अफगानिस्तान विस्फोटमा ४८ को मृत्यु

अफगानिस्तान विस्फोटमा ४८ को मृत्यु


अफगानिस्तानमा मंगलबार भएको दुईवटा विस्फोटमा परी कम्तीमा ४८ जनाको मृत्यु भएको छ ।

राष्ट्रपति असरफ घानीको चुनावी अभियान प्रभावित गर्ने हिसाबले भएका यी विस्फोटमा कम्तीमा ४८ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । पारवान प्रान्तको मध्यभागमा भएको यस घटनामा २४ जनाको मृत्यु हुनुको साथै अरू ३२ जना घाइते भएका पुष्टि गरिएको मंगलबार स्थानीय अस्पताल स्रोतले जनाएको थियो ।

बुधबार सो संख्या बढेर मृतकको ४८ पुगेको पारवान अस्पतालका निर्देशक डा. अब्दुल कासिम सांगिनले बताएको एएफपीले जनाएको छ ।

राष्ट्रपति घानीको चुनावी अभियानलाई बिथोल्ने उद्देश्यबाट गराइएको यस विस्फोटमा परी मारिने र घाइते हुनेमा महिला तथा बालबालिकासमेत रहेका छन् । विस्फोटका समय राष्ट्रपति घानी भने करिब एक किलोमिटर टाढा रहेको बताइएको छ ।

राष्ट्रपति असरफ घानी राजधानीको उत्तरमा पर्ने पारवान प्रान्तमा आफ्ना समर्थकलाई सम्बोधन गर्ने क्रममा प्रहरीचौकीनजिकै मोटरसाइकलकमा आएका एक आक्रमणकारीले विस्फोट गराएको र विस्फोटमा परी २६ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ४२ घाइते भएका थिए । एक घन्टापछि तालिवानले दाबी गरेको अर्को विस्फोट अमेरिकी दूतावासनजिकै मध्यकाबुलमा भएको थियो । यस विस्फोटमा परी २२ व्यक्ति मारिनुको साथै अन्य ३८ घाइते भए थिए ।