लाइसेन्सबेगरै सवारी चलाउने सात हजार ट्राफिक कारबाहीमा

लाइसेन्सबेगरै सवारी चलाउने सात हजार ट्राफिक कारबाहीमा


ट्राफिक प्रहरी कार्यालय मकवानपुरले दुई वर्षको अवधिमा सवारीचालक अनुमतिपत्रबिना सवारी चलाउने करिब सात हजारलाई कारबाही गरेको छ । ट्राफिक प्रहरी कार्यालयका अनुसार विभिन्न स्थानमा सुरक्षा जाँच गर्ने क्रममा चालक अनुमतिपत्रबिना नै सवारी चलाउने ६ हजार ६ सय ७७ लाई कारबाही गरिएको हो ।

सवारीचालक अनुमतिपत्र नपाएकाले सवारी चलाउनु ट्राफिक नियमविपरीत मात्र नभई बढ्दो सवारी दुर्घटना भएकाले उनीहरूलाई कारबाही गरिएको ट्राफिक प्रहरीको भनाइ छ । ट्राफिक कार्यालयका अनुसार आर्थिक वर्ष ०७४–७५ मा सवारीचालक अनुमतिपत्रबिना सवारी चलाउने चार हजार नौलाई कारबाही गरिएको थियो । उक्त कारबाहीबाट रु. २३ लाख ६८ हजार पाँच सय राजस्व संकलन भएको छ ।

त्यसैगरी आव ०७५–७६ मा दुई हजार ५ सय २८ ले सवारीचालक अनुमतिपत्रबिना नै सवारी चलाएको ट्राफिक कार्यालय हेटौँडाले जनाएको छ । उक्त कारबाहीबाट रु. १८ लाख ४१ हजार जरिवाना उठाइएको जनाइएको छ । त्यस्तै, चालू आव ०७६÷७७ को दुई महिनाको अवधिमा प्रहरीले १ सय ४० लाई सवारीचालक अनुमतिपत्रबिना सवारी चलाएको भन्दै कारबाही गरेको जनाइएको छ । उक्त कारबाही गर्दा रु. एक लाख ४० हजार राजस्व संकलन भइसकेको ट्राफिकले जनाएको छ ।

ट्राफिक कार्यालयका प्रहरी निरीक्षक हरिविष्णु ढकालले पछिल्लो समय डरलाग्दो गतिमा सवारी दुर्घटना बढेको हुँदा सवारी चलाउन परिपक्व भएकाले मात्रै चलाउन् भन्ने हेतुले सवारीचालक अनुमतिपत्र थप अनिवार्य गर्न जरिवाना रकम पनि बढेको जानकारी दिए । उनले गत वर्षसम्म प्रकृति हेरेर रु. ५०० देखि रु. एक हजारसम्म जरिवाना गरिएको भए पनि चालू आवदेखि सवारीचालक अनुमतिपत्र नहुनेलाई रु. एक हजार जरिवानाको व्यवस्था गरिएको बताए ।

पछिल्लो समय सवारीचालक अनुमतिपत्र नभएका तथा उमेर नै नपुगेका युवाले अत्यधिक तीव्रगतिमा सवारी चलाउँदा दुर्घटना हुने गरेको उनको भनाइ छ । जसले गर्दा दुर्घटनामा मृत्यु हुनेको संख्या पनि बढ्दो छ । गत वर्ष मात्रै जिल्लामा ५३ को दुर्घटनामा परेर मृत्यु भएको जनाइएको छ । त्यसमा अधिकांश मोटरसाइकल दुर्घटनामा परेका ट्राफिक कार्यालयको तथ्यांकमा उल्लेख छ ।

१६ देखि २५ वर्ष समूहका युवाले अत्यधिक मात्रामा सवारी चलाउँदा अनियन्त्रित भई दुर्घटना हुने गरेको प्रहरी निरीक्षक ढकालले बताए । गत वर्ष दुर्घटनामा संलग्न सवारीमध्ये सबैभन्दा धेरै ६९ मोटरसाइकल रहेका छन् । त्यसमा अधिकांश १६ देखि २५ वर्षका सवारी चालक अनुमतिपत्र नभएका युवा रहेका उनको भनाइ छ ।