सर्वोच्चद्वारा राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटीका अध्यक्ष रुक्मशम्सेर राणाले अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलाई शुभकामना दिएको समाचार प्राप्त भएको छ । राणाले भोलि (भदौ २८) शनिबार हुन गैरहेको नेपाल ओलम्पिक कमिटीको कार्यसमितिको निर्वाचनको लागि राणाले शुभकामना दिएको बुझिएको छ ।
शुभकामना दिने क्रममा राणाले विगत एक दशकदेखिको नेपाल ओलम्पिक कमिटीको विवाद यो कार्यसमितिको निर्वाचनले समाप्त पार्ने दाबी गरेका छन् । ओलम्पिक कमिटीको विवाद धेरै भो, यतिका वर्ष एक आपसमा लडेर के पायौँ, अब लडेर के पाउने हो ? मिलेर जानुको अर्को विकल्प नभएको भन्दै राणाले शुभकामना दिएको निकटसुत्रले जानकारी गरायो ।
यसबारे राणासँग सम्पर्क गर्दा उनले ओलम्पिकको निर्वाचनप्रति आफु सकारात्मक रहेको स्वीकार गरे । साथीहरुसँग गरिएको छलफल र नेपाली खेलकुदको निकास र विकासको लागि ओलम्पिक कमिटीको विवाद समाप्त हुनुपर्ने दाबी उनले गरे ।
‘मेरो चाहना मिलेर जाने भन्ने हो, म अब ओलम्पिकको बारेमा कुनै विवाद गर्न चाहन्न । म चाहन्छु, ओलम्पिक कमिटीको कार्यसमितिको निर्वाचन सफलताका साथ सम्पन्न होस् । त्यसपछि प्रक्रियागत रुपमा सम्पूर्ण ओलम्पिकको विवादको समाधान हुनेछ’ – राणाले भने ।
प्रतिक्रिया