जंगली च्याउ खाएपछि पाँच अस्पताल भर्ना

जंगली च्याउ खाएपछि पाँच अस्पताल भर्ना


झापाको कमल गाउँपालिका–५ मा विषाक्त जंगली च्याउ खाँदा बिरामी भएर परिवारै अस्पताल भर्ना भएको छ । जिल्ला प्रहरी कार्यालय झापाले जनाएअनुसार बुधबार दिउँसो जंगलबाट ल्याएको च्याउ पकाएर खाएपछि ५० वर्षीया मीना सार्की तथा उनका दुई छोरा २९ वर्षीय रमेश सार्की र २५ वर्षीय कुमार सार्की सिकिस्त बिरामी भएका थिए ।

सोही च्याउको तरकारी खाएका छिमेकीहरू ७१ वर्षीय दुर्गा जिमी राई र निजकी श्रीमती ५८ वर्षीया मनकुमारी राईसमेत सिकिस्त बिरामी भएपछि पाँचैजनालाई शुरुमा दमकको आम्दा अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । तर, अवस्था गम्भीर भएको जनाउँदै थप उपचारका लागि उनीहरूलाई बुुधबार राति नै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुऱ्याइएको छ ।