी शिक्षा तथा स्वास्थ्य सेवामा गएनौँ, शिक्षा तथा स्वास्थ्य उद्योगमा गयौँ र त्यस उद्योगका नाफाखोर पुँजीपतिहरू बनेर गयौँ । हामी नेपालमा लगानी गर्ने बहानामा जहाँ–जहाँ पुगेका छौँ ब्रम्हलुट मच्चाउने सोचले पुगेका छौँ । ए ! एनआरएनरुपी नारनहरू हो ! तिमीहरू नेपालीको सेवामा कहाँ गएका छौ र कति लगानी गरेका छौ ? यो अघिल्लो पुस्ताका एनआरएनए पितामहहरूलाई नेपाली जनताको गम्भीर प्रश्न हो ।

यो संस्थाभित्र समस्याहरूको सागर नै छ भन्दा हुन्छ । यो पुराना पितामहहरूले छोडेका समस्याहरू हुन् । यी समस्याहरूसँग लड्ने हिम्मत नयाँ पुस्तासँग हुनैपर्छ । त्यसैले सक्छौँ– त्योसँग लड नत्र बरबाद होऊ । यो भन्नुपर्ने अवस्था छ । सङ्गठनभित्रका समस्याका कुरा गर्दा खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय संयन्त्र ‘दी इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नलिस्ट’ (आईसीआईजे)ले सन् २०१७ मा गरेको ‘पनामा लिक्स’मा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का सात जनाले ट्याक्स हेवन मुलुकहरूमा लगानी गरेको तथ्य सार्वजनिक गरेको थियो । त्यसमा एनआरएनएका नेतृत्व वर्ग वा संस्थापकले देशमा लगानी गर्ने बहानामा ट्याक्स छल्ने र राज्यलाई कालोधनको मारबाट थला पार्ने गरेको एउटा दृष्टान्त हो यो ? यसबारे समेत बहस हुनु र सम्बन्धित पक्षसँग जानकारी मागिनु सर्वथा जायज हुने थियो ।

यस्ता तीता तथ्यबारे पत्रकारहरू राखेर बहस गर्ने सवालमा एनआरएनएका अभियन्ताहरू डराउनु हुँदैनथ्यो । पत्रकारहरूको अभिप्राय संस्थागत सुधारका पक्षमा हो भन्ने कुरा आझै पनि केही कुटिल अभियन्ताहरूले पचाउन सकिरहेका छैनन् । यस काइदाका संस्कारहरूले एनआरएनएलाई बचाउनेभन्दा डुबाउने सम्भावना बढी हुन्छ ।

एनआरएनएका टाठाबाठा अभियन्ताहरू विदेशमा समेत गैरकानुनी बाटोबाट धन कमाउन किन तल्लीन छन् ? एनआरएनएको नेतृत्व तहमा रहेका क्षेत्रकुमार श्रेष्ठलगायत केही नेपाली गैरकानुनी धन्दाका कारण जेलमा पुग्दासमेत उनीहरूलाई सम्बन्धित संस्थाले सार्वजनिक रूपमा कारबाही गरिएको छैन ? अन्य सुन वा मानव तस्करका आरोपीहरूलाई समेत अहिलेसम्म परिषद्को अनुशासन समितिले स्पष्टीकरणसम्म लिने जाँगर गर्दैन ? त्यो के हो ? यी विषयमा समेत डायस्पोराका नेपालीले प्रश्न सोध्न थालेका छन् ।

त्यस्तै, एनआरएनको आडमा थुप्रैपटक मानव तस्कर भएका छन् । उनीहरू नै चुनावमा उठिरहेका छन् । बैठकहरूमा एनआरएनएको लोगो र नेपाली झण्डा प्रयोग गरेर गरिने मानव तस्करी, आर्थिक अपचलन, शोषण तथा अन्य खराब प्रवृत्तिबाट सहज निकास निकाल्ने बाटोबारे खुला बहस हुनुपथ्र्याे । संगठनभित्र भएको व्यापक बेथितिबारे पर्याप्त छलफल हुनुपथ्र्याे चाहे त्यो शाखाहरूलाई समावेश गर्ने सवालमा होस् वा कार्यक्रम तय गर्ने सवालमा होस्, ती बेथितिबारे सम्मेलनमा बहस हुन सकेका छैनन् ।

