एनआरएनए शुद्धीकरणका लागि बाधक छ एलिट क्लब

एनआरएनए शुद्धीकरणका लागि बाधक छ एलिट क्लब


■ रविचन्द्र भट्टराई

एनआरएनएमा विरोधका कुरा मात्रै गर्ने हो भने यस संगठनको भलाइ हुँदैन र कुनै पनि समस्याको समाधानतिर लाग्न सकिन्न । एनआरएनए भएपछि यस संगठनका कमी–कमजोरीलाई औँल्याएर मात्र हुँदैन, त्यसका समाधानका सम्भावित पक्ष र चुनौतीबारे पनि बहस हुनु जरुरी छ ।

एनआरएनए यति धेरै भावनाले प्रेरित भएर पनि माथि उठ्न नसकेको मुख्य कारण नै हामीले हाम्रो कमजोरहरूलाई केलाउने प्रयास नगरेर हो । एनआरएनलाई संयुक्त राष्ट्रसंघजस्तै बनाउने हो भने संगठनमा आमूल परिवर्तन अति आवश्यक छ । यही गतिमा एनआरएन अब चल्नै सक्दैन । समाज पहिलेको जस्तो छैन, यो समाज धेरै चेतनशील छ । प्रविधिले हामीलाई हरेक जानकारी जतिखेर पनि जान्न सक्ने र बुझ्न सक्ने बनाइदिएको छ ।

एनआरएनएमा आमुल परिवर्तन भनेको के हो ? र, के भयो भने एनआरएनए सबै नेपालीले गर्व गर्न सक्ने ठाउँमा परिणत हुन्छ यो बुझ्नु जरुरी छ । केही मित्रहरूले एनआरएन भनेको For Nepali by Nepali भनेको भरमा यसलाई ज्यान छाडेर माया गर्नुभएको छ, उहाँहरूको देशप्रेमको सिमाना नै छैन । भने, केही मित्रहरूले एलिट क्लबको विश्वास र भरोसामा तिनको इशारामा तिनले देखाएको हड्डीको आसले नाचिरहनुभएको छ । बाँकी एउटा ठूलो समूह छ जसले एनआरएनएमा भएका गलत क्रियाकलापमा असहमति जनाउँछ । त्यसैका कारण एनआरएनएमा सदस्य बनाउन हात जोड्नुपर्छ । आफ्नो इच्छाले सदस्य बन्न चाहने धेरै कम भेटिन्छन् । धेरै सदस्य अरूको करले अधवा कसैको मन राख्नका लागि बनेका हुन्छन् ।

एलिट क्लबले कसरी एनआरएनएलाई खुड्किलाको रूपमा प्रयोग गरेको छ ? कसरी नेपालमै रहेका र विदेशबाट पठाउन नसकिएका काला धनहरूको सौदाबाजी भएका छन् ? एनआरएनएका नाम प्रयोग गरेर कसरी खाडी, युरोप अमेरिका र अस्ट्रेलियामा मानव तस्कर भइरहेका छन् ? नेपालका व्यापारी, राजनीतिक दल र तस्करहरूसँग यिनीहरू के, कस्तो र किन सम्बन्ध छ ? सामूहिक लगानी भन्दै कसरी यिनले आर्थिक छलाङ मारेका हुन् ? र, नेपालका ठूला करछली प्रकरणमा एलिट क्लबको कस्तो मिलेमतो छ ? यी कुनै पनि हाम्रा चासोका विषय होइनन् । हाम्रो चासोको विषय भनेको एनआरएनएमा शुद्धीकरणको मात्र हो । यदि हामीले एनआरएनएमा आमुल परिवर्तन गरेर सबैको साझा संगठन बनाउने हो र देशलाई समृद्धिको बाटोमा अघि बढाउन सहयोग गर्ने हो भने एनआरएनएभित्रको खराब उद्देश्यले उत्प्रेरित सम्भ्रान्त व्यक्तिहरूको अघोषित संगठनलाई तोड्नैपर्छ । र, यदि त्यसो हुन सम्भव भयो भने मात्र हामीलाई चासो भएका र नभएका, नेपाल र नेपालीलगायत एनआरएनएलाई अहित गर्ने सबै व्यक्ति र विषय पत्तासाफ हुनेछन् । आफ्नो घरको ढोका र चाबी बलियो भयो भने चोर खोज्दै जानुपर्ने समस्या नै आउँदैन । एनआरएनए शुद्धीकरण हुन मात्र पायो भने सम्भ्रान्त व्यक्तिहरूको अघोषित संगठनलाई ठूलो धक्का लाग्नेछ । यी बिनाआधारमा जम्मा भएका अकुत धनसम्पत्तिमाथि छानबिन हुनेछन् । त्यो दिन सम्भ्रान्त व्यक्तिहरूको अघोषित संगठनका व्यक्तिहरूबाट राज्यले खर्बौं रुपैयाँ जफत गर्नेछ । अझ त्यसमा जोडिएका राज्यका अनेकौँ घुसखोरी, दलाल र नयाँ पुराना सबै पुँजीपतिहरूले अवश्य जेलको यात्रा गर्नेछन् । त्यसकारण एनआरएनए शुद्धीकरण मजाकको विषय भने हुँदै होइन ।

