‘कानुनी उपचार नपाए सुवास आचार्यकहाँ जानु’

‘कानुनी उपचार नपाए सुवास आचार्यकहाँ जानु’


अशक्त वृद्धवृद्धा र पीडित महिलाले अब कानुनी उपचार नपाएर अन्याय सहनुपर्ने दिनको अन्त्य हुने भएको छ । ख्यातिप्राप्त अधिवक्ता सुवास आचार्यले सत्तरी वर्ष पूरा भएका वृद्धवृद्धा र महिलाविरुद्ध हुने अपराधमा पीडित महिलाको तर्फबाट बिनाशुल्क मुद्दा लडिदिनुहुनेभएपछि पैसा नभएकै कारण कानुनी उपचार नपाउने स्थितिको अन्त्य हुने भएको हो । सत्तरी वर्ष उमेर पुगेका तथा पीडित महिलाले कुनै पनि समय अधिवक्ता सुवास आचार्यको थापाथलीस्थित आचार्य एन्ड एसोसिएट्स नामक ल फर्ममा सम्पर्क गर्न सक्नेछन् । सुवासको यो कदमबाट धेरै पीडितले न्याय निम्ति सहज मार्ग प्राप्त गर्ने विश्वास गर्न सकिन्छ ।

२०३६ सालको मङ्सिर २५ गते दाङको घोराहीमा जन्मनुभएका सुवास आचार्यले अङ्ग्रेजी र कानुनमा स्नातकोत्तर (MA, LLM) गर्नुभएको छ । एलएलएममा सर्वोत्कृष्ट भएर उहाँले स्वर्ण पदक पाउनुभएको थियो । काठमाडौं स्कुल अफ ल बाट एलएलएम गर्नुभएका आचार्यले बेलायतमा मानवाधिकार सम्बन्धमा शोध अध्ययन गर्नुभएको हो । अपराधशास्त्रका विज्ञको रूपमा ख्याति आर्जन गर्नुभएका उहाँले नेपाल ल क्याम्पस र नेसनल ल कलेजमा प्राध्यापन पनि गर्दै आउनुभएको छ । फौजदारी कानुनका विषयमा उहाँले लेख्नुभएको पुस्तक ‘टेक्स्टबुक अन क्रिमिनल ल’लाई पाठ्यक्रमको सन्दर्भ सामग्रीका रूपमा समेत समाविष्ट गरिएको छ । हालसम्म आचार्यले लेख्नुभएका चार पुस्तकमध्ये अन्य दर्शनसँग सम्बन्धित छन् ।

तपाईं कुन प्रेरणाबाट यस प्रकारको सेवा दिने अठोट गर्न पुग्नुभएको हो भन्ने हाम्रो जिज्ञाशाको जवाफ दिँदै सुवास आचार्यले भन्नुभयो, ‘मैले अर्काको सेवा गर्नुपर्छ भन्ने ज्ञान मेरी आमाबाट पाएको हुँ । आमाले सानोमा धेरै दुःख गर्नुपरेको थियो । मेरो आमाको नजिक आइपुगेका कुनै पनि व्यक्तिले भोको पेट बस्नुपर्ने थिएन । टाढाटाढाबाट आएका बटुवाहरूलाई समेत उहाँ तृप्त हुने गरी भोजन गराउनुहुन्थ्यो । आमाको यस्तो सेवाभावको छाप ममा बाल्यकालदेखि नै परेको हो ।’ आचार्यले अगाडि भन्नुभयो– आफू न्याय र कानुनको क्षेत्रमा क्रियाशील भएकोले यसै क्षेत्रमा रहेर सेवा पुऱ्याउने अठोट मैले गरेको हुँ । न्याय क्षेत्रमा विपन्नहरूले सक्षम कानुनी प्रतिनिधित्व गराउन नसक्ने स्थितिलाई दृष्टिगत गरी मैले यस प्रकारको सेवा दिन लागेको हुँ ।’

कहिलेसम्म यस्तो सेवा दिनुहुन्छ त भन्ने प्रश्नको जवाफमा आचार्यले भन्नुभयो, ‘यो जीवनभरिका लागि हो । जबसम्म म रहनेछु तबसम्म सेवाले निरन्तरता पाइरहनेछ । मेरी आमाको यसै वर्ष स्वर्गवास भयो, आमाको भावनालाई जीवनभरि जीवित राखिरहनका लागि पनि यसप्रकारको सेवा कार्यलाई म मेरो जीवनभर निरन्तरता दिनेछु ।’

पीडितलाई निःशुल्क कानुनी सेवा दिने सुवास आचार्यको निर्णयले देशमा अझै पनि मानवता बाँकी रहेको सन्देश दिएको छ ।