योगी सिंहनाथ

योगी सिंहनाथ


■ डा. कर्णबहादुर थापा

महाभारत युद्धमा अर्जुनको रथमा भगवान् श्री कृष्ण विराजमान हुनुभएझैँ बडा महाराजाधिराज पृथ्वीनारायण शाहका एकीकरण अभियानमा गुरु गोरखनाथको सूक्ष्म उपस्थिति, सूक्ष्म चेतना र सूक्ष्म शक्तिले काम गरेको कुरा ऐतिहासिक अभिलेखहरूले १२ वर्षे बालकको रूपमा गोरक्षाचल गुफा (गोरखा) मा प्रकट शिव गोरक्ष अवतारलाई हाम्रो भूमिमा अद्वैत शैव परम्पराको दैवी अवतरण मान्न सकिन्छ । ६ वर्षे बालक युवराज पृथ्वीनारायण शाहले दधिवरका साथ धर्मोपदेश प्राप्त गर्नु पछाडिको गोरक्ष कृपाप्रति नेपाली जाति अनुगृहित छन् । दिव्य उपदेशहरू तत्वगत रूपमा गोरखवाणी नै थिए । त्यही सूक्ष्म शक्ति प्रतीकात्मक रूपमा आज पनि सिक्कामा भवानी र गोरखनाथ, त्रिशूल, गाई, चन्द्रसूर्यअङ्कित राष्ट्र ध्वजा, सेनाका नाथान्त नाम भएका पल्टनहरू तिनका व्यक्तिहरू निशान आदि शिव गोरक्ष परम्पराका जीवन्त उदाहरण हुन् ।

युवा लेखक अर्जुन ज्ञवाली आफ्नो लेखन कलाको नयाँ सन्दर्भ लिएर यति तीव्र दौडमा राष्ट्र निर्माण र राष्ट्ररक्षाको गर्भ गृह गोरक्ष गुफा र माता गोरखकालीका पावन प्रवेशद्वारमा राष्ट्ररक्षाका लागि प्रार्थी र लेखक बनेर खडा भइसक्नुभएको पाउँदा म आफ्नो आत्म सन्तोषलाई मन्तव्यका केही पङ्क्तिहरूमार्फत श्रद्धेय पाठक वर्गमा साझेदारी गर्न चाहन्छु ।

बाबा गोरखनाथको प्राकट्यभूमि गोरखाबारे एउटा कालखण्डका गोरक्ष राष्ट्रका साधक पूज्य गुरु योगी नरहरिनाथका निम्न पङ्क्तिहरू सान्दर्भिक देखिन्छन् :

वैशाखीशिवपूर्णीमातिथिवरे वारे शिवे मङ्गले ।
लोकानुग्रहविग्रहः शिवगुरुर्गोरक्षनाथोभवत ।।
गोरक्षाचलशेखरे तिरुचिरे कैलाशकूटे गुहा ।
गर्भादित्यखिलैः सनातनजनर्मेला कृता मङ्गले ।।

अर्थात्, वैशाखी पूर्णिमा, मङ्गलबार कैलाशवासी शिवले कैलाशकुट भवनको आसपास गोरक्षाचल गुफामा अवतार लिनुभयो । प्रत्येक मङ्गलबार गोरखनाथलाई रोठ अर्पण गरिन्छ । सबै सनातनीहरू मेलामा सरिक हुन्छन् ।

गोरखनाथ शब्दको व्यापकता कुनै एक मात्र क्षेत्र वा भाषामा सीमित रहेको परम्परा होइन । संस्कृत, नेपाली, हिन्दी, बंगाली, मराठी, पञ्जाबी भाषामा नाथ साहित्य, इतिहास सावर मन्त्र–तन्त्र उपलब्ध छन् भने योग, शरीर विज्ञान, कायाकल्प, आत्मनिरीक्षण, समाज सुधारजस्ता थुप्रै क्षेत्रसँग गोरक्ष शक्ति जोडिएको छ । नेपाली ग्रामीण समाजमा कानफट्टा जोगीले घरघरमा फेरी लगाउने, यस्ता जोगीलाई दान दिने परम्परा नाथ सम्प्रदाय र समाजबीचको धार्मिक–सांस्कृतिक कडी हो । हाम्रा बालबालिकाका कान छेड्ने परम्परा, सनातनी जनहरू भोलेनाथ, पशुपतिनाथ, गोरखनाथ, मत्स्येन्द्रनाथ, बौद्धनाथ र मीननाथलाई पुज्ने चलन छ भने मुसलमान बन्धुहरूका लागि गोरक्ष निर्माण गरिएका पीर पीठहरू यसका ज्वलन्त उदाहरणहरू हुन् । नाथ परम्परा हाम्रो समाजको बलियो सांस्कृतिक र धार्मिक कडी हो । नाथान्त नाम पुरुषहरूमा र माया वा देवी नामान्त नामहरू मायादेवीका नामबाट महिलामा पाइन्छन् । यसले हाम्रो समाजमा सिद्ध–बुद्ध परम्परालाई जनाउँछ ।

भारतका भर्तृहरि र गोपीचन्दजस्ता थुप्रै नरेश र संभ्रान्त व्यक्तिहरूले घरबार राजपाठ त्यागेर योगी बने भने नेपाल नरेश पृृृथ्वीनारायण शाहलाई धर्मोपदेशका माध्यमबाट शक्तिशाली सैन्य सङ्गठन, शास्त्रास्त्रमा शक्ति प्रदान गरेर युद्धमैदानमा अभय र विजयको सुनिश्चितता गोरखनाथ अनुकम्पाका रहस्यमय विषय हुन् । यस अर्थमा विश्व भूमण्डलको आज्ञाचक्र नेपाललाई वैदिक सनातनी संस्कृति गोरखाली जातिको कुल धर्मको रक्षा जिम्मा पृथ्वीनारायण शाहलाई दिएको प्रस्ट देखिन्छ ।

