भारतमा डुंगा दुर्घटनामा ३९ बेपत्ता

भारतमा डुंगा दुर्घटनामा ३९ बेपत्ता


भारतको दक्षिणपूर्वी राज्य आन्ध्र प्रदेशमा आइतबार दिउँसो भएको डुंगा दुर्घटनामा परी ३९ जना व्यक्ति बेपत्ता भएका छन् ।

यहाँको गोदावरी नदीमा यात्रा गरिरहेका यात्रुको डुंगा दुर्घटनामा परेको थियो । त्यस दुर्घटनामा परी कम्तीमा १२ जनाको मृत्यु भएको प्रहरीले बताएको छ । यस डुंगामा ७३ यात्रु रहेका र यसमा २६ जनालाई सकुशल उद्धार गरिएको स्थानीय प्रहरी अधिकारी आदनान आज्मीले बताए ।

करिब तीन सय व्यक्तिले डुंगा तथा हेलिकोप्टरको समेत प्रयोग गरी हराइरेहका व्यक्तिको खोजीकार्यलाई जारी राखेका बताइएको छ । खोजी अभियानमा भारतीय नौसेना र राष्ट्रिय विपद् व्यवस्थापन बल (एनडीआरएफ) पनि संलग्न रहेका जनाइएको छ ।

आन्ध्र प्रदेशका मुख्यमन्त्री जोगान मोहन रेड्डीले डुंगा दुर्घटनामा केही पर्यटकको मृत्यु भएको र केही व्यक्ति बेपत्ता भएको पुष्टि गर्दै मृतकका परिवारलाई राहतस्वरूप दश लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यस घटनाप्रति गहिरो दुख व्यक्त गरेका छन् ।

राज्य सरकारको तर्फबाट जारी विज्ञप्तिमा रेड्डीले राष्ट्रिय विपद् व्यवस्थापन बल (एनडीआरएफ) सामुद्रिक सैन्य बल तथा ओएनजीसी हेलिकोप्टरलाई उद्धारका लागि तत्काल घटनास्थल जान निर्देशन दिएका छन् ।

उनले घटनास्थलनजिकमा रहेका मन्त्रीहरूलाई उद्धार कार्यको अनुगमन गर्न निर्देशन दिएका छन् । सरकारले जिल्लास्थित सबै डुंगा सेवालाई रोकी लाइसेन्स परीक्षण गर्न पनि निर्देशन गरेको छ ।