राष्ट्रपति सीको स्वागत प्रदीपले गर्न नपाउने !

राष्ट्रपति सीको स्वागत प्रदीपले गर्न नपाउने !


सरकारले एकवर्षे कार्यकाल पूरा भएलगत्तै शुरु भएको मन्त्रिमण्डल पुनर्गठनसम्बन्धी विषय अझै अनिश्चित छ । गत माघ–फागुनमै पुनर्गठनको चर्चा चलेको थियो, त्यसपछि बजेटअघि र बजेटपछि हुँदै आखिरमा प्रधानमन्त्री केपी शर्मा ओली सिङ्गापुरबाट फर्किएलगत्तै मन्त्रिमण्डलमा हेरफेर हुने बताइएको थियो । तर, केही राजनीतिक र प्राविधिक कारणवश मन्त्रिमण्डल पुनर्गठनको तिथि लम्बिएको छ ।

अर्को महिना चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल आगमन हुने निश्चित भएको छ र त्यसअघि नै केपी मन्त्रिमण्डललाई नयाँ रूप दिन चाहन्छन् । चिनियाँ राष्ट्रपतिको भ्रमणसम्म प्रदीप ज्ञवालीलाई परराष्ट्रमन्त्रीको रूपमा राख्नु उचित नहुने ठहर प्रधानमन्त्री ओलीले गरिसकेका छन् । इन्डो–प्यासिफिक कमाण्डसँग सहकार्यका निम्ति सैद्धान्तिक सहमति दिएर त्यसको पक्षमा लबिङ गर्नसमेत अग्रसर भएका प्रदीप ज्ञवालीलाई सी जिन पिङसमक्ष परराष्ट्रमन्त्रीका रूपमा प्रस्तुत गर्नु भनेको चिनियाँ राष्ट्रपतिको अपमान गर्नु भएकोले त्यसअघि नै परराष्ट्रमन्त्री बदलिने निश्चित मानिएको छ ।

चीनस्थित नेपाली राजदूतावासमा खटाइएका लीलामणि पौडेलको भूमिकासमेत रोगी र सन्देहास्पद भएको मानिन्छ । पौडेललाई जिम्मेवारीमुक्त बनाउनुपर्ने अवस्था धेरै पहिले नै आइसकेको भए पनि के कारणले हो कुन्नि केपीले समेत उनलाई हटाउन सकिरहेका छैनन् ।

मन्त्रिमण्डलमा रहेर कुनै प्रकारले पनि ‘पर्फर्मेन्स’ देखाउन नसक्नेहरूमा युवराज खतिवडा, रघुवीर महासेठ, मातृका यादव, चक्रपाणि खनाल, बिना मगर, रामबहादुर थापा बादल, उपेन्द्र यादव, लालबाबु पण्डित, थममाया थापामगर, प्रदीप ज्ञवालीलगायतको नाम लिइन्छ । गोकर्ण विष्टलाई समेत असफल व्यक्तिका रूपमा लिइएको भए पनि मलेसियामा नेपाली श्रमिकहरूलाई निःशुल्क प्रवेशको व्यवस्था गरेपछि उनको नम्बर बढ्ने बताउन थालिएको छ ।

जे भए पनि उल्लिखित व्यक्तिहरूमध्ये सबै या धेरैजसोलाई मन्त्रिमण्डलबाट बिदा गरिने निश्चित छ । अब दशैँको केही दिन अघि मात्र मन्त्रिमण्डल पुनर्गठन हुने बताइएको छ । ‘दशैँ मान्नचाहिँ दिउँ’ भन्ने सहानुभूतिले काम गरेन भने दशैँअघि नै कम्तीमा सात मन्त्रीले बिदा पाउने बुझिएको छ ।