दाङका विकासप्रेमी मेयरले दर्शाए यस्तो राजनैतिक संस्कार

दाङका विकासप्रेमी मेयरले दर्शाए यस्तो राजनैतिक संस्कार


■ सनत आचार्य

गत शनिबार दाङको तुल्सीपुर उममहानगर पालिकाका मेयर घनश्याम पाण्डेले नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई तुल्सीपुरस्थित एकान्त होटलमा भेटे । यो भेटप्रति स्वयम् नेकपाका कतिपय सदस्यहरूले विपक्षी दलको नेतालाई भेटेको भनि आलोचना गरे भने अन्य जनसमुदायले यो भेट अत्यन्त सान्दर्भिक, सह्राहनीय र राजनैतिक संस्कारको रुपमा विकशित गरिनु पर्ने उदाहरणीय काम भनी सकारात्मक टिप्पणी गरे ।

०४६ को ऐतिहासिक आन्दोलनपछिको केहि समय हाम्रो समाज राजनैतिक रुपले काङ्ग्रेस, कम्युनिष्ट र मण्डले अर्थात् पञ्चायती अवशेष गरी तीन खेमामा विभाजित भयो । घरभित्रकै दाजुभाइहरू पनि यी तीन खेमामा बिभाजित हुँदा पानीबाराबारको सम्मको अवस्था रह्यो । घर र समाजभित्रका गतिविधिहरूमा समेत फुट प्रष्ट देखिन्थ्यो । मराउ–पराउमा समेत सहयोग र सहकार्य देखिँदैनथ्यो । यो संस्कार यसरी विकराल बन्दै गएको थियो कि कसैले कसैको छायासमेत हेर्न चाहँदैनथे । कतिपय मानिसहरूमा परिवार र समाज यसरी विभाजित हुँदा कालान्तरमा भयावहको स्थिति श्रृजना हुने भय र चिन्ता पैदा गरेको थियो ।

गत स्थानीय निर्वाचनमा पाण्डेले नेकपा एमालेका तर्फबाट मेयर पदमा उम्मेदवारी दिएका थिए भने काङ्ग्रेसको तर्फबाट पूर्वसांसद गेहेन्द्र गिरी प्रतिष्पर्धी थिए । यी दुवैको ह्याभी वेट भएका कारण नगरको चुनावमा यिनीहरू बीचमा कडा प्रतिष्पर्धा थियो । जनमत कता र कसको पोल्टामा जाने हो भन्ने यकिन गर्न मतदाताहरूलाई हम्मे–हम्मे थियो । तथापि, पूर्व उपमेयर रहँदा जनतासँगको सामिप्यता र स्थानीय तहमा गरेका विकास–निर्माणले पाण्डेलाई परिणाम आफ्नो पक्षमा ल्याउन सजिलो भएकै हो ।

स्थानीय तहमा रहेका राजनैतिक शक्तिहरू विकासका सवालहरूमा एक हुन र गराउन आवश्यक रहकाले पनि यो भेट गरिएको हुनसक्छ । त्यस्तै पछिल्लो समयमा नगर काङ्ग्रेसहरू मेयर पाण्डे विरुद्ध जुनसुकै बेला पनि खनिन सक्ने र विगतमा नगर काङ्ग्रेसले लगाएका आरोप र उनीविरुद्ध छेडिएको आन्दोलनलाई मत्थर गर्न सभापतिसँग निकटता देखाएको हुन सक्छ ।

मेयर पाण्डेले नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्नुका मुख्य दुई उदेश्यहरू देखिन्छन् । पहिलो, सामान्य शिष्टाचार र दोश्रो, रणनीति । तर मेयरको यो भेटघाट शिष्टाचार नभई रणनीतिक भएको अनुमान लगाइएको छ । उनको सोचाई र बुझाईमा विकासका हरेक तहमा नेपाली काङ्ग्रेसको पनि भूमिका महत्वपूर्ण रहन्छ । त्यसमा पनि देउवा देशको राजनीति र विकासमा समेत प्रभाव पार्न सक्ने व्यक्ति भएकाले दाङ र नगरको समग्र विकासका लागि उनीहरू बीचको भेटघाट आवश्यक रहेको थियो । मेयर पाण्डेको बुझाईमा नगर, अहिले विकासको दृष्टिकोणले संक्रमणकालिन अवस्थामा छ । यो अवस्थामा स्थानीय तहमा रहेका राजनैतिक शक्तिहरू विकासका सवालहरूमा एक हुन र गराउन आवश्यक रहकाले पनि यो भेट गरिएको हुनसक्छ । त्यस्तै पछिल्लो समयमा नगर काङ्ग्रेसहरू मेयर पाण्डे विरुद्ध जुनसुकै बेला पनि खनिन सक्ने र विगतमा नगर काङ्ग्रेसले लगाएका आरोप र उनीविरुद्ध छेडिएको आन्दोलनलाई मत्थर गर्न सभापतिसँग निकटता देखाएको हुन सक्छ । यो मेयर पाण्डेको एक कुटिल रणनीति हो भन्ने नागरिकको अर्को बुझाई छ ।