एनआरएन नेतृत्वमा रहेका तिनै व्यवसायीहरू नै इमानदार मजदुरहरूलाई प्रवासमा समेत शोषण गर्ने औजारको रूपमा प्रयोग गर्न पछि पर्दैनन् । आफ्नै दाजुभाइ र भान्जाभान्जीबाट श्रमशोषण र लुटको उपायबारे सोचिरहन्छन् ।

पद्धतिमा पनि त्यस्तै बेथिति व्याप्त छ । नेपालबाट अतिथि, पत्रकार वा व्यवसायी ल्याउने नल्याउने सवालमा क्षेत्रीय परिषद्ले स्वायत्त निर्णय गर्न पाउनुपर्ने हो । तर यो सङ्गठनको जुनसुकै इकाई पनि माथिल्लो शक्तिको हस्तक्षेपबाट कुल्चिएको छ । राजनीतिक पूर्वाग्रहबाट निमोठिएको छ । नेपालबाट अतिथि बोलाउने कुरामा समेत केही रिटायर अभियन्ताहरूको रुचिकर चलखेल रहँदै आएको गुनासो सर्वत्र सुनिन्छ । जसलाई एनआरएनले सहज रूपमा अस्वीकार गर्दा सङ्गठनको गरिमा उचो हुने थियो । माथिकै आशीर्वाद लिएर भातभान्सामा पुग्ने लोभले गर्दा अहिलेसम्म त्यो हिम्मत कसैबाट नदेखिएकै हो ।

एफएनसीसीआईका पूर्वअध्यक्ष कुशकुमार जोशीलगायतले नेपाल पूर्वाधार कम्पनीको नाममा उठाएको करोडौँ रुपैयाँबारे एनआरएनए किन चुप छ ? त्यसमा एनआरएनएको केन्द्रीय तह संलग्न छ भनेर आरोप लागेको छ । त्यो प्रोजेक्टको हविगत कस्तो छ बाहिर आएको छैन । त्यसमा लगानी गरिसकेका आफ्ना सदस्यलाई जानकारी दिनुपर्दैन ? के आफ्ना सदस्यहरू लुटिँदा एनआरएनए जस्तो विशाल सङ्गठनको नेतृत्व चुप लाग्न मिल्छ ?

उनीहरूको लुट खेतीबारे त्यस्तै अर्काे एक प्रसङ्गमा कुरा गरौँ । काठमाडौंको बसपार्कमा टावर निर्माण गर्ने भनेर सिङ्गापुरका एनआरएनएहरूबाट करोडौँ कुम्ल्याएको आरोप लाग्ने गरेको ‘आइडिया नेपाल’सँगको सहकार्य बारेमा हामी किन बोल्दैनौँ ? यस्ता केही विवादित संस्थासँग आर्थिक लाभसहित सहकार्य गर्ने गरेको विगतले देखाउँछ । एनआरएनएका नेतृत्वकै अध्यक्षतामा २०१२ मा एनआरएन लगानी कम्पनीले १०० मेगावाटको हाइड्रो प्रोजेक्ट सुरु गऱ्यो, जसमा सात सय जनाको लगानी रहेको बुझिन्छ ।

त्यो कम्पनीअन्तर्गत लम्जुङको दर्दी खोलाको २७.५ मेगावाटको तीनवर्षे योजना २०१२ बाट सुरु गरियो । तर त्यो अहिलेसम्म सकिएको छैन । त्यसका लागि जम्मा भएको बजेटको अहिलेसम्म सावाँब्याज कता गयो ? जानकारी छैन । हेटौँडाको सुरुङमार्ग बनाउने बहानामा एफएनसीसीआईका पूर्वअध्यक्ष कुशकुमार जोशीलगायतले नेपाल पूर्वाधार कम्पनीको नाममा उठाएको करोडौँ रुपैयाँबारे एनआरएनए किन चुप छ ? त्यसमा एनआरएनएको केन्द्रीय तह संलग्न छ भनेर आरोप लागेको छ । त्यो प्रोजेक्टको हविगत कस्तो छ बाहिर आएको छैन । त्यसमा लगानी गरिसकेका आफ्ना सदस्यलाई जानकारी दिनुपर्दैन ? के आफ्ना सदस्यहरू लुटिँदा एनआरएनए जस्तो विशाल सङ्गठनको नेतृत्व चुप लाग्न मिल्छ ? कानुनी उपचारका लागि लगानीकर्तालाई वातावरण बनाइदिन मिल्दैन ?

