‘काबेली बी वान’ दशैँअगावै केन्द्रीय प्रसारण लाइनमा जोड्ने तयारी

‘काबेली बी वान’ दशैँअगावै केन्द्रीय प्रसारण लाइनमा जोड्ने तयारी


काबेली बी वान जलविद्युत् आयोजनाबाट उत्पादित २५ मेगावाट विद्युत् दशैँअगावै केन्द्रीय प्रसारण लाइनमा जोड्ने तयारी भएको छ । आयोजनाको निर्माण पूरा भएसँगै परीक्षण उत्पादन शुरु गरिएको छ ।

दशैँअगावै काबेली करिडोरमार्फत केन्द्रीय प्रसारण लाइनमा जोड्न आवश्यक तयारी भइरहेको आयोजना निर्माण कम्पनी अरुण काबेली पावर लिमिटेडका निर्देशक रमेश न्यौपानेले जानकारी दिए । ‘आयोजनाको काम सकिएर अहिले परीक्षण उत्पादन शुरु गरेका छौँ, दशैँअगावै काबेली करिडोरमा जोड्ने हाम्रो तयारी छ,’ निर्देशक न्यौपानेले भने ।

ताप्लेजुङ र पाँचथरको सिमानामा बग्ने काबेली नदीबाट उत्पादन भएको विद्युत पाँचथरको अमरपुरस्थित काबेली करिडोरको सवस्टेसनमा जोडिनेछ । नेपाल विद्युत् प्राधिकरणद्वारा अमरपुरमा केही दिनअघि मात्रै काबेली करिडोरको सवस्टेसन निर्माणको कार्यसमेत सम्पन्न भएको छ ।

झन्डै पाँच अर्ब रुपैयाँको लगानीमा आयोजना सम्पन्न भएको हो । शुरुमा चार अर्बको लगानीमा सम्पन्न हुने अनुमान गरिए पनि बाढी, मूल्य वृद्धि, भारतीय नाकाबन्दी र आयोजनाको अवधि लम्बिएकाले लगानी पनि बढेर पाँच अर्ब पुगेको बताइएको छ । कुल लागतको ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाले र बाँकी ३० प्रतिशत निजी क्षेत्रले लगानी गरेका छन् ।

तीन वर्षमा नै निर्माण पूरा गर्ने गरी ०७२ वैशाखदेखि आयोजनाको निर्माण शुरु भएको थियो । अघिल्लो वर्षमा नै निर्माण पूरा हुनुपर्ने भए पनि काबेली करिडोर निर्माणमा ढिलाइ भएकाले आयोजनाको अवधि लम्बिएको आयोजनाले जनाएको छ । ताप्लेजुङको साबिकका गाविस थुम्बेदिन, चाक्सिबोटे, साब्लाखु, सिनाम र पाँचथरका थर्पु, नागी, अमरपुर आयोजनाको प्रभावित क्षेत्र हुन् ।