अलपत्र योद्धाको पत्र

अलपत्र योद्धाको पत्र


■ विनोद नेपाल

जब,
जुर्मुराएर उठ्थ्यौ मुठ्ठी बजार्दै,
दौडिन्थे तिमीतिरै बस्तीहरू,
जुरुक्कै उचाल्थ्यौ, बुरुक्कै उफार्थ्यौ गाउँहरू
रित्तिन्थे टोलहरू ।
खै कहाँ गयो त्यो जोस,जाँगर ?
कहाँ गयो त्यो जुझारूपन ?
खै कहाँ गयो त्यो आदर्श ?
कहाँ गयो त्यो अठोट ?

लाग्थ्यो,
यति चाँडै खिया लाग्ने छैन,
तर,
हेर्दाहेर्दै भुत्ते भयो तिमो विचार,
देखियो उही प्रवृत्ति,
सङ्क्रमणमा पऱ्यो कस्तो,
देखियो उही चरित्र ।

तिमी त रमायौ त्यसैमा, हरायौ त्यसैमा
बाटो बिराएको यात्रीझैँ, अलमलियौँ हामी,
मीठा सपनामै सीमित भए,
अधुरै रहे अपेक्षा ।
अद्भूत क्षमता थियो तिमीसँग,
अचम्मकै आकर्षण थियो तिमीप्रति
तिम्रो एउटै आग्रहमा जुरुक्कै उठ्थ्यो गाउँबस्ती,
खै एकाएक कहाँ भासियो तिम्रो स्वर ?

देख्दिनँ त्यो जाँगर,
पाउँदिनँ त्यो उत्साह,
लोझाएको देख्छु जतिखेर पनि,
गर्वले ठाडो हुनुपर्ने थियो,
तर निहुराएको देख्छु शिर
खै किन ?

लाग्छ बाटो बिराएको पश्चात्तापमा छौ तिमी,
उठ्न खोज्छौ बेलाबेलामा,
तर,
यति च्यापिइसकेका छौ कि उठ्नै सक्दैनौ,
यसैले लाचार छौ उता तिमी,
यता,
अन्योल, अनि उनै पीडा र भुक्तमानमा छौँ हामी ।

– पोखराथोक, पाल्पा