महँगी र भ्रष्टाचार नियन्त्रण गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण

महँगी र भ्रष्टाचार नियन्त्रण गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण


■ नारद कोहार, कपिलवस्तु

समाजवादी पार्टीनिकट समाजवादी युवा संघले महँगी र भ्रष्टाचार नियन्त्रण गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमार्फत बढ्दो भ्रष्टाचार, महँगी, बेथिति र विभिन्न स्वादेशी तथा विदेशी कम्पनीहरुले सरकारलाई तिर्नुपर्ने करलगायतको विषयमा ध्यानाकर्षण गराएको छ । संघका केन्द्रिय सदस्य नवाश शाहको नेतृत्वमा गएको नेता कार्यकर्ताहरुको टोलीले प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा भ्रष्टाचार, महँगी, बेथिति बढ्नुको साथै स्वदेशी र विदेशी कम्पनी राजश्व नतिरी उम्कन खोजेको भन्दै ध्यानाकर्षण गराइएको छ ।

एनसेललगायतका कम्पनीले कर नतिरेर नेपाललाई आर्थिक रुपमा कमजोर पार्ने षडयन्त्र भएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।केन्द्रिय सदस्य नवाश शाह र प्रदेश उपाध्यक्ष मेनाज खाँद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकालाई जनताले शंकाको दृष्टिकोणले हेर्नुपर्ने अवस्था सृजना भएको, देशको ऋण १० खर्ब नाघेको, व्यापार घाटा आकाशिएकोमा चिन्ता व्यक्त गरिएको छ ।

सरकारले कुरीति, बेथिति नियन्त्रण नगरेमा समाजवादी युवा संघले संघर्षका कार्यक्रम ल्याउने चेतावनी उनीहरुले दिएका छन् ।