अहिले एनआरएन अभियन्ता र सुदखोरबीच फरक छुट्याउन मुस्किल पर्ने अवस्थाको सिर्जना हुँदै गइरहेको आरोप छ । सुदखोरले जहिले पनि अरूकै लगानीबाट फाइदा लिने गर्छ । उसले जनजनबाट सेयर उठाउँछ, आफूलगायत आफन्तलाई तलबी कामदार बनाएर ठूलो रकम लगानी किस्ताको रूपमा भुक्तानी लिन्छ । तोकिएको समयमा काम नगरी उठेको रकम परिवारका अन्य सदस्यको नाममा अन्यत्र व्यवसायमा लगानी गर्छ र आफू व्यावसायिक वा उद्योगपतिका रूपमा स्थापित भएपछि मात्र सार्वजनिक कम्पनीको थालनी गर्छ ।

उसले लगानीकर्ताको व्याजको त के कुरा लगानीको मुख्य रकमसमेत धरापमा पारिदिन्छ । कसैले त्यसो हुनुको कारण सोध्यो भने, ‘मुआब्जाको व्यवधान, मानव दक्षता वा प्राकृतिक प्रकोपजस्ता कारण दिएर जिम्मेवारीबाट पन्छिन खोज्छ । अहिले एनआरएन अभियन्ताहरू सार्वजनिक लगानीको चोरबाटो प्रयोग गरेर आफ्नो लगानीविना व्यवसायीमा रूपान्तरण हुँदै गइरहेका छन् । हरेक एनआरएनएका बैठक, फोरम, सभा र सम्मेलनहरूमा विभिन्न रूपका उनीहरूकै व्यावसायिक विज्ञापनहरू देख्न सकिन्छ । अबको नेतृत्वको लागि यी पनि चुनौतीहरू हुन् ।

बाँच्ने र एनआरएनएलाई बचाउने एउटा मन्त्र यो पनि हो, ‘खराब तत्वले निजी फाइदाका लागि तपाईंको समर्थन गरेको छ भने समर्थन चाहिँदैन भनिदिनुस् । तपाईंका वरिपरिका घेरा फोहोर छन् र तिनीहरूको नियत र निर्देशन गलत लाग्छ भने त्यो त्यागिदिनुहोस् । फोहोर प्रवृत्तिका दलाल, सुदखोर र माफियाहरूको समर्थन र विरोधले हार्ने–जित्ने कुरा तपाईंको भ्रम हो । त्यो जमात त्याग्न सक्नुभयो भने तपाईं डायस्पोराका मजदुर नेपालीहरूको मन जित्न सफल हुनुहुनेछ । हरेक कर्ममा नेपालीहरूको साथ पाउनुहुनेछ । त्यसपछि तपाईंको कीर्तिलाई कसैले रोक्न सक्नेछैन । अब पुरानो पोलिसीको समीक्षा गर्नुपर्ने बेला आएको छ । यसको साथै पुरानो सम्बन्ध, सोच र कार्यशैली चेन्ज गर्नुपर्ने बेला आएको छ । कर्मशील युवा जोस तथा परिवर्तनशील सोच भएको विवेकशील नेतृत्व चाहिएको हो अबको एनआरएनमा ।

हामीकहाँ परम्परागत सोच र संस्कारले नै यस्तो भएको हो । माथिल्लो आर्थिक हैसियतलाई केन्द्र मान्ने र जसरी पनि अनुग्रह प्राप्तिका लागि उनीहरूकै वरिपरि घुम्ने चाकरीबाज सामान्ती संस्कार र संस्कृतिले यो अवस्था आएको हो ।

सच्चिनु भनेको सुध्रनु हो, परिवर्तन हुनु हो । केन्द्र सच्चियो भने राष्ट्रिय परिषद्हरू स्वतः सच्चिन्छन् । अभियानकर्मीहरू सच्चिन्छन्, प्रशासनका कारिन्दाहरू सबै सच्चिन्छन् । नेतृत्व रूपान्तरण भए, मुलुकको समेत आर्थिक–सामाजिक रूपान्तरणमा मद्दत पुग्छ । अरब, अफ्रिका जस्ता असुरक्षित देशमा कठिन जीवन गुजारिरहेका नेपालीको सुरक्षा चासोको सम्बोधन हुन्छ । शीर्ष भनिनेहरूबाट सामाजिक सङ्गठनकै आड लिएर आर्थिक लाभ लिने धन्दा अझै फटाउँदै गयो भने तपाईं–हामी रोएर एनआरएनए बाँच्दैन, सकिन्छ ।

