नेपालमा मागको ५० प्रतिशतमात्रै स्वदेशी जुत्ता चप्पल उत्पादन

नेपालमा मागको ५० प्रतिशतमात्रै स्वदेशी जुत्ता चप्पल उत्पादन


  • छविलाल बगाले

नेपालमा स्वदेशी जुत्ता चप्पल उद्योगहरुले मागको ५० प्रतिशतमात्रै उत्पादन गरेका छन् । अपुग जुत्ता चप्पल विदेशबाट आयात गर्नुपर्ने बाध्यता छ । जुत्ता चप्पलमा मुलुक आत्मनिर्भर उन्मुख भएपनि कच्चा पदार्थ र दक्षजनशक्तिको अभाव भने कायमै छ ।

एक दशकअघिसम्म स्वदेशी उत्पादनलाई प्राथमिकतामा नराख्ने संस्कार जस्तै बनेको थियो । तर, अहिले अवस्था फेरिएको छ । स्वदेशमै निर्मित जुत्तामा नेपालीहरुको आकर्षण पनि बढ्दो छ । विदेशी ब्रान्ड खोज्ने नेपालीको रोजाइमा अहिले स्वदेशी जुत्ता–चप्पल पर्न थालेका छन् ।

जुत्ता चप्पलको माग र आपूर्ति
–स्वदेशभित्र जुत्ता चप्पलको माग : ७ करोड जोडी
–गतबर्ष गरिएको आयात : ३ करोड जोडी
–नेपालबाट निर्यात : एक करोड जोडी
–स्वदेशभित्रको उत्पादन : ४ करोड बढी
–स्वदेशभित्रको आपूर्ति : मागको ५० प्रतिशत

नेपालमा बार्षिक २८ अर्ब रुपैयाँ भन्दा बढीको जुत्ता–चप्पलको बजार छ । कूलबजार हिस्सामध्ये चिनियाँ र भारतीयको ७० प्रतिशत छ । बाँकी ८ देखि १० अर्ब रुपैयाँ बराबरको बजार हिस्सा मात्रै स्वदेशी उद्योगको छ । सरकारले कच्चा सामान आयातमा १५ प्रतिशत भन्सार लगाएको छ भने तयारी जुत्ता–चप्पल आयात गर्दा चालू आर्थिक वर्षबाट २० प्रतिशतको भन्सार दर बढाएर ३० प्रतिशत पु¥याएको छ । यसरी हेर्दा सरकारले स्वदेशी उद्योगलाई १५ प्रतिशतको संरक्षण दिएको देखिन्छ । ३ सय रुपैयाँ पर्ने चप्पल बनाउन २ सय रुपैयाँको कच्चापदार्थ ल्याउनुपर्छ र २ सय रुपैयाँकै भन्सार, मूल्य अभिवृद्धि कर तिर्नुपर्छ । यसैले पनि विदेशी सामानसँग प्रतिस्पर्धा गर्न कठिन भएको उद्योगीको गुनासो छ ।

जुत्ता चप्पल उद्योगको चुनौती
–दक्ष जनशक्तिको अभाव
–न्यून बिजकीकरण
–पूँजी र प्रविधीको अभाव
–कच्चा पद्धार्थको अभाव
–चोरी पैठारी

पूँजी, प्रविधि र दक्ष जनशक्तिको अभावमा व्यावसाय विस्तार हुन नसकेको गुनासो उद्योगीको छ । ३० अर्ब रुपैयाँ लगानी रहेको जुत्ता चप्पल उद्योगले गत वर्ष एक अर्ब २८ करोड रुपैयाँका जुत्ता–चप्पल निर्यात गरेको थियो । कुनै बेला ६५ देखि ६८ प्रतिशतसम्म उत्पादन क्षमता भएका उद्योगहरु अहिले ५० प्रतिशतमा झरेको छ । सरकारले स्वदेशी उत्पादनलाई प्राथमिकतामा राख्नुपर्ने उद्योगीको माग छ । उनिहरुले विदेशबाट आयात हुने महंगा जुत्ता चप्पललाई सरकारले कमी गर्न सक्नुपर्नेमा उद्योगीको भनाई छ । ०००