कागबेनीमा श्राद्ध र पितृ तर्पण गर्न नदिए आन्दोलन गर्ने

कागबेनीमा श्राद्ध र पितृ तर्पण गर्न नदिए आन्दोलन गर्ने


विश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समिति र विश्व हिन्दू महासंघ उपत्यका समितिले मुस्ताङको कागबेनीमा हिन्दू धर्मविरोधी समूहले सोह्र श्राद्ध आरम्भसँगै त्यहाँ श्राद्ध तथा पितृ तर्पण कार्य गर्न नदिएको विषयमा घोर आपत्ति जनाएका छन् ।

तत्काल श्राद्ध तथा पितृ तर्पण गर्ने कार्य सुचारु नगरे देशभरि सनातन धर्म संस्कृति संरक्षणको लागि आफूहरु सशक्त आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी पनि दिएका छन् ।

कार्यक्रममा बोल्दै बैंकेटेश्वर पीठाधिश स्वामी पद्यमधराचार्यले श्राद्ध, तर्पण गर्ने सनातन परम्परा रहेको बताउँदै कागबेनीमा श्राद्ध कार्य रोकिनु दुःखद् भएको टिप्पणी गरे । उनले मृत आत्माको मुक्ति तथा मोक्ष तिर्थस्थलमा श्राद्ध तथा तर्पण गरेपछि मात्रै प्राप्त हुने भएकोले सो पूण्य कार्य गर्न कोही कसैबाट रोकावट हुन नहुने धारणा राखे । उनले भने,‘यस्तो पूण्य काममा अवरोध गर्नु भनेको पाप गर्नु हो । त्यसैले अविलम्ब यो गलत कार्य रोक्नुपर्छ ।’

त्यस्तै, विश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समितिका अध्यक्ष सागर थापाले कागवेनीमा एक दर्जनभन्दा बढि ब्रम्हाणहरूले दैनिक कार्य गर्दै आएकाहरूलाई त्यहाँ अवरोध गरिएकोमा कडा आपत्ति जनाएका छन् ।

उनले भने,‘कागबेनीमा प्राचिनकालदेखि हुँदै आएको श्राद्ध गर्ने परम्परालाई अवरोध सिर्जना गरिएको घट्नालाई सामान्य रूपमा लिन सकिँदैन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ यात्रापछि भारतीय तीर्थयात्रीहरुको समेत उल्लेखनीय रुपमा बृद्धि भएको धार्मिक पावन भुमिमा श्राद्ध गर्न मासिक एक लाख रुपैँया ब्रम्हणहरूले दिनुपर्ने नत्र श्राद्ध कर्म गर्न नपाईनेजस्ता बिषय उठाएर अवरोध हुनुलाई सनातन धर्मको अस्तित्व संसारमै कमजोर पार्न खोजिनु र यो सनातन परम्परामाथिको अतिक्रमण हो भन्ने हाम्रो ठहर छ ।’

सनातनदेखि वैदिक, बौद्ध, जैन, शिखलगायतका समस्त ॐकार परिवारहरूबीच रहँदै आएको धार्मिक सहिष्णुतालाई खलल पु¥याउनेगरि भईरहेका र हुन लागिरहेका गलत कार्यलाई तत्काल नियन्त्रण गर्न नेपाल सरकारसमक्ष समेत उनीहरुको माग छ ।

विश्व हिन्दु महासंघ नेपालका उपाध्यक्ष तथा उपत्यका संयोजक दिनेश कुमार सिजापति र विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समिति महासचिव रोशन जंग बस्नेतको संयुक्त नाममा जारी गरिएको विज्ञप्तीमा भनिएको छ,‘यदि समयमै यस्ता कार्य नरोक्ने हो भने यसले धार्मिक असहिष्णुताको बाटो लिन सक्छ त्यसैले समयमा नै सम्बन्धित निकायले ध्यान दिनुपर्छ र राष्ट्रदेव भगवान श्रीपशुपतिनाथका भट्ट भण्डारीलाई तलव राखेर त्यँहाको भेटीघाटी लाई ब्यवस्थित गरे जस्तै तुरुन्त मुक्तिनाथ मन्दिरका पुजारीलाई समेत तलव तोकेर त्यँहा चढेको भेटीघाटी र अन्य सम्पत्ति लाई समेत ब्यवस्थित गर्न माग गर्दछौं ।’
कार्यक्रममा सनातन हिन्दू धर्म शिरोमणि स्वामी राम बाबाले कागबेनीमा श्राद्ध रोकिएको घट्नाको विरोध जनाए । उनले श्राद्ध, तर्पण रोक्नेहरुलाई तत्काल कारबाही गर्नुपर्नेपनि माग गरे ।

त्यस्तै, नेपालका एकमात्र जगदगुरु पीठका प्रतिनिधि अर्पण साधकले घट्नाको विषयमा विस्तृत जानकारी गराएका थिए । उनले भने,‘त्यहाँको स्थिति अहिले भयावह छ । भक्तहरुले अहिलेपनि श्राद्ध गर्न पाएका छैनन् । यसतर्फ सरकारको ध्यान जाओस् ।’

पत्रकार सम्मेलनमा नेपालका एकमात्र प्रथम जगदगुरु ‘अनन्त श्री विभुषित जगदगुरु बाल सन्त मोहनशरण देवाचार्य महाराजश्री’ ले नेपाल अनादि कालदेखि धर्म समन्वयनको राष्ट्र भएको सुनाउँदै देशमा कुनैपनि प्रकारले सनातन धर्म र अन्य धर्महरुबाट समाजमा खलल पुग्ने किसिमको गलत कार्यहरु कहिल्यैपनि र कोहीबाट पनि हुन नहुने सन्देश दिएका थिए ।

कार्यक्रमको सञ्चालन विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समिति महासचिव रोशन जंग बस्नेतले गरेका थिए ।