एनआरएनएको शुद्धीकरण अभियान एनआरएनएको भविष्यका लागि मात्र पनि होइन, यसले नेपाली राजनीतिलाई लाजनीति बनाइरहन पनि धेरै सहयोग गरेको छ । शुद्धीकरण भएकै दिनदेखि नेपालको समृद्धिमा समेत एनआरएनए एउटा खम्बाको रूपमा रहन सक्नेछ । त्यसकारण पनि हामीले शुद्धीकरणको कुरा गरिरहँदा एनआरएनएका सम्भ्रान्त वर्गदेखि राज्यका घुसखोरी, दलाल र नयाँ–पुराना सबै पुँजीपतिहरूलाई असह्य नहोला भन्न सकिन्न । नेपालभित्रका नयाँ–पुराना पुँजीपतिहरूको र एनआरएनएका सम्भ्रान्त वर्गको बीचमा नङ र मासुको जस्तै सम्बन्ध छ । यी एक–अर्काका आधार हुन्, सुरक्षा हुन् र भरोसा हुन् ।

एनआरएनएभित्रको गेम अफ दी फेमको रहस्य नै यही हो । सम्भ्रान्त व्यक्तिहरूको बीचमा रहेको अघोषित संगठनका व्यक्तिहरू यतिखेरको अवस्थामा सर्वशक्तिमान छन् र त्यसको मुख्य कारण नेपालको असहज राजनीतिक परिस्थिति हो, जसको फाइदा दुवै पक्षका घुसखोरी, दलाल र पुँजीपतिहरूले लिइरहेका छन् । त्यसको अर्को प्रमाण हो नेपालका मुख्य राजनीतिक दलहरू एनआरएनएमा आफ्नो पकड बनाउन लागिपरेको अवस्था । यो राज्यको भविष्यका लागि साह्रै दुःखद पक्ष हो ।

माथि पनि लेखिसकेको छु, फेरि दोहोऱ्याउन चाहन्छु, यतिखेरको मान्छेमा चेतना जाग्न समय लाग्दैन । संसारभरिका एनआरएनहरूले यस विषयमा आवाज उठाउन चाहन्छन् । तर, नेतृत्व तहमा पकड लिएर बसेका प्रतिनिधिहरू यस विषयमा बहस गर्नै चाहँदैनन् । र, बहस गर्न चाहने व्यक्ति त्यहाँ पुग्नै नसक्ने बनाइएको छ ।

र, अबको शुद्धीकरणको पहिलो खुड्किलो भनेको नै आवाज बुलन्द गर्न सक्ने इमानदार र सोझासाझा एनआरएनहरूबीचको मान्छे नेतृत्वमा पुऱ्याउने नै एक मात्र बाटो हो । अबको समाज गाईको पुच्छर समातेर वैतरणी तर्ने हो भन्दै हिँड्नेवाला छैन । यो समाजलाई दूधको दूध पानीको पानी देखाउन सक्नुपर्छ । हाम्रो आवाज एलिट क्लबको पुच्छर समातेर हिँड्नेलाई साथ दिएर बुलन्द हुनेवाला छैन । सम्भ्रान्त व्यक्तिहरूबीच रहेको अघोषित संगठनलाई चिर्न एउटा फरक बाटोमा शुद्धीकरणको उद्देश्य लिएर त्यस मैदानमा उत्रनेलाई साथ दिनैपर्छ । एनआरएनएमा शुद्धीकरण गर्ने हो र साथसाथै नेपालको विकासमा, संरक्षणमा र समृद्धिमा साथ दिने हो भने अबको नेतृत्व परिवर्तन गर्ने समयमा एलिट क्लबको घेरा तोड्न व्यापक छलफल र भण्डाभोर अभियान चलाउनैपर्छ ।

एनसेलको ६० अर्बको भ्याटदेखि वाइडबडीका आर्थिक चलखेलहरूको परियोजनाकारभित्र एनआरएनएका एलिट क्लब नै सक्रिय छन् ।

