पत्रकार सम्मेलनबाटै ज्ञानेन्द्र शाही प्रहरी नियन्त्रणमा

पत्रकार सम्मेलनबाटै ज्ञानेन्द्र शाही प्रहरी नियन्त्रणमा


आफूलाई सामाजिक अभियन्ता बताउने ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपालगञ्ज विमानस्थलमा बुद्ध एयरको विमानभित्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको विमान डिलेको विषयलाई लिएर विवादमा परेका शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

कुपण्डोलस्थित आफ्नै कार्यालय परिसरमा आयोजित पत्रकार सम्मेलनबाटै प्रहरीले शाहीलाई नियन्त्रणमा लिएको हो । तर, प्रहरीले भने ‘उनीमाथि आक्रमण हुन सक्ने’ भन्दै नियन्त्रणमा लिएको बताएको छ ।

शाहीद्वारा आयोजित पत्रकार सम्मेलनमा प्रवेश गरेका केही युवाले उनीमाथि लगातार प्रश्न गरेका थिए । सो क्रममा सो समूहले शाहीलाई ‘तपाईं नाम पनि ढाँट्ने, पढाइ पनि ढाँट्ने ?, तपाईं झुट र ढोंगी हो, तपाईं एसएलसी फेल हो कि होइन ?’ जस्ता प्रश्न गरेका थिए । तर, शाहीको कुरै नसुनी केही युवाले शाहीमाथि हातपात गरेको बताइएको छ ।

शनिबार साँझ ७ बजे नेपालगञ्ज एयरपोर्टमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका कारण १ घन्टा प्लेन डिले भएको भन्दै शाहीले प्लेनभित्रै भट्टराईमाथि अभद्र व्यवहार गरेको बताइएको छ । तर, मन्त्री भट्टराईले भने आफ्नो आइतबार बिहान संसदमा सांसदहरूको प्रश्नको उत्तर दिन उपस्थित हुनैपर्ने भएकोले बुद्ध एयर व्यवस्थापनसँग आग्रह गरी १५ मिनेट समय मागेको र आफ्नो कारण विमान व्यवस्थापन र यात्रुलाई पर्न गएको असुविधाप्रति सामाजिक सञ्जालमार्फत क्षमायाचना गरेका थिए ।

शाहीलाई पक्राउ गरी अहिले जावलाखेल प्रहरीमा राखिएको छ ।