क्यानडाका प्रधानमन्त्रीद्वारा आफ्नै पुराना तस्बिरका लागि क्षमायाचना

क्यानडाका प्रधानमन्त्रीद्वारा आफ्नै पुराना तस्बिरका लागि क्षमायाचना


क्यानडाका प्रधानमन्त्री जस्टीन ट्रुडोले आफ्ना विगतका फोटोहरूप्रति क्षमायाचना गरेका छन् । लिवरल पार्टीका नेतासमेत रहेका ट्रुडोले निर्वाचन नजिकिँदै गर्दा आफ्नो केही पुरानो फोटोलाई लिएर क्षमायाचना गर्नुपर्ने अवस्था सिर्जना भएको हो ।

क्यानडामा अर्को महिना आम निर्वाचन हुन लागेको छ । ट्रुडो दोस्रो कार्यकाल सम्हाल्ने तयारीका साथ त्यस निर्वाचनमा होमिएका छन् ।

उनको पुरानो फोटोले उनलाई अहिले तानवमा पार्नुका साथै नैतिक दबाबमा समेत पारेको सिन्ह्वाले जनाएको छ ।

उनी २०–२१ वर्षको हुँदा खिचिएका तस्बिर हाल सार्वजनिक भएका छन् र त्यसमा उनले अनुहार तथा हातमा कालो रंग पोतेको देखिएको छ ।

ट्रूडोको त्यो फोटोले उनी विगतमा रंगभेदी थिए भन्ने पुष्टि गरेको विपक्षीको आरोप छ । त्यही फोटोलाई लिएर विपक्षीहरूले उनका विरुद्धमा चुनावी माहोल तयार पार्ने प्रयास गरेका छन् ।

उनले आफ्नो विद्यार्थीकालमा अभिनयका लागि ‘विषयबस्तु’ को रुपमा प्रयोग गरेको स्वरुपलाई विपक्षीहरुले दुरुपयोग गरेको उनको भनाई छ ।

उनले यस्ता तस्बिर अरु पनि हुन सक्ने र त्यसबाट आफूलाई लज्जित बनाएको पनि बताएका छन् । तर तस्बिरमा देखिएजस्तो र व्याख्या गरिएजस्तो रंगभेदी आफू नभएको ट्रूडोको दाबी छ ।

उनले सन् २०१५ मा प्रधानमन्त्रीका रुपमा शपथ लिएपछि आफ्नो मन्त्रीमण्डलमा आधा महिला, तीनजना शिख समुदायका व्यक्ति तथा दुईजना आदिबासी समुदायका व्यक्तिलाई समावेश गरेका थिए ।