एउटा ‘खुला सङ्ग्रहालय’ : कपिलवस्तु

एउटा ‘खुला सङ्ग्रहालय’ : कपिलवस्तु


■ श्याम क्षेत्री

प्राचीन कपिलवस्तु राज्यको राजधानीको रूपमा परिचित कपिलवस्तु जिल्ला ऐतिहासिक तथा पुरातात्विक महत्वको खानी हो । क्रकछन्द बुद्ध, कनकमुनी बुद्ध र शाक्यमुनी बुद्धको पवित्र स्थल कपिलवस्तुको उत्खनन, संरक्षण र विकासबाट समग्र प्रदेश नं. ५ को विकासलाई सघाउ पुग्छ ।

गौतम बुद्धले २९ वर्ष बिताएको गृहनगर तथा उनका पिता राजा शुद्धोधनको प्रमुख प्रशासकीय राजदरबार क्षेत्र तिलौराकोट, बुद्धले ज्ञान प्राप्त गरेपछि प्रथम पटक आफ्ना माता–पिता र परिवारलाई भेट गरेको स्थान कुदान, क्रकछन्द बुद्धको जन्म स्थल गोटिहवा, कनकमुनी बुद्धको जन्मस्थल निग्लिहवालगायत एक सय बढी बौद्धकालीन पुरातात्विक स्थलहरू कपिलवस्तुमा रहेका छन् । यसरी हेर्दा कपिलवस्तु जिल्ला खुला सङ्ग्रहालय नै हो ।

कपिलवस्तुलाई लुम्बिनीसँग जोडेर समग्र प्राचीन कपिलवस्तु क्षेत्रलाई प्रदेश नं. ५ को प्रमुख गन्तव्य पर्यटकस्थल बनाउन जरुरी छ । कपिलवस्तुका प्राचीन पुरातात्विक क्षेत्र पुग्न फराकिलो बाटो, पुरातात्विक स्थलको संरक्षण विकास र प्रचारप्रसार, यस क्षेत्रको वरपर सुविधासम्पन्न होटल रेष्टरेन्टहरू लगायतका पुर्वाधारहरुको विकास गर्न सके स्वदेशी तथा विदेशीहरूको आकर्षक गन्तव्य बन्न सक्छ, कपिलवस्तु ।

लुम्बिनी आउने अधिकांश पर्यटकहरुलाई कपिलवस्तु आकर्षित गरी उनीहरूको बसाईलाई लम्ब्याउन यहाँका पुरातात्विक स्थलहरूको विकासमा प्रदेश सरकारको विशेष चासो जरुरी छ । माल पाएर चाल नपाए जस्तो सधै उपेक्षित रहेको प्राचीन कपिलवस्तु क्षेत्रलाई विशेष रूपमा विकास गर्न प्रदेश सरकारले प्रदेशस्तरीय गौरव योजनाहरू लागू गरी समग्र कपिलवस्तु क्षेत्रलाई नै खुला सङ्ग्रहालय बनाउनु पर्छ ।

यसबाट यस क्षेत्रका आम सर्वसाधारणहरूको जिवीकोर्पाजनमा सुधार आउने, रोजगारीका अवसरहरू सृजना हुने, आन्तरिक तथा वाह्य पर्यटनबाट राष्ट्रिय अर्थतन्त्रलाई समेत टेवा पुऱ्याउन ठुलो सघाउ पुग्ने निश्चित छ ।

कपिलवस्तु क्षेत्रका सवै राजनैतिक दल, नागरिक समाज, प्रदेशसभा सदस्य, प्रतिनिधि सभा सदस्य सबै एक भई कपिलवस्तु विकासको आवाज प्रदेश र केन्द्र सरकारतर्फ बुलन्द गर्न जरुरी छ । यसका अलावा स्थानीय तहले समेत आ–आफ्ना क्षेत्रमा पर्ने यस्ता प्राचीन पुरातात्विक स्थलहरूको विकासमा समेत विशेष अग्रसर भइ अघि बढ्नु जरुरी छ ।