विप्लव नेतृत्वको नेकपाका जिल्ला सेक्रेटरी पक्राउ

विप्लव नेतृत्वको नेकपाका जिल्ला सेक्रेटरी पक्राउ


विप्लव नेतृत्वको नेकपाका झापा जिल्ला सेक्रेटरी प्रवीण मिश्रसहित दुई जनालाई प्रहरीले विर्तामोडबाट पक्राउ गरेको छ । विर्तामोड नगरपालिका–४ स्थित नेपाल विद्युत् प्राधिकरणको कार्यालय नजिकैको चिया पसलबाट आज (३० भदौ) प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा जिल्ला सेक्रेटरी मिश्रसहित जिल्ला सदस्य टीका पोखरेल रहेका छन् ।

विशेष सूचनाको आधारमा उनीहरुलाई १ नम्बर प्रदेश प्रहरी कार्यालयबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरीको भनाई छ । पक्राउ परेका नेकपा कार्यकर्ताहरुलाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर अनुसन्धान अघि बढाएको प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठको भनाई छ ।

केही दिनअघि विर्तामोड नगरपालिका–२ चारपानेमा रहेको सहारा नेपाल सहकारी संस्था लिमिटेड र गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागत मिश्रले प्रयोग गर्दै आएको गाडीमा बम विस्फोट गराएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जनाइएको छ ।
यस्तै, हुम्लामा पनि सोही पार्टीका एक कार्यकर्तालाई प्रहरीले आइतबार राति पक्राउ गरेको छ । विभिन्न सरकारी कार्यालयमा चन्दा माग गरेको भन्ने सूचनाका आधारमा विप्लव नेकपाको अखिल क्रान्तिकारीका जिल्ला संयोजक उपेन्द्र रावतलाई प्रहरीले पक्राउ गरेको हो।

रावतको साथबाट आर्थिक सहयोग गरिदिन भन्दै विभिन्न कार्यालयलाई लेखिएको चिठी भेटाएका कारण अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी हुम्लाले जानकारी दिएको छ । ताजाकोट गाउँपालिका–५ भदौराका रावतलाई हिरासतमा राखी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।