एशियाली डोरीतान प्रतियोगितामा नेपाल सहभागी हुँदै

एशियाली डोरीतान प्रतियोगितामा नेपाल सहभागी हुँदै


नेपालले एशियाली डोरीतान खेलमा सहभागिता जनाउने भएको छ । शनिबारदेखि थाइल्याण्डमा हुने १४औँ एशियाली डोरीतान प्रतियोगितामा नेपाल पहिलो पटक सहभागी हुन लागेको हो ।

दुई दिनसम्म चल्ने उक्त प्रतियोगितामा सहभागी हुन जाने टोलीलाई बिहीबार बिदाइ गरिएको छ । मोरङ जिल्ला डोरीतान सङ्घले आयोजना गरेको कार्यक्रममा प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले खेलाडीहरूलाई शुभकामना दिँदै बिदाइ गरेका हुन् ।

टोलीमा कप्तान युवराज चौधरी, सन्तोष तामाङ, अशोक चौधरी, कृष्ण बोगटी, सुजन भुर्तेल, इमरान मिया, महेश चौधरी, रवी कार्की, कृष्ण योञ्जन, दीपक घिमिरे, निरञ्जन विश्वास र मिनराज शर्मा बेलबासे छन् । टोलीमा मुख्य प्रशिक्षक निश्चलराज शाक्य र प्रशिक्षक सूर्य भट्टराई सङ्लग्न रहेको जानकारी दिँदै जिल्ला डोरीतान सङ्घ (मोरङ)की अध्यक्ष रिता न्यौपानेले प्रतियोगितामा २० देशको सहभागिता रहने बताइन् ।