अहिले एनआरएन अभियन्ताहरू सार्वजनिक लगानीको चोरबाटो प्रयोग गरेर आफ्नो लगानीविना व्यवसायीमा रूपान्तरण हुँदै गइरहेका छन् । हरेक एनआरएनएका बैठक, फोरम, सभा र सम्मेलनहरूमा विभिन्न रूपका उनीहरूकै व्यावसायिक विज्ञापनहरू देख्न सकिन्छ । अबको नेतृत्वको लागि यी पनि चुनौतीहरू हुन् ।

सदस्य बन्न क्रमशः हिच्किचाइरहेको अवस्था छ । स्वतस्फूर्त सदस्य बन्ने विकल्प सकिएपछि उम्मेदवारहरूले रुँदै आफै पैसा हालेर सदस्य बनाउँछन्, टिकट काटेर नेपाल लैजान्छन्, खान्की, रुई फुईको व्यवस्था गर्छन् र पकेट खर्चसमेत दिन्छन् । त्यतिले चुनाव जित्न कहाँ पुग्छ र ? अर्काेतिर नेपालका बडे नेताहरूलाई खर्चको जोहो गरिदिन्छन् र मुख्य नेताको जी–हजुरी, नेताजीहरूको आर्थिक माग पूरा गर्ने बचन दिन्छन् । चुनाव जित्नु भनेको त्यसपछि नेताबाट पाउने समर्थनले हो भन्ने नेतृत्वको बुझाइ छ । एनआरएनका अघिल्ला नेतृत्वले नेपालका नेताहरूको बानी बिगारे । कार्यकर्तालाई खरिदको साधन बनाए । त्यसपछि जितेर पाएको पदका लागि उत्सव गर्छन्, रमाउँछन् र गर्व गर्छन् हाम्रा एनआरएनएका नेताहरू ।

अब राजनीतिक तथा दलालहरूको सेन्डिकेट तोड्ने हिम्मत भएको एनआरएनए नेता चाहिएको छ । त्यसको विरुद्ध पनि सबै एनआरएन सचेत हुन जरुरी छ ।

नेपालका नेताहरूको चाकडी गर्नुको मूल अभिप्राय सङ्गठनको सहुलियतमा लिने व्यक्तिगत लाभ र भ्रष्टचारीहरूसँगको कनेक्सन बलियो बनाउनु हो । लगानीबारे प्रवासी नेपालीलाई अनेक तरिकाले झुक्याइन्छ । मालिक अभियन्ताहरूले सेयरवापत उठेको पैसाबाट गज्जबले शोषण गर्छन् । उनीहरूले आफ्नै सन्तान वा आफन्तको रोजगारी त्यही कम्पनीमा ग्यारेन्टी गरिदिन्छन् र काम सम्पन्न नहुँदैबाट अधिकतम तलबको व्यवस्थापन गरिदिन्छन् । त्यसका लागि लगानीकर्ताहरूले सूक्ष्म अनुगमन गर्नु आवश्यक मात्र नभएर अनिवार्य हुन्छ । एनआरएनएको नेतृत्वमा जान मरिहत्ते गर्नुको मूल अभिप्रायमध्ये यो पनि एक हो । त्यसमा केही अभियन्ताहरू अपवाद पनि हुन सक्लान् तर अहिलेसम्मको यथार्थ नियति यही हो । यो अग्रजहरूको कुरुप नासो जलाउनुको विकल्प छैन ।

त्यसैले यो सङ्गठनमा सबैतिरको बेथिति विरुद्ध खबरदारी निरन्तर आवश्यक छ र रहन्छ । सङ्गठनभित्र झाँगिदै गएका यी गलत परम्पराको तार्किक प्रतिकार गर्ने हिम्मत भएन भने डायस्पोराको नेपाली समाज दासहरूको जत्थामा रूपान्तरित हुनेछ । त्यसैले तथ्य बोल्ने र लेख्ने साहस गर्नैपर्छ, अब बोलौँ ।

आफूले गर्वसाथ नाम लिन सकिने, ओजिलो, हिमाल जस्तै कञ्चन र उज्यालो भविष्य, मार्ग, उद्देश्य र लक्ष्य बोकेको एनआरएनतिर जोडदार रुपले बढौँ ।