यही धर्म संस्कृति रक्षाका लागि योगी नरहरिनाथले सातु खाएर देशका विद्वान्, पण्डित, प्राज्ञहरू भेला गरी आन्तरिक शास्त्रार्थ गर्दै हिमवत् खण्ड अनुवाद गर्नुभयो । आफ्नै बलबुतामा इतिहास प्रकाश, हाम्रो देश दर्शन, ऐतिहासिक शिखरिणी यात्रा, वैदिक साम्यवादलगायत झन्डै पाँचजति कृतिहरू तयार गर्नुभयो । उहाँ समाधिस्थ भएपछि रोकिएका कार्यलाई विद्वान् लेखक ज्ञवालीजीले निरन्तरताको साहसिक सुरुवात गर्नुभएको छ । नाथ साहित्य पूर्वकार्यहरूमा स्वर्गीय टङ्कप्रसाद आचार्य, स्वर्गीय कुलचन्द्र कोइराला, कान्तालाल प्रधान, दिनेशराज पन्त, डम्बरजंग थापा, विश्वनाथ चापागाईंजस्ता थुप्रै विद्वान्को योगदानले गोरक्ष साहित्य संरक्षण भएको छ । पूर्वकार्यको निरन्तरता मात्र नभएर समयको अन्तरालमा भएका जाल, झेल र उदासीनतालाई चिर्दै अर्जुन ज्ञवालीले आजका दिनमा मातृभूमिप्रति खट्किएको गोरक्ष चिन्तनलाई गोरखनाथ बाबाका पवित्र पादुकामा आफ्नो पुस्तकमार्फत गुरुवत सम्मान अर्पण गर्नुभएको छ । पुस्तकले इतिहासका अनेक उतार–चढावबीच गोरक्ष पद्धतिमार्फत सत्य र न्यायको उद्घाटनका लागि ऐतिहासिक दस्तावेजका प्रमाण मात्र नभएर भावी अध्ययन–अनुसन्धानमा गोरखा जाति र गोरखा राष्ट्रका महत्वपूर्ण स्रोत सामग्रीका रूपमा काम गरिरहनेछ ।

गोरक्ष साहित्य प्राकृतिक छ । गोरक्ष गायत्री पवित्र छ । मौलिक छ जस्तै कौन शक्ति ? = सोहं शक्ति, कौन पन्थ ? = अभय पंथ, कौन वेद ? = सूक्ष्म वेद, कौन गोत्र ? = नीरञ्जन गोत्रजस्ता थुप्रै तात्विक र सूक्ष्म अर्थ झल्काउँछ । त्यही मुलुक आज सांस्कृतिक, धार्मिक चौतर्फी घेराबन्दीले आक्रान्त छ । बुद्ध अर्कै हुन् । सिद्ध अर्कै हुन् । मुसलमान अर्कै हुन् भन्दै अनेक भेषमा राष्ट्रियताको माला चँुडाउन लागिपरेका छन् । हाम्रो दर्शनको सूक्ष्म तागत तिनीहरूको पदार्थ र पैसाभन्दा धेरै पर छ । यही सूक्ष्म तत्व बुझेर हिजोआज गोरखनाथ दीक्षा ग्रहण, उच्च अध्ययन र विद्यावारिधिसम्मका शोधकार्यहरू नेपाल, भारत र बाहिर पनि हुन थालेका छन् । बाबा गोरखनाथको झोलामा आज पनि हामीलाई चाहिने वात्सल्य प्रेमका धेरै खजाना छन् । एक योगीस्थ भावबाट अवलोकन गर्दा हाम्रो भूमिमा धर्मको राज्य सत्ता र राजनीतिको राज्य सत्ताको बीच यथोचित सन्तुलन खलबलिएको छ । राष्ट्रिय स्वाभिमानको छाती खुम्चिएको छ । हाम्रो सार्वभौमिकताको मूलस्थली भने त्यति कमजोर छैन जति कमजोर ठानिएको छ । गुरु गोरखनाथका करिब ४० पुस्तक संस्कृत भाषामा छन् । सावर मन्त्र स्थानीय ग्राम्य भाषामा छन् । त्यसको व्यापक अध्ययन–अनुसन्धान हुन सकेको छैन ।

अर्जुन ज्ञवालीले गहनतम् भार उठाएर नेपाली समाजमा बिरानो बन्दै जान लागेको गोरखनाथ परम्परा र इतिहासका तथ्य प्रमाण जुटाउन दुर्लभ र लोपोन्मुख सामग्रीहरूका लागि भगीरथ प्रयास गर्दै सङ्कलन र लेखन गरी पुस्तकका रूपमा प्रकाशन गर्ने कामबाट नेपालको धर्ती र भावी सन्ततिलाई ठूलो गुन लगाउनुभएको छ । यो कठिन, पुण्य र ऐतिहासिक कार्य आफँैमा राष्ट्र साधना हो । यस्तो कठिन र गैरनाफामूलक काम एक राष्ट्र साधकले गर्न सक्दछ ।

अन्त्यमा, माता सरस्वती लेखकका लागि सदा वरदायिनी बनून् । गोरखा राष्ट्रको गर्भगृहबाट माता गोरखकाली र गुरु गोरखनाथको अनुकम्पा बनिरहोस् । यही मंगल भावना, मंगल कामना व्यक्त गर्दछु ।