हुन त मेयर पाण्डे सभापति देउवालाई नगरका उद्योगी, व्यापारी, नागरिक र बुद्धिजीवीहरू बीच नगरकै सभाहलमा राखेर नगरको समग्र विकासको खाका र आवश्यक सहयोगका लागि आग्रह गर्न चाहन्थे । आफ्ना एजेण्डाहरू सुनाउन चाहन्थे । नगरवासीहरूसँग साक्षात्कार गराउन चाहन्थे तर देउवाको समय अभावका कारण काङ्ग्रेसबाट निर्वाचित दुई जना वडा अध्यक्षसहित उनी देउवा बसेको एकान्त होटलमा पुगेर दाङलगाएत नगरको विकासमा सहयोग गरिदिन अनुरोध गर्न समेत भ्याए । भेटमा खासगरी मेयर पाण्डेले टरीगाऊँ एअरपोर्टको विस्तार, तुल्सीपुरमा इन्धन डिपोको स्थापना र दाङ प्रदेश राजधानी बनाउनका लागि नेपाली काङ्ग्रेसले केन्द्रीय तहबाट पहल गर्न आग्रह गरेको बुझिएको छ । देउवाले तुल्सीपुर नगर क्षेत्रको विकासबारे आफु जानकार रहेको र यी विषयमा सकारात्मक रहेको र पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको थाहा हुन आएको छ । त्यस्तै दाङलाई प्रदेश ५ को राजधानी बनाउन पहल गरी दिन गरेको आग्रहमा देउवाले दाङमा ठुलो सभा हल नभएकै कारण आफ्नो पालाको सरकारले अस्थाई राजधानी बुटवल तोकिएको तर्क दिएको पनि बुझिएको छ । अहिले नेकपाको सरकार भएकोले आफ्नो पार्टीको भन्दा पनि वर्तमान सरकारको भूमिका महत्वपूर्ण रहेको जानकारी गराएका थिए ।

दाङमा मेयर पाण्डे विकासप्रेमी नेताका रुपमा चिनिन्छन् । उनीसँग विश्वका विकसित, अल्पविकसित र गरीब गरी पचासभन्दा बढि देश देखेको र बुझेको अनुभव पनि छ । नगरमा विकासको मोडल कस्तो हुने भन्ने बारे आफु स्पष्ट रहेको उनको दाबी छ । गत स्थानीय निर्वाचनमा नगरको चुनावी परिणाम मिश्रित छ । त्यसकारण पनि मेयर पाण्डेले विकासमा दलगत राजनीति गर्नु उनका लागि प्रत्युपादक हुन सक्छ । यो विषयमा समेत सचेत रहेर उनले अरु दललाई सँगै लाने रणनीतिलाई प्राथमिकता दिएको देखिन्छ ।

नगरको बृहत्तर विकासका लागि प्रतिपक्षीहरूको भूमिका पनि अत्यन्त महत्वपूर्ण रहन्छ र छ पनि । मेयर पाण्डेको देउवासँगको भेट समयसापेक्षिक र उदाहरणीय कार्य हो । यो भेटले दाङमा राजनैतिक सुसंस्कार बसाउन बहसको समेत प्रारम्भ गरेको छ ।

नगरको विकासका लागि राजनैतिक दल र समुदायबीच समन्वय र सहकार्य गर्ने मोडलले पक्कै पनि दिगो विकास सम्भव छ । प्रतिपक्षीहरू पनि विकासको सन्दर्भमा एउटै रथका दुई पाङ्ग्रा हुन भन्ने भावना विकास हुन जरुरी छ ।

मेयर पाण्डेको यो भेटले स्थानीय विकासमा सबै दलको समान सहमति र सहकार्य आवश्यकता छ भन्ने प्रष्ट्याउँछ । यो प्रकृयाबाट नै स्थानीय विकास छिटो र दिगो रूपमा गर्न सकिन्छ भन्ने एउटा ज्वलन्त उदाहरण प्रस्तुत गरेको छ ।