तपाईं बाँचिरहनुभएको छ ?

तपाईं बाँचिरहनुभएको छ ?


■ बबिता बस्नेत

‘तपाईं बाँचिरहनुभएको छ ?’ कसैले अकस्मात् यो प्रश्न गऱ्यो भने हामी के जवाफ दिन्छौँ होला ? जवाफभन्दा पनि प्रश्न नै गरिएला, यो मान्छेलाई के भएछ ? उसको मानसिक अवस्थामाथि हामी प्रश्न उठाउन सक्छौँ । बाँच्नुको अर्थ खोज्दै जाने हो भने मानवजीवनको अस्तित्वको खोजी गर्नुपर्ने हुन्छ । गहिराइमा कहाँसम्म पुग्ने हो व्यक्तिको रुचिमा भर पर्छ । कसैलाई जीवन र जगत्बारे गहिरो रुचि हुन्छ भने कतिलाई म यो पृथ्वीमा किन आएँ भन्नेबारेमा मतलबै नहुन पनि सक्छ । या ‘यस्तो कुरा सोच्नलाई म आफूखुसी यो संसारमा आएको हुँ र ?’ भन्नेहरू पनि होलान् । हो, यो संसारमा जीवित रहेका हामी सबै नै बाँचिरहेका छौँ, तर कसरी बाँचिरहेका छौँ ? भन्ने कुरामा भने हामी कमै ध्यान दिने गर्छौँ ।

के हामी साँच्चिकै बाँचिरहेका छौँ ? या जीवन बाँच्ने नाममा सास मात्र फेरिरहेका छौँ ? आफूले आफैँलाई प्रश्न गर्ने बानी हाम्रो खासै छैन । यद्यपि सास फेर्न पाउनु ठूलो कुरा हो । ब्रनी वेर नाम गरेकी अस्ट्रेलियन नर्सले गज्जबको कुरा बाहिर ल्याएकी छिन् । मृत्युको निकट पुगेको बेला मानिसले जिन्दगीबारे के सोच्छन् ? जीवन सहज हुँदा यस्तो गर्न पाएको भए ? भन्ने कुरा के हुने रहेछन् ? मृत्युको नजिक पुगेका मानिसलाई पुऱ्याइने अन्तिम स्याहार केन्द्रमा आठ वर्ष काम गर्दा उनले त्यस्ता मानिसमा पाँचवटा समान पश्चात्ताप देखिन् । र, पुस्तक नै लेखिन् ‘टप फाइभ रिग्रेट्स् अफ डाइङ’ मृत्युअघिका पाँच पश्चात्तापहरू ।

शुरुमा एउटा ब्लगमा यस विषयमा लेखेको लेखले अत्यधिक चर्चा पाएपछि उनले पुस्तक लेखेकी हुन् । यसको अर्थ जीवनबारे मानिसको रुचि धेरै छ । ब्रनीलाई शुरुमा मृत्युनजिक पुगेका मानिससँग काम गर्दा ओहो… कस्तो ठाउँमा काम गर्न आइपुगेँ भन्ने लागेको थियो रे । तर, जीवन झर्न लागेकाहरूसँगको उक्त अनुभवले उनलाई विश्वचर्चित बनायो । मृत्युनजिक पुगेका सयौँ मानिससँगको कुराकानीका आधारमा तय गरिएको समान पश्चात्तापमध्ये एक थियो, ‘अरूका अपेक्षाको पछाडि लागेर भन्दा मैले आफ्नै लागि जीवन बाँच्न पाएको भए ?’

हुन पनि हामी आफ्नै रोजाइले आफूले चाहेको जीवन कमै बाँच्छौँ । परिवारका चाहना छन्, उत्तरदायित्वले हामी त्यत्तिकै थिचिएका छौँ । हिन्दीमा एउटा चित्तबुझ्दो सायरी छ, ‘कित्नी दूर होगए, रिस्तेको निभाते निभाते…खो दिया हे हमने, अपनेको पाते पाते…लोग कहते हे हम मुस्कुराते बहुत हे, हम तो थक गए हे दर्द छुपाते छुपाते…’ अरूको लागि गर्दागर्दै आफ्नो जीवन बाँच्नै नपाई संसार छोड्नेहरूको सङ्ख्या यहाँ ठूलो छ । दोस्रो पश्चात्ताप छ, मैले त्यति धेरै मिहिनेत नगरेको भए पनि हुन्थ्यो । हुन पनि हामी ससाना उपलब्धिका लागि यति धेरै मिहिनेत गर्छौँ कि जिन्दगीको भागदौडमा हामी यो संसारमा केही समयका लागि मात्रै आएका छौँ भन्ने नै बिर्सिदिन्छौँ । जीवन बाँच्नका लागि मिहिनेत त गर्नुपर्छ नै, तर केमा कति मिहिनेत गर्ने भन्ने प्राथमिकता निर्धारण गर्नै नपाई हामीले यो संसार छोड्ने बेला भइसक्छ । यसैगरी तेस्रो पश्चात्ताप थियो, कास मैले आफूले चाहेको भावनालाई व्यक्त गर्न पाएको भए ?

