ओमानमा अलपत्र पाँच नेपालीको उद्धार

ओमानमा अलपत्र पाँच नेपालीको उद्धार


■ आरके श्रीवास्तव, ओमान

खाडी मुलुक ओमानबाट पाँच नेपालीलाई उद्धार गरी नेपाल पठाइएको छ । ओमान नेपाली एकता समाजका उपाध्यक्ष विष्णु अर्यालको विशेष सक्रियतामा उनीहरूलाई उद्धार गरी नेपाल पठाइएको हो । पीडितहरु दलालको प्रलोभनमा परेर अवैध बाटो प्रयोग गरी ओमान पुगेर अलपत्र परेका थिए ।

ओमानको बर्कामा अलपत्र परेका नेपालीहरूको सहयोग गरिदिन आग्रह गर्दै नेपालबाट पीडितको आफन्तमार्फत खबर आएपछि एक पीडितको इमोमा सम्पर्क गर्दै समाजका उपाध्यक्ष विष्णु अर्याल, सचिव दीपक रम्तेल र शुभचिन्तक मेख खत्रीको टोली पीडितसम्म पुगेका थिए । उनीहरुसँग कुनै कागजपत्र नभएको र दलालले मोटो रकम असुलेर अलपत्र छोडी भागेको र दलालको ठेगाना सम्पर्क सबै मेटाइदिएको र एक बङ्गालीले आश्रय दिएर राखेका थिए । अलपत्र परेका नेपालीहरूमा अर्घाखाँचीका दुईजना, मकवानपुरका एकजना चितवनका एकजना, कैलालीका एकजना रहेका छन् । पीडितहरूको आग्रहमा नाम भने नखुलाइएको एकता समाजका सचिव दीपक रम्तेलले बताए ।

पीडितहरुले दिएको बयानका अनुसार नेपाली राजदूतावास मस्कट ओमानले स्थानीय प्रशासनसंग समन्वय गरेर गत बिहीबार स्वदेश फर्किएका छन् । आवश्यक प्रक्रिया पुरा गरी चाँडै स्वदेश फर्काउन सफल भएको हुँदा दूतावास परिवारलाई ओमान नेपाली एकता समाज परिवारले धन्यवाद ब्यक्त गरेको समाजका अध्यक्ष छविलाल बस्नेतले जानकारी दिए ।