भ्रमण वर्षको आधिकारिक वेबसाइट तथा समाचार पोर्टल सार्वजनिक

भ्रमण वर्षको आधिकारिक वेबसाइट तथा समाचार पोर्टल सार्वजनिक


भ्रमण वर्षको प्रभावकारी प्रवद्र्धनका लागि नेपाल भ्रमण वर्ष २०२० सचिवालयले आधिकारिक वेबसाइट, समाचार पोर्टल तथा सामाजिक सञ्जाल सार्वजनिक गरिएको छ ।

उक्त वेबसाइट तथा सामाजिक सञ्जालको एक कार्यक्रमकाबीच शुभारम्भ गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले भ्रमण वर्षको प्रचारप्रसारमा यसबाट थप गुणात्मक सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

भ्रमण वर्ष अभियानका गतिविधि द्रुत गतिमा अघि बढेको सन्दर्भमा भ्रमण वर्षसम्बन्धी सम्पूर्ण सूचना तथा जानकारीलाई सहजरुपमा ग्रहण गर्न वेबसाइट तथा सामाजिक सञ्जाल उपयोगी हुने उनले उल्लेख गरे ।

त्यहाँ राष्ट्रपति, प्रधानमन्त्री, संवैधानिक निकायका प्रमुख, विभिन्न राजनीतिक दलका नेता, चर्चित सेलीब्रेटी, आरोही, ख्यातिप्राप्त खेलाडी, प्रतिष्ठित व्यवसायी आदिको सन्देश समेटिने उनको भनाइ थियो ।

नेपालमा घुम्न कहाँ जाने, प्राकृतिक, भौगोलिक, सांस्कृतिक, धार्मिक तथा अध्ययन अनुसन्धानका हिसाबले कुन क्षेत्रमा जानेजस्ता सूचनालाई भ्रमण वर्षको साइटमा राखिनेछ ।

पर्यटनमन्त्री भट्टराईले भ्रमण वर्ष सरकार या कुनै अमुक व्यक्ति तथा राजनीतिक दलको मात्र नभई आम नेपालीको सरोकार भएको विषय हो भन्दै यसलाई सफल बनाउन साझा अभियानका रुपमा लाग्नुपर्नेमा जोड दिए ।

पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले नजिकिएको भ्रमण वर्ष अभियानलाई प्रभावकारीरुपमा प्रवद्र्धन गर्न वेबसाइट र सामाजिक सञ्जालले सहयोग पुग्ने धारणा राखे ।

भ्रमण वर्ष अभियानका राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्यले अभियानलाई प्रभावकारीरुपमा अघि बढाउन सचिवालय पूर्ण क्षमताका साथ लागिपरेको बताए । वेबसाइटमा समाचार सन्देश मात्र नभई किन नेपाल भ्रमण गर्नुपर्छ भन्ने अन्तरवार्तासहितका सामग्री राखिनेछ । भ्रमण वर्ष कार्यक्रम कार्यान्वयन उपसमितिका अध्यक्षसमेत रहनुभएका सचिव अधिकारीले देशभरका गन्तव्यबाट आएका भिडियोलाई छनोट गरी उत्कृष्टलाई पारिश्रमिकको व्यवस्थासमेत मिलाउन सचिवालयलाई निर्देशन दिए ।

भ्रमण वर्षका औपचारिक वेबसाइटमा www.visitnepal2020.com तथा भ्रमण वर्षको औपचारिक समाचार पोर्टल www.visitnepalnews.gov.np रहेका छन् ।

त्यस्तै सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, इन्स्टाग्राम र लिंकङइनका औपचारिक ह्याण्डल सार्वजनिक गरिएको छ । facebook-@nepallifexperiences, instagram-@visitnepalyear2020_official,twitter-@vny2020official,linkedin-@visitnepal2020-secretariat रहेको छ ।

नेपाललाई विश्व पर्यटन बजारमा गुणस्तरीय पर्यटकीय गन्तब्यका रुपमा विकास र प्रवद्र्धन गर्दै सन् २०२० मा कम्तीमा २० लाख विदेशी पर्यटक भित्र्याउन, पर्यटक खर्च दर बढाउन, पर्यटकको बसाई लम्ब्याउन र थप सुखद बनाउन सहयोग गर्ने उद्देश्यले भ्रमण वर्ष अभियानअन्तर्गत विभिन्न कार्यक्रम अघि बढाइएको भ्रमण वर्ष सचिवालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।

भ्रमण वर्षले सन् २०२० मा हाल १२ दिनको पर्यटकको बसाई अवधिलाई लम्ब्याएर १५ दिन पु¥याउने र प्रति पर्यटक खर्च दैनिक ६५ डलर पु¥याउने लक्ष्य लिइएको छ । कूल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान पाँच प्रतिशत पु¥याउने तथा विदेशी मुद्रा आर्जनमा पर्यटन क्षेत्रको योगदान आठ प्रतिशत पु¥याउने लक्ष्य राखिएको छ ।