गाउँपालिका केन्द्र सार्न लागेको विरोधमा दुईवटा वडा कार्यालयमा तालाबन्दी

गाउँपालिका केन्द्र सार्न लागेको विरोधमा दुईवटा वडा कार्यालयमा तालाबन्दी


बैतडीको डिलाशैनी गाउँपालिकाको केन्द्र सार्न लागिएको विरोधमा सो गाउँपालिकाको दुईवटा वडाका कार्यालयमा तालाबन्दी गरिएको छ ।

गाउँपालिकाका केन्द्र वडा नं. ७ साबिकको डिलाशैनी गाविसमै हुनुपर्ने माग गर्दै स्थानीयवासीद्वारा गठित संघर्ष समितिले वडा नंं. ४ र ७ का कार्यालयमा बुधबारदेखि तालाबन्दी गरेको हो । समितिले त्यहाँस्थित स्वास्थ्य संस्थाबाहेक वडा कार्यालय, विद्यालय र विभिन्न संघसंस्थालगायतका कार्यालयमा तालाबन्दी गरेको प्रहरीले जनाएको छ ।

राज्य पुनर्संरचना हुँदा गाउँपालिकाको केन्द्र साबिकको डिलाशैनी गाविस तोकेको भए पनि गत भदौ २५ गतेको गाउँकार्यपालिकाको बैठकले केन्द्र छनोटको लागि विज्ञ टोली बोलाउने निर्णय गरेको थियो । उक्त बैठकले विज्ञ टोली बोलाउने निर्णय गरेको र उक्त टोलीको प्रतिवेदनका आधारमा केन्द्र छनोट गरिने गाउँपालिका अध्यक्ष उकेन्द्र बोहराले जानकारी दिए ।

गाउँपालिकाको उक्त निर्णयको विरोध गर्दै वडा नं. ४ र ७ का स्थानीय आन्दोलित भएका हुन् । उनीहरूले संघर्ष समिति गठन गरी यसअघि गाउँपालिका कार्यालय, जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्रसमेत बुझाइसकेका छन् । गाउँपालिका केन्द्र अन्यत्र सारिए कडा आन्दोलनमा जाने स्थानीयवासी दीपकबहादुर धामीले बताए ।

गाउँकार्यपालिकाको पहिलो बैठकले साबिकको डिलाशैनी गाविसभित्र उपयुक्त स्थान छनोट गर्ने भने पनि हाल आएर गाउँपालिका अन्यत्र सार्न चलखेल भएकोले बाध्य भएर आन्दोलन गर्नुपरेको धामीको भनाइ छ ।

वडा कार्यालयलगायत अन्य कार्यालयका तालाबन्दी हुँदा सम्पूर्ण कामकाज ठप्प भएका वडा नं. ७ का वडाध्यक्ष प्रेमसिंह धामीले जानकारी दिए । सम्पूर्ण कामकाज ठप्प हुँदा स्थानीय नागरिक समस्यामा परेका छन् । संघर्ष समितिले तालाबन्दी गरेपछि उक्त क्षेत्रमा शान्तिसुरक्षाका लागि प्रहरी परिचालन गरिएको प्रहरी चौकी गोकुलेश्वरका प्रहरी हबल्दार नरेशसिंह कुँवरले बताए ।

गाउँपालिका केन्द्र छनोट गर्न १२ लाख ५० हजार

बैतडीको डिलाशैनी गाउँपालिकाको केन्द्रको उपयुक्त स्थान छनोट गर्न १२ लाख बढी बजेट छुट्याइएको छ । गाउँपालिका केन्द्रको लागि उपयुक्त स्थान छनोट गर्न विज्ञ टोली बोलाउन रु. १२ लाख ५० हजार रकम विनियोजन गरिएको गाउँपालिका अध्यक्ष उकेन्द्र बोहराले जानकारी दिए ।

सामाजिक, भौगोलिक र पूर्वाधारको अध्ययनको लागि विज्ञ टोली बोलाउने गाउँकार्यपालिकाको बैठकले निर्णय गरेको हो । उनले भने, ‘भविष्यसम्मको लागि उपयुक्त स्थानमा केन्द्र छनोट हुन्छ ।’ टोलीको प्रतिवेदनका आधारमा गाउँसभाले केन्द्रबारे निर्णयले गर्ने पनि अध्यक्ष बोहराले जानकारी दिए ।

राज्य पुनर्संरचना हुँदा साबिकको डिलाशैनी गाविस (हालको वडा नं. ७) मा गाउँपालिका केन्द्र तोकिएको र त्यसपश्चात् गाउँकार्यपालिकाको पहिलो बैठकले पनि डिलाशैनी गाविसभित्र उपयुक्त स्थान छनोट गर्ने निर्णय गरेको थियो । गएको १ वर्षदेखि तोकिएको केन्द्रभन्दा बाहिर सम्पर्क केन्द्र राखेर गाउँपालिकाले कामकाज गरिरहेको छ । गाउँपालिका–७ मा केन्द्र तोकिएको भए पनि वडा नं. ३ पसेराबाट कामकाज भइरहेको छ ।
रासस