एनआरएनएलाई यसैगरी जान दिने हो भने केही गर्नुपर्दैन, एलिट क्लबले ग्लोबल कन्फ्रेन्सको समयमा होटेल, खाने–पिउने सबैथोकको व्यवस्थापन गर्न हरेक देशका एनसीसीमा रहेका आफ्ना एजेन्टहरूमार्फत आफ्नो नेटवर्क बनाइसकेको छ र त्यहीअनुसारको आवश्यक पैसा छर्न शुरु गरिसकेको छ । तपाईंका वरपर जसले तपाईंलाई भोट हाल्न जान अनुरोध गर्छ, सीधै भने हुन्छ, सबथोकको व्यवस्थापन हुन्छ भने मात्र आउँछु नत्र आउँदिनँ । यदि उनीहरूले तपाईंको सम्पूर्ण खर्च व्यहोर्न तयार भएनन् भने मलाई जति गाली गरे पनि गर्नुस् । यो क्रम हिजो पनि थियो र भोलि पनि हुने त्यही हो । यो योजना लुकेर–छिपेर एक–दुईबाट गरिएको होइन । यिनीहरूले यो निर्धक्कका साथ गरिरहेका छन् ।

एलिट क्लबको यस क्रियाकलापबारे तपाईं जतिसुकै प्रमाण लिएर आउनुस् त्यसले केही असर गर्दैन, किनकि यसको जालो राजनीतिक तहका उच्च ओहोदादेखि कानुनका माथिल्लो तहसम्म बेरिएको छ । हातमा प्रमाण लिएर जतिसुकै भुके पनि, कराए पनि हुनेवाला केही छैन । त्यसैले यसलाई एनआरएनएभित्र घुस भनिँदैन । भ्रष्टाचार भनिँदैन । अनियमितता भनिँदैन । तपाईंसँग १०–२० जना मान्छे छन् भने सीधा कुरा गरेर सोधे हुन्छ, कति दिने हो ? पहिला खर्चपर्च उठाइदिने कुरा आउँछ, तपाईं अझै अडिग हुनुभयो भने २–४ वटा डलरका मुठाहरू हड्डीस्वरूप तपाईंको मुखमा फालिदिनेछन् । एलिट क्लबले अहिलेसम्म गरेको यही हो । र, यसरी नै एनआरएनए सदाको लागि कब्जामा राखिरहनेछन् ।

एलिट क्लबको पकड भइन्जेलसम्म एनआरएनएमा शुद्धीकरण हुनेवाला छैन र शुद्धीकरण नभइन्जेलसम्म यी अनियमित आर्थिक पाटोहरूबारे कुनै बहस हुनेवाला छैन । जहिलेसम्म एनआरएनएमा हुने आर्थिक पक्षबारे बहस हुँदैन नेपालभित्र र बाहिर राज्यका खर्बौं रुपैयाँका चलखेल र एनआरएनका भावनामाथि व्यापार भइरहनेछन् ।

एनआरएनएभित्रको एलिट क्लबको अघोषित संगठनले राज्यको उपल्लो तहसँग भएको सम्बन्ध नै नेपालमा यतिखेरको राजनीतिक अस्थिरताको प्रमुख कारण हो भन्दा विश्वास लाग्दैन । तर, तीतो सत्य नै यही हो । त्यसकारण नै एनआरएनएका सम्पूर्ण निर्वाचनमा राजनीतिक चहलपहल दिनदिनै बढ्दो छ । एनसेलको ६० अर्बको भ्याटदेखि वाइडबडीका आर्थिक चलखेलहरूको परियोजनाकारभित्र एनआरएनएका एलिट क्लब नै सक्रिय छन् । त्यति मात्र नभएर एनआरएनएको सामूहिक लगानीका नाममा ट्याक्स छली गर्ने प्रमुख गिरोहदेखि बालुवाटारका अर्बौं पर्ने जग्गा दलालीहरू नै एलिट क्लबभित्रका पर्दछन् । जबसम्म आर्थिक पक्षका बहस एनआरएनएले गर्न सक्दैन तबसम्म न एनआरएनए सर्वपक्षीय हुन सक्छ न राज्य समृद्धिको बाटोमा लाग्न सक्छ । यी सबै समाधानको एउटै बाटो हो एलिट क्लबको घेरा । यो घेरा तोडिएकै बेलादेखि शुरु हुनेछ एनआरएनएमा शुद्धीकरण र राज्यमा समृद्धि । त्यसकारण एनआरएनए शुद्धीकरणलाई मजाकको रूपमा लिन उचित हुनेछैन ।