जिन्दगीमा कतिपय यस्ता मोडहरू हुन्छन् जहाँ आफूलाई मनमा लागेको कुरा व्यक्त गर्नै नपाई जीवनले अर्कै मोड लिइदिन्छ । यसरी अव्यक्त भावनाबीच सम्बन्ध धान्दै आएकाहरूको सङ्ख्या ठूलो छ ।

जिन्दगीमा कतिपय यस्ता मोडहरू हुन्छन् जहाँ आफूलाई मनमा लागेको कुरा व्यक्त गर्नै नपाई जीवनले अर्कै मोड लिइदिन्छ । यसरी अव्यक्त भावनाबीच सम्बन्ध धान्दै आएकाहरूको सङ्ख्या ठूलो छ । हामी आफ्नै बाबुआमा, दाजुभाइ, दिदीबहिनी, आफन्तहरूसँग आफ्ना भावना व्यक्त गर्दैनौँ । मृत्युनजिक पुगेका व्यक्तिहरूले भनेका छन्– मैले मेरा बाबुआमा, दिदीबहिनी, दाजुभाइ या आफन्तलाई उनीहरू मेरा लागि कति महत्वपूर्ण थिए भनेर कहिल्यै व्यक्त गरिनँ । भन्न पाएको भए मेरो कुराले उनीहरूलाई खुसी दिन्थ्यो होला, तर मनमा लागे पनि व्यक्त गर्नै नपाई उनीहरू बितेर गए, अब त मैले पनि संसार छोड्न लागेँ । परिवारसँग समय बिताउन नसक्दाको ग्लानिले अन्तिम श्वास लिँदासम्म पिछा गरिरह्यो ।

चौथो पश्चात्ताप छ, कास मैले साथीहरूसँग समय बिताउन पाएको भए…, जिन्दगीले यसरी दौडाइदिन्छ कि कुनै मोडमा आत्मीय बनेका तमाम साथीहरूसँग एक पल बिताउन सोच्नुपर्ने हुन्छ । पछुताउ नै हुने गरी साथीहरूसँग भेटघाट गर्न नपाउने हामीहरूको सङ्ख्या ठूलो छ । कतिपय कुराहरू यस्ता हुन्छन्, साथीसँग जस्तो आफन्तहरूसँग व्यक्त गर्न सकिँदैन । त्यो हँसिमजाक, विगतका दुःखसुखका कहानीहरू, वर्तमानका भोगाइहरू सेयर गर्नका लागि साथीभन्दा उपयुक्त नाता अर्को छैन । पाँचौँ पश्चात्ताप छ, मैले आफूले आफूलाई खुसी राख्न सकेको भए…!

‘खुसी’ जसले मानिसको जीवनमा ठूलो अर्थ लाग्छ । मानिसहरू खुसी र सुख यी दुई कुराका पछि जीवनभर दौडिरहन्छन् । यी दुई फरक कुरालाई एउटै जस्तो गरी बुझ्नेहरू पनि छन् । खुसीमा सुख हुन सक्छ, तर सुखमा खुसी हुन्छ नै भन्ने छैन । सुख मूलतः भौतिक कुरासँग जोडिएको हुन्छ । खुसी, सोच र मनसँग । खुसीको सूचक के हो ? केलाई खुसी मान्ने भन्ने कुरा मानिसको सोचमा निहित हुन्छ । सुखका लागि पैसा चाहिन्छ, खुसी हुन पैसा खर्च गर्नुपर्दैन । मुस्कुराउँदै गरेको प्रश्नको जवाफ कसैले पनि गमक्क परेर रिसउठ्दो पाराले दिँदैन, कसैलाई राम्रो गरे राम्रो नै फिर्ता आउँछ, नराम्रो गरे नराम्रै । कसैको बारेमा राम्रो सोच्दा त्यसको सकारात्मक ऊर्जाले मनलाई त्यसै फुरुङ्ग बनाइदिन्छ । तैपनि हामी खुसीभन्दा बढी दुःखी जीवन बाँचिरहेका हुन्छौँ । त्यसले के ठानेको होला आफूलाई ? किन त्यसो भनेको होला ?

‘कसले के भन्यो’ मार्काका कुरा मनमा लिएर आफूलाई दुखाउनेहरूको सङ्ख्या ठूलो छ । जसले जीवनको अन्तिम अवस्थामा पुगेर विगतलाई विश्लेषण गर्दा कुनै अर्थ नराख्ने रहेछ । खुसी भएर बाँच्न सक्ने समयलाई हामी आफैँ दुःखी बनाइरहेका हुन्छौँ । त्यसैले हामी बाँच्न त बाँचिरहेका छौँ, तर कसरी बाँचिरहेका छौँ ? भनेर आफूले आफैँलाई फर्किएर हेर्न सक्ने अवस्थामा हुनेहरूले जीवन खुसीसँग बिताउन प्रसस्त आधारहरू भेट्न सक्छौँ । तर, जिन्दगीलाई हामीले यति व्यस्त बनाइदिएका छौँ कि हामी आफैँले आफैँलाई फर्किएर हेर्ने समय नै छैन । यो काम, त्यो काम, बिहान-बेलुका हातमुख जोड्ने समस्या, चाडबाड धान्नै धौ-धौ, मानिसको आर्थिक हैसियतअनुसारका दुःखसुख, हुनेलाई जोड्नु छ नहुनेलाई टार्नु-पुऱ्याउनु छ ।

ब्रनी वेरले देखेको र लेखेको मृत्युअघिका पाँच पश्चात्तापहरूबीच हामी सबै नै रुमल्लिइरहेका छौँ । वरिपरि चिहान नै चिहानको फोटोसँगै लेखिएको कसैको यो भनाइ खुब घत लागेको हो । ‘कब्रस्थानके एक पत्थर पर लिखाथा– ए जगह उन लोगोंसे भरी पडी हे, जो ए समझते थे कि, दुनियाँ उनके बिना नही चल सकती ।’ हो, हामी नहुँदा हिजो पनि यो संसार चलिरहेको थियो, भोलि पनि चलिरहनेछ । त्यसैले यो दुनियाँ मैले नै धानिरा’छु भन्ने भ्रमबाट मुक्त हुन सके जीवनप्रतिको सोच र बाँच्ने शैली फरक हुन्थ्यो कि जस्तो लाग्छ ।