राष्ट्रिय पोशाक पुनर्स्थापित गर्ने प्रस्ताव बाबुरामले उल्ट्याएको खुलासा

राष्ट्रिय पोशाक पुनर्स्थापित गर्ने प्रस्ताव बाबुरामले उल्ट्याएको खुलासा


नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य भीम रावलले वर्तमान लोकतान्त्रिक संविधान जारी भएको दिनलाई कालो दिन भन्नेको मन कालै भएको बताएका छन् ।

राष्ट्रिय पोशाक संरक्षण महाअभियान जिल्ला कमिटीद्वारा संविधान दिवसको अवसरमा आज (२ असोज) बनेपामा आयोजित ‘औपचारिक राष्ट्रिय पोशाक घोषणामा आम नागरिकको भूमिका’ विषयक विचार गोष्ठीमा नेता रावलले नागरिकतासम्बन्धी अन्तरिम संविधानको कुरा उठाउने र प्रतिनिधिसभा राज्य व्यवस्था समितिमा २०६३ सालको अन्तरिम विधेयकअनुसार दिनुपर्ने भन्नेले वर्तमान संविधान जारी भएको दिनलाई कालो दिन भनेको भन्दै टिप्पणी गरेका हुन् ।

नेपाली काङ्ग्रेसले तत्कालीन अन्तरिम संविधानअनुसार जारी विधेयकबाट नागरिकता दिनुपर्ने कुरा गर्नु पनि नाजायज भएको नेता रावलको तर्क थियो । पश्चगामी र नेपालीको अहित हुने दिशातर्फ मुलुक जानुहुँदैन, अझै गलत र अवैध तरिकाले नागरिकता दिइएको पाइए तत्काल खारेज गर्नुपर्छ भन्ने उनको धारणा छ । विदेशीलाई नेपालमा ल्याएर नेपालीलाई अल्मल्याउने षडयन्त्र भइरहेको उनको आरोप थियो ।

नेता रावलले आफू गृहमन्त्री हुँदा नेपाल र नेपालीको पहिचान बोकेको दौरा सुरुवाल र गुन्यू चोलीलाई पुनः राष्ट्रिय पोशाकको रुपमा पुनःस्थापित गर्ने निर्णयलाई तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले उल्ट्याएको खुलासा गरे।

सोही अवसरमा नेपाली सेनाका पूर्वप्रधानसेनापति रुक्माङ्गद कटुवालले हरेक राष्ट्रको आ–आफ्नो राष्ट्रिय पहिचान भएको चर्चा गर्दै भाषा, संस्कृतिअनुसार पहिचान दिलाउन सकिने तर्क अघि सारे । ‘नेपाली हुँ भनेर चिनाउने हजारौँ पहिचान छन्, सबैले रुचाउने विषयलाई राष्ट्रिय पहिचान बनाउनुपर्छ’, उनको भनाई थियो ।

प्रदेशसभा सदस्य वसुन्धरा हुमागाईं, मण्डन देउपुर नगरपालिका प्रमुख टोकबहादुर वाइवा, बनेपा नगरपालिका उपप्रमुख रेखा दाहाललगायतले राष्ट्रिय पोशाक संरक्षण महाअभियानलाई देशव्यापी बनाउन सुझाव दिए भने अभियानका केन्द्रीय अध्यक्ष विवश घिमिरे र जिल्ला संयोजक नवराज घिमिरेले आफूहरुको अभियानमा साथ दिन सबैसँग आग्रह गरे ।


pict:rss