एलिट ग्रुपको अघोषित संगठनको सबैभन्दा ठूलो दुस्मन भनेको चेतना हो । त्यो चेतनासँग संसारभरका एनआरएनहरूको सम्बन्ध बनाउन हामीले आवाज उठाउनैपर्छ । र, यो आवाज उठाउने भनेको यतिखेर हो । नेपालमा ग्लोबल सम्मेलन हुँदै छ । एलिट क्लबको अघोषित संगठनको लागि यो ठूलो पर्व पनि हो । र, हामी सामान्य एनआरएन र सच्चा देशभक्तहरूको लागि एलिट क्लबको अघोषित संगठनको घेरा तोड्ने मौका पनि हो ।

के र कस्तो भयो भने एलिट क्लबको घेरा तोडिन्छ ? यस विषयमा पनि गहन अध्ययन जरुरी छ । एलिट क्लबको मुख्य रक्षा कवज भनेको ग्लोबल सम्मेलन हो । ग्लोबल सम्मेलनमा उपस्थित हुन मात्र पनि सामान्य एनआरएनलाई तीनपटक सोच्नुपर्छ । निर्वाचनमा उम्मेदवार हुनको निमित्त साधारण गैरआवासीयहरूको त कुरै छोडौँ, मतदाता हुन पनि खल्तीभरि गाँठ हुनैपर्छ । परिबन्ध नै यस्तो बनाइएको छ– सामान्य एनआरएनलाई त्यहाँ जान इच्छै लाग्दैन । त्यहाँ त्यस्ता एनआरएनहरूको उपस्थिति बाक्लो हुनेछ जसको होटेल, खानपान, सदस्यता शुल्क र हवाईटिकटसमेत अरूले व्यवस्थापन गरिदिएका हुन्छन् भन्ने कुरा योभन्दा अगाडिको निर्वाचनले प्रस्ट पारिसकेको छ ।

५० लाखभन्दा धेरै नेपाली एनआरएन भएर प्रवासमा बस्छन्, तर त्यहाँ लगभग २ देखि ३ हजारको संख्यामा मात्रै उपस्थित हुने व्यवस्था गरिएको हुन्छ । ती प्रायः सबै एलिट क्लबद्वारा अनुबन्धित हुन्छन् । दशैँमा बोको किनेजस्तो टाउको गनेर खरिद–बिक्री हुन्छ । सीधासाधा केही एनआरएन जसले सदस्य शुल्कसमेत आफैँले तिरेका हुन्छन्, तिनलाई त्यो पनि थाहा हुँदैन कि उसको टाउको कतिपटक कतिजनालाई बेचिसकिएको छ । यो नै एलिट क्लबको मुख्य रक्षाकवज हो जसले त्यो घेरा तोड्न नै नसक्ने गरी सुरक्षा गरेको छ । हरेक देशका एलिट क्लबका एजेन्टहरू यसलाई पर्वको रूपमा मनाउने गरेका छन् । अब कोही इमानदार बनी नेतृत्व गर्न आउँछ भने यस विषयमा उनले आवाज उठाउन सक्नुपर्छ ।

संसारभरका जति पनि एनआरएन छन् तिनले साधारण सदस्य शुल्क तिरेको भरमा हरेक एनसीसीहरूबाट भोट हाल्न पाउने व्यवस्था गर्नुपर्छ । पन्ध्र करोड रुपैयाँ खर्च हुने क्षेत्रीय सम्मेलनहरू र लगभग दुई अर्बको चलखेल हुने ग्लोबल सम्मेलनबारे प्रक्रियाहरू परिवर्तन गरेर सर्वसुलभ बनाउनुपर्छ । अहिलेसम्म भएका सामूहिक लगानीको नाममा गरिएको आर्थिक हिसाबकिताब र कर छलीका विषयमा छानबिन गरिनुपर्छ । यस्तो भएको देख्न चाहने र गर्न सक्ने हिम्मत भएकोलाई अबको नेतृत्व तहमा पठाउन सक्यो भने मात्र एलिट क्लबको घेरा तोड्न सकिन्छ । र, अब निर्वाचित हुने व्यक्तिले आफ्नो धरातललाई हेरेर नै कडा निर्णय गर्नुपर्ने हुन्छ, नत्र गैरआवासीय नेपाली संघप्रति आमगैरआवासीय नेपालीको भरोसा टुट्नेछ अनि यो संस्था आफैँमा मृत्यु शय्यामा पुगेको संगठन हुनेछ ।