सोनियाले बोलाएको बैठकमा राहुल नै अनुपस्थित

सोनियाले बोलाएको बैठकमा राहुल नै अनुपस्थित


भारतीय राष्ट्रिय कांग्रेसकी अन्तरिम अध्यक्ष सोनिया गान्धीले बोलाएको महत्वपूर्ण र निर्णायक मानिएको बैठकमा निवर्तमान अध्यक्ष राहुल गान्धी अनुपस्थित भएपछि भारतीय उच्च राजनीतिक वृत्तमा विभिन्न चर्चा र टीकाटिप्पणी शुरु भएका छन् ।

बैठकका लागि उनलाई बोलाइएको र स्मरण गराइएको भए पनि उनी उपस्थित नभएको सम्बद्ध नेताहरुलाई उद्धृत गर्दै एएनआई जनाएको छ ।

सन् २०१७ मा पार्टी अध्यक्ष बनेका राहुलले केही महिनाअगाडि भएको निर्वाचनमा पार्टीको नराम्रो पराजय भएपछि नैतिकताको आधारमा पार्टी अध्यक्षबाट राजीनामाको घोषणा गरेका थिए ।
उनलाई पार्टीका धेरै नेता तथा कार्यकर्ताहरूले राजीनामा फिर्ता लिन पटक पटक आग्रह गर्दा पनि अस्वीकार गर्दै आएका थिए ।

पार्टी केन्द्रीय कार्यालयमा पार्टीका महासचिवहरू, प्रदेश अध्यक्षहरू, पार्टीका सांसदहरूलगायतको संयुक्त बैठकमा उनी अनुपस्थित भएका थिए ।

राहुल अहिले कांग्रेस पार्टीको कुनै पदाधिकारी नभए पनि केन्द्रीय सदस्य र सांसद भने छन् । उनी हालै भएको आमनिर्वाचनमा वायानादबाट लोकसभामा निर्वाचित भएका हुन् ।

राहुलनिकट श्रोतलाई उद्धृत गरेर एएनआईलाई दिएको जानकारीअनुसार उनले पार्टीको महत्वपूर्ण जिम्मेवारी आफुले त्याग गरिसकेकाले अत्यावश्यक बाहेक पार्टीको महत्वपुर्ण बैठकहरूमा नजाने अडान लिएका छन् ।

यसअघि उनले संविधानको धारा ३७० लाई सरकारले खारेज गरेको विषयमा छलफल गर्न आयोजित केन्द्रीय समितिको बैठकमा सहभागिता जनाएका थिए ।

राहुलले राजीनामा फिर्ता नलिएपछि पार्टीको अन्तरिम अध्यक्षका रूपमा पूर्व अध्यक्ष सोनीया गान्धीले जिम्मेवारी लिएकी छिन्।

झण्डै १२ वर्षपछि कांग्रेसको केन्द्रीय कार्यालयमा अहिले राहुलको कुनै ‘नेमप्लेट’ छैन भने उनले केन्द्रीय सदस्यका रूपमा मात्रै आफूलाई प्रस्तुत गर्ने गरेका छन् ।