मोदीको ६९औँ जन्मोत्सवमा पशुपतिमा विशेष पूजा

मोदीको ६९औँ जन्मोत्सवमा पशुपतिमा विशेष पूजा


भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको ६९औँ जन्मोत्सवको अवसरमा पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरिएको छ । रुद्राभिषेकसहितको विशेष पूजा शुक्रबार (३ असोज) बिहान साढे नौ बजेपछि गरिएको थियो । मोदीको दीर्घायु, दीर्घ सुशासन र स्वच्छ भारतको लक्ष्यसहित निरन्तर अघि बढोस् भन्ने सङ्कल्पले आज विशेष पूजा गरिएको पशुपतिनाथका मूल अर्चक रावल गणेश भट्टले जानकारी दिए ।

पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्न भारतीय जनता पार्टी (भाजपा) का नेता सञ्जीव शुक्लाको नेतृत्वमा कमलेश तिवारी, उमेश गुप्ता, राकेश तिवारी, लालता साहू, डा शिवमोहन गुप्तासहितको समूह काठमाडौं आएको राससले जनाएको छ ।

सन् १९५० सेप्टेम्बर १७ तारिखका दिन जन्मनुभएका भारतीय प्रधानमन्त्री मोदी ६९ वर्ष पूरा भई यसै हप्ता ७० वर्ष प्रवेश गरेका छन् । दोस्रोपटक मोदी भारतको प्रधानमन्त्री भएको १०० दिन पूरा भएको अवसरसमेत पारेर विशेष पूजा गरिएको भारतीय समूहका नेता शुक्लले जानकारी दिए ।

पशुपति क्षेत्र विकास कोषको रसिद काटी मोदीका तर्फबाट मूल भट्टले विशेष पूजा गरेका हुन् । विशेष पूजापछि पशुपति प्राङ्गणमा नेपाल–भारत मित्रताको कामना गरिएको थियो । भारतबाट आएको समूहले पशुपतिनाथको प्रसाद प्रधानमन्त्री मोदीलाई लैजाने समूह प्रमुख शुक्लले जानकारी दिए ।